चिनीको भाउ बढाउन चलखेल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । चिनी उद्योगीले चिनीको मूल्य बढाउन चलखेल सुरु गरेका छन् । उनीहरूले चिनीको कारखाना मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै सरकारसमक्ष उत्पादन लागतसहित विवरण पेस गरेका छन् । यही अवस्था रहेमा थोक र खुद्रा मूल्य हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकेजी चिनीको मूल्य एकसय रुपैयाँसम्म पुग्न सक्ने भन्दै उपभोक्तावादीले आपत्ति जनाएका छन् । उनीहरूले किसानलाई उखुको भुक्तानीका लागि सरकारले सहुलियत कर्जाको व्यवस्था गर्न माग गरेका छन् ।

नेपाल चिनी उत्पादक संघले उखुको खरिद मूल्य, चिनी उत्पादन लागत र मूल्य अभिवृद्धि कर (भ्याट) लगायतसमेत समावेश गरी प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पर्ने दाबी गरेको छ । संघले नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई यस्तो प्रस्ताव गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । गौचनले चिनी उद्योगीलाई बढेको चिनीको मूल्यबारे छलफलका लागि बोलाउँदा सधैँ घाटा खाएर चिनी बेच्नुपर्ने अनि किसानको भुक्तानी समयमै भएन भन्न मिल्छ भन्ने जवाफ दिएको बताए ।

संघका अध्यक्ष शशीकान्त अग्रवालका अनुसार एक सय केजी उखुबाट ९ केजीमात्रै चिनी उत्पादन हुने, एक केजी चिनीमा उखुको लागत मूल्य ५३ रुपैयाँ ४८ पैसा, चिनीको प्रशोधन खर्च १३ रुपैयाँ ४७ पैसा, सहउत्पादन मोलासिस एवं बिक्रीबाट प्रतिकेजी २ रुपैयाँ ६५ पैसा आम्दानी गरी उत्पादन लागत ६४ रुपैयाँ ३० रहेको छ । जसमा उद्योगले ७.५ प्रतिशत मुनाफा राख्दा ४ रुपैयाँ ८२ पैसा गरी कुल ६९ रुपैयाँ १२ पैसा हुने र भ्याटसमेत गरी प्mयाक्ट्री मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पर्न आउने उनको जिकिर छ ।

हाल चिनी उद्योगसँग गत वर्ष उत्पादित चिनीमध्ये ४० हजार मेटिकट्रन चिनी मौज्दात रहेको र सो वापतको बैंकको ऋण भुक्तानी तथा नयाँ ऋणको व्यवस्थामा समेत समस्या रहेकाले यस वर्षका लागि किसानलाई भुक्तानी दिन सरकारले उद्योगलाई सहुलियत कर्जाको व्यवस्था गरिदिनुपर्ने पनि उद्योगीको माग रहेको छ । संघका अध्यक्ष अग्रवालले दसैंतिहारमा सरकारको विशेष अनुरोध गरेर भ्याटबाहेक ५७ रुपैयाँमा चिनी बिक्री गरेको दाबी गर्दै सधैँ घाटा बेहोर्न नसकिने बताएका छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी