गोपी टिमसँग मन्त्री विष्टको भेट

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । चलचित्र ‘गोपी’ टिमले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार चलचित्रको निर्माण टिम तथा मुख्य कलकारले भेट गरेको हो । ट्रेलर सार्वजनिक भएसँगै मन्त्री विष्टले आफूलाई चलचित्रले थप उत्सुकता जगाएकाले टिमसँग भेट्ने इच्छा राखेको बताएका थिए । मन्त्री विष्टलाई भेट्नका लागि मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामिप्यराज तिमल्सेना पुगेका थिए ।

‘चाहृयो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगतरूपमा मेरो पनि नैतिक समर्थन र ऐक्यबद्धता छ ।’

मन्त्री विष्टले आफूले यदाकदा नेपाली फिल्म हेर्ने गरेको भएपनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगतरूपमै मौलिक फिल्मलाई प्रवद्र्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । भेटघाटका क्रममा उनले चलचित्रको बजेट र सुटिङसम्बन्धी जिज्ञासा राखेका थिए ।

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले चलचचित्रप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरूको ठूलो जमात छ देशमा । त्यो समूहलाई चलचित्रको माध्यमबाट भएपनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरथोर सफल भएको महसुस भएको छ ।’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी