चम्किँदै नेपाली क्रिकेट

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशिको व्यावसायिक क्रिकेट प्रतियोगिता ‘पोखरा प्रिमियर लिग’ (पिपिएल) भइरहेको छ । कतिपय खेलकुद प्रतियोगिता खेल पर्यटन अभिवृद्धिका अवसरका रूपमा विभिन्न मुलुकले आयोजना गर्ने गरेका छन् । पोखरामा भइरहेको राष्ट्रियस्तरको व्यावसायिक क्रिकेट प्रतियोगिताले खेलकुद र पर्यटनलाई एकैसाथ व्यावहारिक रूपमै प्रमाणित गरिदिएको छ । प्राकृतिक मनोरम हिमालय शृंखलालाई पृष्ठभूमिमा राखेर क्रिकेटको आनन्द लिनु खेलप्रेमीका लागि सुखद अवसर बनेको छ भने खेल पर्यटनका कयौं सम्भावना पनि उजागर गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपालले व्यावसायिक क्रिकेटमा ध्यान केन्द्रित गर्ने गरेको छ । यहीबीचमा विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइयो । उक्त ट्रफी आइसिसीबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको हैसियतबाट पहिलोपटक नेपाल ल्याइएको हो । चार दिनसम्म विश्वकप ट्रफी नेपाली धर्तीमा रहृयो तर उक्त ट्रफीलाई चार वर्ष आफ्नो धर्तीमा राख्न एक दिवसीय क्रिकेटको विश्व विजेता बन्न सक्नुपर्छ । क्रिकेट खेल्ने मुलुकका लागि विश्व विजेता एउटा सपना हुने गर्छ । स्वाभाविक रूपमा तत्काल नेपालको त्यो क्षमता नदेखिए पनि विश्वकप उचाल्ने सपना नेपाल र नेपाली क्रिकेटप्रेमीले देख्नै पर्छ । क्रिकेटका लागि पूर्वाधार विकास, खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षण तथा घरेलु प्रतियोगितामार्फत नयाँ प्रतिभा खोजी, खेलाडीहरूलाई निरन्तर अभ्यासका दिशामा नेपाल क्रिकेट संघ, सरकारलगायत सरोकारवालाले पहल गरेमा नेपालले ठूलो फड्को मार्नेछ ।

धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिगजस्ता आन्तरिक प्रतियोगिताले खेलाडीको स्तरवृद्धि गर्नेमात्र नभई क्रिकेटको व्यावसायिकीकरणमा उल्लेख्य योगदान गर्दै आएको छ । यस्ता प्रतियोगिता २० ओभरमा सीमित हुने भएकाले एक दिवसीय मान्यता पाएको नेपाल ५० ओभरका प्रतियोगितामा समेत उत्तिकै अभ्यस्त र सुदृढ हुन जरुरी हुन्छ । ट्वेन्टी–ट्वेन्टी फरम्याटको क्रिकेट पछिल्लो समय लोकप्रिय भए पनि एक दिवसीय नै अन्तर्राष्ट्रिय क्रिकेटको मेरुदण्ड मानिन्छ । यस्तै, कलात्मक मानिने टेस्ट क्रिकेटतर्फ पनि खेलाडीहरूलाई अभ्यस्त बनाउन आवश्यक हुन्छ । तीनवटै फरम्याटमा सशक्त नभई अन्तर्राष्ट्रिय क्रिकेटमा दह्रो पाइला टेक्न सम्भव हुँदैन ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतको ध्यान तान्न सक्छ भन्ने बलियो उदाहरण नेपाली युवा बलर सन्दीप लामिछानेले दिइसकेका छन् । उनले ट्वेन्टी–ट्वेन्टी फरम्याटका विभिन्न व्यावसायिक प्रतियोगितामा आफूलाई सामेल गराइसकेका छन् । यस्ता प्रतियोगितामा सहभागी हुनु खेलाडीका लागि गर्वको कुरा हो । यी प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्छ । विभिन्न मुलुकका खेलाडीहरूसँग खेल कला आदान–प्रदान हुन्छ, विभिन्न प्रकारका पिचमा खेल्ने अनुभव हासिल हुन्छ ।

अन्तर्राष्ट्रियस्तरका व्यावसायिक प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाउन आन्तरिक प्रतियोगिता सहयोगी हुनेछन् । आन्तरिक प्रतियोगितालाई ट्वेन्टी–ट्वेन्टीमा मात्र नभई एक दिवसीय फरम्याटमा पनि आयोजना गर्ने हो भने त्यसले एक दिवसीय क्रिकेटमा खेलाडीहरूको स्तर अभिवृद्धिमा सघाउने छ । अहिले नेपालको लक्ष्य भनेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई निरन्तर कायम राख्दै विश्वकप यात्रामा लगातार पाइला बढाउने हो । यसका लागि क्रिकेट रंगशाला निर्माण गर्नेदेखि लिएर उमेर समूहदेखि नै घरेलु प्रतियोगिता आयोजना गरी दक्ष खेलाडी उत्पादन गर्न दीर्घकालीन योजनाका साथ अघि बढ्न आवश्यक देखिन्छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी