कहिले बन्ला काठमाडौं भ्यु टावर !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । राजधानीको रत्नपार्क नजिकै रहेको पुरानो बसपार्क खाली गरेर खुला मञ्चको आधा भागमा सारियो । २०७२ वैशाखको भूकम्पपछि पुरानो बसपार्कमा १२ तले सुविधा सम्पन्न भ्यु टावर बनाउने भनिएको छ । २०७३ वैशाखमा बसपार्क सारिएको भएपनि भ्यु टावर निर्माणको काम भने जग राख्नमै सीमित रहेको छ ।

सम्झौता अनुरूप काम नहुँदा र सम्बन्धित निकायले विशेष ध्यान नदिँदा ‘काठमाडौं भ्यु टावर’ निर्माणको काम अपेक्षा अनुसार अगाडि बढ्न सकेको छैन । २०७२ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले भ्यु टावरको शिलान्यास गरेका थिए । काठमाडौं महानगरपालिकाले भ्यु टावर बनाउने जिम्मा सार्वजनिक निजी साझेदारी (पिपिपी) अन्तर्गत ‘जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनी’ लाई दिएको थियो । ठेकेदार कम्पनीले सम्झौता अनुरूप काम नगर्दा भ्यु टावरको काम अघि बढ्न सकेको छैन ।

२०७५ भदौसम्म टावरको काम सकिसक्नु पर्ने सम्झौता छ । हालसम्म जग उठाउन गिटी, बालुवा, औजार र केही निर्माण सामग्री थुपारिएको बाहेक कामदार जग बनाउने काममै अल्मलिएका भेटिन्छन् । सम्झौता अवधि सकिएपछि महानगरपालिकाले ठेकेदार कम्पनीसँग छलफल गरेर पुनः काम अगाडि बढाउन मौका दिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् । ठेकेदार कम्पनीका प्रमुखले आफूले सम्झौता अनुरूप काम गर्न नसकेको स्वीकार गरेको र पुनः छलफलबाट एकपटक समयमै काम सक्ने प्रतिबद्धता गरेसँगै काम पुनः सञ्चालन गर्न दिएको उनको भनाइ छ । भ्यु टावर निर्माणको काम सुरु भएसँगै तीन वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने छ ।

करिब ७ अर्ब लगानीमा २४ रोपनी क्षेत्रफलमा निर्माण हुने टावरको काम कहिले सम्पन्न हुन्छ भन्न सकिने अवस्था नरहेको महानगरको भनाइ छ । अझै पनि भ्यु टावर तोकिएको समयमा बन्छ भन्नेमा महानगर विश्वस्त नभएको देखिन्छ । अब दुई वर्षभित्र भ्यु टावरको निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्नुपर्ने भए पनि काम भने वर्षौंदेखि जगमै अल्झिएको छ ।

ठेकेदार कम्पनीका एक अधिकारीका अनुसार अहिलेसम्म जग निर्माणमा मात्र एक अर्बभन्दा धेरै खर्च भइसकेको र काम अगाडि बढेको छ । अहिले २ सय कामदारले जगमै काम गरिरहेको र लगभग २ महिनाभित्र जगको काम सकिने उनको भनाइ छ । उनले भने, ‘निरन्तर काम हुने हो भने तोकिएको समयमै सक्न कुनै गाह्रो हुन्न ।’ निर्माण सामग्रीको अभाव देखाएर रोकिने गरेको छ ।

कम्पनीले टावर बनाएर २७ वर्ष सञ्चालन गर्ने र त्यसपछि महानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ । तर न भ्यु टावरको कामको गति सुस्त छ । भ्यु टावरको निर्माणपछि खुला मञ्चमा राखिएको बसपार्क टावरमा अन्डरग्राउन्ड पार्किङ बनाएर सार्ने भनिएको छ । भ्यु टावर बन्ने निश्चित नहुँदा बसपार्क समेत भद्रगोल भएको महानगरको भनाइ छ ।

अहिले ठेकेदार कम्पनीले काम गरिरहेको र समयमै काम सक्ने प्रतिबद्धता जनाएकोले विकल्प नसोचिएको प्रवक्ता कार्कीले बताए । अझै अलमल भए विकल्प खोजिने उनको भनाइ छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी