गाडी खरिदमा अनियमितता : निष्कर्ष निकाल्न लेखा समितिलाई सकस

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रूपन्देही । प्रदेश ५ मा गाडी खरिदमा अनियमितता भएको आशंकामा छानबिन गरिरहेको प्रदेशसभाको सार्वजनिक लेखा समितिलाई ठोस प्रतिवेदन तयार पार्न सकस भएको छ । उपसमितिले दिएको प्रतिवेदनमा कतिपय विषयहरू छानबिन हुन बाँकी रहेपछि मूल समितिमै छलफल सुरु भएको छ ।

सार्वजनिक लेखा समितिको बुधबार बसेकोे बैठकले गाडी खरिदकर्ता र बिक्रेताको बयान लिनेबारे छलफल गरेको छ । प्रतिवेदनमाथि मूल समितिमै छलफल गरी प्रतिवेदन तयार गरिने सार्वजनिक लेखासमितिका सभापति डिल्ली चौधरीले बताए । ‘उपसमितिको प्रतिवेदनमा अझै केही कुराहरू अनुसन्धान गर्न बाँकी रहेकाले मूल समितिले नै बयान लिने र प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने काम गर्छ,’ चौधरीले भने । बुधबार तीन घन्टा समितिको बैठक बसे पनि ठोस निर्णय गर्न सकेन । लेखासमितिका सभापति चौधरीले एउटै गाडीको मूल्य फरक हुनुको कारणमाथि अनुसन्धान गर्ने बताए ।

प्रदेशका मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीमा करिब एक लाखको अन्तर छ । उपभोक्ता मूल्य ६५ लाख ५५ हजार रहेका गाडी मन्त्रालयले करिब ७३ लाख, प्रदेशसभाले ७२ लाखमा खरिद गरेपछि अनियमितता भएको आशंका भएको हो । बुधबारको बैठकमा प्रदेशसभाकै लेखापाल रामचन्द्र मरासिनीसमेत सहभागी थिए । गाडी खरिद गर्ने प्रक्रियाका प्रमुख व्यक्ति नै समितिको गोप्य बैठकमा बस्दा छानबिन प्रभावित हुने आशंका भएको छ । सभापति चौधरीले भने कागजात सिलबन्दी गरिएकाले बैठकमा बस्दैमा निर्णय प्रभावित नहुने बताए । समितिको बैठक बिहीबार पनि बस्ने जनाइएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी