ऊर्जाशील स्रष्टा हजुरबा शान्तदास

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कोठाको एक कुनामा डेष्कटप कम्प्युटर । एउटा भित्तामा एलसिडी टेलिभिजन । एकातिर छरितो खाट । ¥याकभरि किताब । एक सेट सोफा । भुइँमा ओछ्याइएको गँलैचामाथि केही चकटीहरू ।

कोठाभित्रको यस्तो दृश्यले मलाई यो कोठा शाान्तदास मानन्धरकै हो भन्ने निश्चित गर्न गाह्रो भएन । कोठाभित्र पसेर यसो बसेको मात्रै थिएँ, उमेरले ८५ वर्षमा ज्येष्ठ नागरिक शान्तदासले कम्प्युटर खोले । टाइप गरेर छाप्न ठिक्क पारेको एउटा कथा पढ्न मलाई भने । यो वृद्धवयमा शान्तदास कम्प्युटरमा आफैँ टाइप गर्छन् । बालबालिकाका लागि साहित्य सिर्जना गर्छन् । सुपरिचित साहित्यकार शान्तदास उमेरले आठ दशक पूरा गर्न लाग्दा पनि उत्तिकै ऊर्जाशील छन् । बालबालिकासँग नजिक भएर काम गरेकाले कहिल्यै नचिताएको ऊर्जा पाएको अनुभव उनको छ । उनी भन्छन्, ‘उहाँ (बालबालिका)हरूसँग काम गरेकाले पाएको शक्ति हो ।’

बालबालिकासँगको संगत र स्नेहले सधैँ बालबालिकाकै लागि काम गर्न शान्तदासलाई उत्साहित बनाइराख्यो । बालबालिकाका लागि लेख्ने काम न उनलाई कसैले अह्राएको थियो न त त्यसवापत कुनै पारिश्रमिक नै पाउँथे । त्यो काम निःशर्त, निःस्वार्थ, निःशुल्क थियो । आफ्नै मर्जीले थालेको कामबाट उनी देशका जिल्ला घुमे । त्यहाँका बालबालिकाको अवस्था बुझ्ने अवसर पाए । त्यो निकटताले उनमा बालबालिकाप्रति अगाध स्नेह सिर्जना गरिदियो । उनी सधैँका लागि बालबालिकाका भए ।

संगतगुना फल 

२०१५ सालतिरको कुरा हो, अंग्रेजी भाषाका छोटाछोटा निबन्ध लेखेर तयार पारेको किताबको भूमिकाका लागि शान्तदास कवि गोपालप्रसाद रिमाल कहाँ पुगे । रिमालले उनलाई नेपाली भाषामा लेखेपछि मात्रै भूमिका लेखिदिने शर्त राखे । यस्तो शर्तले उनी छाँगाबाट खसेजस्ता भए तर यही क्षण उनका लागि मार्गदर्शक बन्यो । वास्तवमा शान्तदास रिमालप्रति आभारी छन् । त्यसै दिनदेखि उनले नेपाली भाषामा लेख्न सुरु गरे ।

विद्यालयका शिक्षक बन्दै हिँडेका शान्तदासले बुझे– विद्याथीहरू चित्र र चित्रकला खुबै मन पराउँछन् । चित्र देखाउँदै पढाउँदा त्यसलाई विद्यार्थीले धेरै दिनसम्म सम्झँदा रहेछन् भन्ने थाहा पाए । चित्रकलाकै माध्यमबाट विद्यार्थीलाई सिकाउँदा शान्तदास विद्यार्थीका प्रिय भए । त्यसको कारण थियो, चित्र देखाउँदै पढाएको पाठ विद्यार्थीले सजिलै बुझ्न सके ।

शिक्षक बन्दा शान्तदासले बालबालिकालाई नजिकबाट बुझ्ने अवसर पाए । बालबालिकाबारे थाहा नपाएका धेरै कुरा उनले थाहा पाए । उनीहरूमा अथाह सम्भावना हुँदो रहेछ भन्ने उनलाई ज्ञान भयो । बालबालिकालाई नजिकबाट चिन्न पाएको त्यो मौकाले नै उनलाई बालसाहित्य सिर्जनामा लाग्न प्रेरित ग¥यो । उनी लेखनमा लागे ।

२०१६ सालको कुनै दिन साहित्यकार श्यामप्रसाद शर्मासित भेट भयो । यो भेटले शान्तदासलाई साहित्यिक पत्रिकासँग नजिक हुने अवसर जुराइदियो । यही भेटपछि उनले नेपाली र विदेशी साहित्यकारका अनेक कृति पढ्ने अवसर पाए । उनले चिनियाँ लेखक लु सुन र रुसी लेखक गोर्कीका किताबहरू पढे । ती किताब पढेपछि उनलाई बालबालिकाका लागि दत्तचित्त भएर साहित्य लेख्ने प्रेरणा मिल्यो । संगतगुनाको फल– शान्तदास साहित्यकार भए ।

गन्तव्य बालसाहित्य

शान्तदास २०१७ सालपछि, बालसेवा विद्याश्रममा प्रधानाध्यापक भए । यो उनका लागि विशेष अवसर बन्यो । बालबालिकालाई चिन्न थालिसकेका उनको ध्यान र ध्येय बालबालिकामाथि नै थियो । ज्ञान, त्यो पनि विद्यालय तहमै पाएको ज्ञानको महŒव फरक हुने उनले राम्ररी बुझेका थिए । त्यसैले विद्यालयमा स्वास्थ्य शिक्षा, विज्ञान, चित्रकला पढाउन सुरु गरे । विज्ञान, स्वास्थ्यजस्ता विषय त्यतिबेला विद्यालयमा पढाइँदैन थियो । आफैँले पाठ्यसामग्री तयार पारेर पढाउन सुरु गरे ।

अरू विद्यालयमा पढाइ नहुने यी विषयमा पढ्न पाउँदा बालबालिका खुबै रमाए । त्यतिमात्रै होइन, उनीहरूमा ज्ञानको क्षितिजसमेत फराकिलो भएको अनुभव शान्तदासले गरे । प्रत्येक शुक्रबार विद्यालय प्राङ्गणमा हुने अतिरिक्त क्रियाकलापले बालबालिकाको जिज्ञासा, चातुर्य र क्षमतालाई बाहिर ल्याउन सहयोग गरेको उनी सम्झन्छन् । गीत गाउने, नाच्ने, चित्र बनाउने र सरसफाइ गर्नेजस्ता कार्यक्रमले बालबालिकालाई मनोरञ्जन दिनुका साथै उनीहरूमा स्वास्थ्य चेतनासमेत बढाएको उनले अनुभव गरे ।

शान्तदासले बालबालिकाहरूका लागि ‘तारा’ नाउँको भित्ते बालपत्रिका निकाले । यसरी त्यसबेलाका त्यहाँका गतिविधिहरू र तिनै पत्रिकाले बालसाहित्यको जगमा पाइला टेक्न सहयोग गरेको उनको अनुभव छ ।

शिक्षक शान्तदास विद्यार्थीलाई फरक तरिकाले पढाउन चाहन्थे । किताबको ज्ञानले मात्रै पुग्दैन भन्ने ठान्थे । बालबालिकाका लागि किताब खोज्दा उनले त्यतिबेला बजारमा पञ्चतन्त्र र हितोपदेशका कथा र अरू केही नीतिकथामात्र फेला पारे । केही कविता त थिए तर ती बालबालिकाले बुझ्ने खालका थिएनन् । २०२२ तिर उनले दुर्गालाल श्रेष्ठलाई नेवारी भाषामा बालकविता लेख्न अनुरोध गरे । दुर्गालालले एउटा किताब नै तयार पारे । त्यसको नाम थियो ‘चिनिम्याह किसिचा’ । त्यो किताबको गाताको डिजाइन शान्तदासले नै गरेका थिए ।

‘चिनिम्याहा किसिचा’ पछि दुर्गालालले चिनियाँ कविताहरू अनुवाद गरेर ‘चिनियाँ चम्पा’ नामको पुस्तक तयार पारे । उक्त पुस्तक शान्तदासले सूर्योदय प्रकाशनबाट प्रकाशित गराए । बालसाहित्य प्रकाशनको क्षेत्रमा उनको त्यो पहिलो पाइला थियो ।

बालबालिकासँग नजिक रहेका शान्तदासलाई बालपत्रिका प्रकाशनको उत्सुकता जाग्यो । एक्लो प्रयासले यो काम सम्भव थिएन । उनले सहगोगी खोज्दै हिँडे । ‘धेरै साथीहरू राम्रो काम त हो तर …..’ भन्दै पन्छिए । उनको प्रस्ताव इन्कार गर्नेको भीडमा उनले त्यस्ता दुईजना मान्छे भेटे जो शान्तदासको प्रस्ताव सुनेर उत्साहित भए । ती व्यक्ति थिए जनकप्रसाद हुमागाइँ र गोपालराज मैनाली । उनीहरूको सहयोगमा शान्तदासले ‘बालपोष’ साहित्यिक पत्रिका निकाले । यसले निरन्तरता पाउन सकेन, ६ अंक प्रकाशनपछि बन्द भयो । उनको मन र मस्तिष्क भने बालसाहित्यका कृति प्रकाशनका लागि निरन्तर चलिरहेको थियो । केही साथीको सहयोग लिएर फेरि उनले ‘बालकोसेली’ निकाल्न थले ।

काम गर्दै जाँदा उनलाई के अनुभव भयो भने बालबालिकालाई चेतनशील र स्वस्थ बनाउने अभियान एक्लो प्रसासले मात्रै सम्भव छैन । उनले हार मानेनन् । सहयोगी मन र सद्भाव राख्ने साहित्यकार, चित्रकार, इतिहासकारलगायतको सहयोग लिएर आफ्नो यात्रामा अघि बढिराखे, हिँडिराखे ।

राज्यले हुर्काउन जिम्मा नलिएका र बाआमाले समेत ‘भुरा’ त हुन नि भन्दै हुर्काएका बालबालिका लागि काम गर्न त्यो बेला त्यति सजिलो थिएन । शान्तदासले थालेको यो कामलाई ऊबेला मर्यादाको कामसमेत मानिँदैन थियो । आफूले सुरु गरेको ‘बालबालिकाका लागि बुझेर लेख्ने’ कामलाई महŒव दिन थालिएकोमा उनी खुशी छन् । भन्छन्, ‘यो क्षेत्र उज्ज्वल छ, निरन्तरता जरुरी छ ।’

यसरी हुर्काआंै बालबालिका 

बालबालिका हुर्काउन केही विशेष कुरामा ध्यान दिए पुग्ने बताउँछन् बाल साहित्यकार शान्तदास मानन्धर । स्वास्थ्य, चेतनशीलता र मिहिनेत– यी तीन कुरा बालबालिकाकालाई बुझाउनसके उनीहरू देशका असल र जिम्मेवार नागरिक बन्छन् । बालबालिकालाई सानैमा आफ्नो शरीर र अंगको महŒव बुझाउनुपर्छ । त्यसो भए उनीहरूले आफूलाई माया गर्छन्, आफ्नो क्षमता बुझ्छन्, समयको महŒव बुझ्छन् । आँखा, कान, हातगोडालगायत सबै अंगको महŒव बुझाउन उनी अभिभावक र शिक्षकलाई सुझाव दिन्छन् । उनको अनुभवमा अहिलेको समाज चेतना कम भएकाका जमातको हो । बालबालिकालाई चेतनशील बनाउन अभिभावक र शिक्षक लाग्नुपर्छ । बालबालिकालाई मिहिनेत र समयको महŒव बुझाउनुपर्छ । त्यसले भविष्यमा जिम्मेवार नागरिक बन्न सहयोग पुग्छ ।

अभिभावकले एउटा कुरा बिर्सेकोमा शान्तदास दुःखी छन् । भन्छन्, ‘सबै अभिभावकले म पनि कुनैबेला आफ्ना छोराछोरीजस्तै साना थिएँ, मैले पनि उपद्रो गरेको थिएँ, भन्ने कुरा बिर्सनु भएको छ, यसमा मलाई दुःख छ ।’

उनी अभिभावकलाई आफ्नो बालापनमा फर्कन सुझाव दिन्छन् । छोराछोरीले गल्ती गर्दा गाली गर्न र थर्काउन छाडेर त्यही उमेरमा आफू कस्तो थिएँ, के कस्ता गल्ती गरेको थिएँ भन्ने सम्झन आग्रह गर्छन् । बालबालिकासँगको निरन्तर र लामो संगतले शान्तदासलाई सिकाएको महŒवपूर्ण कुरा के रहेछ भने बालबालिका गाली गर्दा टेर्दैनन् तर माया गर्दा जति कठिन काम पनि सजिलै फत्ते गर्छन् ।

शान्तदास २०७४ सालको जगदम्बा श्री पुरस्कारबाट सम्मानित भएका छन् । उनी बालबालिका धेरै कथा र कविताका पुस्तकका सर्जक हुन् । बालबालिकाभन्दा भन्दै बाजे उमेरमा पुगेका शान्तदासमा ऊर्जाउत्तिकै छ, जतिबेला उनले बालबालिका बुझ्न थालेका थिए । यशस्वी स्रष्टा शान्तदासको सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी