एकै खेलमा दश गोल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलमा दश गोल भएको छ । लिगको बाह्रौं चरण चलिरहँदा एकै खेलमा भएको यो सर्वाधिक गोल हो । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा दुवै टोलीले ५–५ गोलको बराबरीमा खेल्दै अंक बाँडेका छन् । मछिन्द्रका लागि विशाल राईले दुई तथा खामिर गलिसान, अनिल गुरुङ र भासडिया डाइमण्डले एक–एक गोल गरेका थिए ।

डाइमण्डले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको नवौँ र ६३ औँ मिनेटमा विशालले दुई गोल गर्दा खामिरले खेलको २७ र अनिलले खेलको २९औँ मिनेटमा एक–एक गोल गरे । त्यस्तै एनआरटीका अशोक थापाले दुई गोल गरे भने सुशील लामा र विदेशी खेलाडी कौवासी जेनले एक–एक गोल गरे । अशोकले खेलको ३२ औँ र ३४औँ मिनेटमा दुई गोल गर्दा सुशीलले खेलको मध्यान्तर हुनुभन्दा अघिको अत्तिरिक्त समयमा एक गोल थपे ।

त्यसैगरी खेलको ८५आँै मिनेटमा विदेशी खेलाडी कौवासीले एक गोल गरे भने खेलको आठौँ मिनेटमा मछिन्द्रका खेलाडी साहिद गबेन्गाले एनआरटीको लागि उपहार स्वरूप आत्मघाती गोल गरेका थिए ।

खेलमा एनआरटीका अशोक थापा म्यान अफ दि म्याच घोषित भए । यस बराबरी खेलसँगै मछिन्द्र सात अंकसहित तालिकाको १३औँ स्थानमा छ भने छ अंक जोडेको एनआरटी लिग तालिकाको पुछारमा यथावत छ ।

यस्तै सोमबार नै भएको अर्को खेलमा विभागीय टिम त्रिभुवन आर्र्मी क्लब बराबरी जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । हल्चोकस्थित एपिएफ मैदानमा भएको खेलमा चौथो स्थानको आर्मीले जावलाखेलसँग अंक बाँडेसँगै उसको शीर्ष दुईमा आउने सम्भावना सकिएको छ ।

बराबरीसँगै आर्मीले १२ खेलबाट २२ अंक जोडेको छ । ६ खेलमा जित ४ मा बराबरी र २ मा हार बेहोरे आर्मी चौथो स्थानमा छ । जावलाखेल भने १२ अंकसहित नवौं स्थानमा छ । एन्फा कम्प्लेक्समा दिउँसो भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले हराएको छ । ब्रिगेडको जितमा कजिम बुसारीले दुई तथा अब्दु करीमले एक गोल गरेका थिए ।

पहिलो हाफको हाफको १६ औं मिनेटमा बुसारीले गोल गर्दै ब्रिगेडलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै बुसारीले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै खेलको इन्जुरी समयमा करीमले गोल गर्दै ब्रिगेडलाई ३–० को जित दिलाएका हुन् ।

खेलमा ब्रिगेडका रन्दिप पौडेल म्यान अफ दि म्याच चुनिए । लिगमा ब्रिगेडको यो दोस्रो जित हो । जितसँगै ब्रिगेडले ९ अंकसहित ११औं स्थानमा छ । ब्रिगेडले २ खेलमा जित ३ खेलमा बराबरी तथा सात खेलमा पराजय भोगेको छ । ९ अंक नै जोडेको फ्रेन्ड्स १२ औं स्थानमा छ ।

लिगमा मंलबार सरस्वती युथ क्लब र च्यासल युथ क्लब तथा अर्को खेलमा एपिएफ र नेपाल पुलिसबीच खेल हुनेछ । बाह्रौँ चरणको अन्तिम खेलमा बुधबार संकटा क्लब र थ्रीस्टारबीच तथा हिमालयन शेर्पा र उपाधि विजेता मनाङ भिड्नेछन् ।

लिगमा यसअघि नै ११ औँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित ३३ अंकका साथ उपाधि विजेता बनिसकेको छ भने दोस्रो स्थानमा २५ अंकका साथ संकटा, २३ अंकका साथ थ्री स्टार तेस्रो, २१ अंकका साथ त्रिभुवन आर्मी चौथो र १८ अंकका साथ नेपाल पुलिस पाँचाँै स्थानमा छन् ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटाँैले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउनेछन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी