उपेक्षित हृयात्रुङ झरना

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भ पारेर केही महिनाअघि सरकारले नेपालका ‘एकसय एक पर्यटकीय गन्तव्यस्थल’ को सूची सार्वजनिक गरेको थियो । तर, सो सूची विवादरहिते हुनसकेन । हुन पनि नेपालकै कतिपय प्रसिद्ध र महŒवपूर्ण गन्तव्यस्थल एकसय एकमा पर्न सकेनन् । यसको विपरीत कतिपय नामै नसुनिएका मन्दिर र ठाउँ गन्तव्यस्थलमा परे । सुदूरपश्चिमको बझाङ जिल्लाको अपी, सैपाल, उरै चुली, सुर्मा सोवर, कैलाश गुफालगायतका नेपालभरि नै प्रसिद्ध रहेका र नाम चलेका स्थान सरकारले घोषणा गरेको नेपालका एक सय एक गन्तव्यस्थलमा परेनन् भने त्यही जिल्लामा पर्ने दुर्गाथली–७, दौली गाउँको ‘गोरखनाथ’ मन्दिर एक सय एक गन्तव्यस्थलमा परेका छन् । यो मन्दिर नेपालको एकसय एक गन्तव्यस्थलमा पर्नुमा बझाङ जिल्लाका माननीय सांसद भैरवबहादुर सिंहको विशेष योगदान रहेको छ भनिन्छ । विभिन्न सञ्चारमाध्यले यो कुराको उल्लेख गरेका छन् ।

त्यस्तै नेपालका एकसय एक गन्तव्यस्थमा रुकुम पश्चिमको गोदामकोट, चित्रिपाटन अनि सुर्खेत जिल्लाको गिद्देडाँडा पर्यटकीय क्षेत्र, मदन–आश्रित पार्क आदि यस सूचीमा पर्नुलाई केवल काकतालीमात्रै मान्न सकिँदैन । हुन पनि पूर्वी पहाडी जिल्ला तेह्रथुमको सम्दु र इसिबुको सीमानाको रूपमा रहेको नेपालकै अग्लो मानिएको हृयात्रुङ झरना सूचीमा परेको छैन । के कति कारणले यसलाई ‘नेपालको एक सय एक पर्यटकीय गन्तव्यस्थल’ को सूचीमा पारिएन ? प्रश्न गर्न सकिन्छ ।

एक नम्बर प्रदेशको तेह्रथुम नेपालको भौगोलिक एकीकरणपछि पल्लो किरात भनेर चिनिएको जिल्ला हो । यहाँ रहेको झरना नेपालको मात्र नभएर दक्षिण एसियाकै अग्लो मानिएको भए तापनि प्रचारप्रसारको कमीले त्यति नचिनिएको ‘ह्यात्रुङ झरना’ बारे केही लेख्नु सान्दर्भिक हुन्छ ।

पछिल्लो राजनीतिक संरचनाअनुसार फेदाप गाउँ पालिकाको वडा नम्बर ४ र ५ (साविक सम्दु र इसिबुको सीमा)मा अवस्थित यो झरनाको उचाई तीन सय ६५ मिटर अग्लो रहेको छ । यो झरना बग्ने पूरै खोलाको नाम भने ‘हिंवा खोला’ हो तर यो नाम आजभोलि बिरानो हुँदै गएको छ । अधिकांश युवा पुस्तालाई यो नाम थाहा छैन । हृयात्रुङ झरनाबारे चर्चा  गर्दा एकसय चार वर्षे राणा शासनकालसम्म पुग्नुपर्ने हुन्छ । त्यो बेलाको केही  प्रसंग उल्लेख नगर्दा यो लेख अधुरै रहन्छ । किनभने, राणा शासनकालमा सरकारी कर्मचारी धनकुटा हुँदै ओलाङचुङगोलासम्म भोटको कर उठाउन जानेआउने गर्थे । उनीहरू हात्ती लिएर धनकुटा हुँदै म्योङलुङ, सिम्ले, जलजले, इसिबु, सम्दु, संगपु, खाम्लालुङ, हाङ्पाङ, चाँगे, तम्बरखोला ओलाङचुङगोला ओहोरदोहोर गर्थे । त्यसक्रममा सम्दु–६ र ७ को सीमामा एक दिन बास बस्नु पथ्यो । त्यसैले त्यहाँ गोदाम राख्ने गरिन्थ्यो । अहिले पनि ऊबेला हात्ती बाँध्ने गरेको ढुंगाको ठूलो र अग्लो खम्बा देख्न सकिन्छ । सो ठाउँलाई अझै पनि ‘गोदाम’ भन्ने गरिन्छ । यसरी हात्ती ओहोरदोहोर गर्ने क्रममा एक दिन हिँवाखोलामा हात्ती चिप्लिएर लडेर मरेकाले उक्त खोला (झरना) को नाम ‘हात्ती लेङे’ भएको मानिन्छ । लिम्बू भाषामा रहेको ‘हात्ती लेङे’ नाम नै अपभ्रंस भएर ‘ह्यात्रुङ’ भएको हो ।

त्यसो त तेह्रथुम जिल्लामा यो झरनालगायत अन्य पर्यटकीयस्थल र प्राकृतिक सम्पदा पनि छन् । तापनि तेह्रथुममा अपेक्षितरूपमा पर्यटक भिœयाउन सकिएको छैन । नेपालकै अग्लो (३६५ मिटर) हृयात्रुङ झरना, छातेढुंगा, लिढुंगालगायत अनेकौं पर्यटकीयस्थल हुँदाहुँदै पनि भगौलिकरूपमा राजधानीभन्दा टाढा हुनु, यातायातलगायत अन्य पूर्वाधारको विकास नहुनु र प्रचारप्रसारको अभाव हुनुले पनि तेह्रथुममा रहेका यी सबै पर्यटीयस्थल ओझेलमा परेको मान्न सकिन्छ । फलतः विदेशी पर्यकट त के आन्तरिक पर्यटकसमेत अपेक्षितरूपमा हृयात्रुङ झरना र तेह्रथुमका अन्य पर्यटकीयस्थल अवलोकन गर्न आउन सकेका छैनन् । त्यसमाथि झरनाको फेदमा साँघु थाप्नेबाहेक अरू पूर्वाधारको निर्माण भएको छैन । अर्थात् कुनै विदेशी वा स्वदेशी पर्यटक एकदिन बिताउने सोच बनाएर झरना हेर्न आएमा त्यस्ता पर्यटक बस्नका लागि होटल वा लजको व्यवस्था त छैन नै साधारण चिया पसलसम्म खुलेको छैन ।

वरिपरिका छिमेकी गाउँबाट हृयात्रुङ झरना हेर्न आउने आन्तरिक पर्यटक भने विगतका वर्षभन्दा धेरै बढेका बताउँछन् सावक सम्दु–८ भीरमुनि, सात भाइयाका स्थानीय रमेश लुम्फुङ्वा लिम्बू । भदौ, असोज र कात्तिक महिनामा यसको आकर्षक र स्पष्ट बहाव देख्न सकिन्छ । आगामी दिनमा आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्घनका लागि हृयात्रुङ झरना महोत्सवका साथै प्रचारप्रसारमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

हुन त विदेशी तथा आन्तरिक पर्यटकका लागि तेह्रथुमको वसन्तपुर, तीनजुरे, मिल्के, जलजले, मंगलबारे, गुफा, मेन्छ्याम ढाप (तरुनी गुफा), मजुवा, सेखिम्बा, हृयात्रुङ झरना (सम्दु÷इसिबु), आठराई (संक्रान्ति) सम्मको ११ देखि १३ दिनको टुर प्याकेज बनाउन सकिन्छ । यस क्षेत्रबाट सेसेलुङ (मकालु), सेवालुङ (कञ्चनजंघा), फक्तालुङ (कुम्भकर्ण) लगायतका पूर्वका हिमालको दृश्यवलोकन गर्न सकिन्छ । त्यसैले नेपालका दर्शनीय र भ्रमणीय स्थलको सूची बनाउँदा यी ठाउँलाई पनि पार्न सकेको भए राम्रो हुनेथियो । अझै पनि यिनको विभिन्न किसिमले प्रवद्र्धनका काम गर्नु सान्दर्भिक हुन्छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी