जीवनी : सन्तकवि ज्ञानदिलदास

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

पूर्वी नेपालको ओखलढुंगास्थित रुम्जाटार गाउँलाई आफ्नो कर्मथलो बनाउने एक प्रसिद्ध कवि हुन् ज्ञानदिलदास । उनी प्राथमिककालीन कवि हुन् । यो गाउँलाई कर्मथलो बनाए तापनि उनको जन्मथलो भने यहाँ होइन । उनी नेपालको सुदूरपूर्वी जिल्ला इलामको आमचोक  चित्रे गाउँमा विसं १८७८ सालमा  जन्मिएका थिए । उनी जयनन्द लामिछाने र बल्लभा लामिछानेका छोरा हुन् । उनको वास्तविक नाम श्रीकृष्ण लामिछाने हो ।

उनीसम्बन्धी विभिन्न तथ्यांक निर्विवाद छैनन् । केही विद्वानले उनी आमचोकमा नभई फिक्कलमा जन्मिएका हुन् भनेका छन् । वास्तवमा उनी लामिछाने ब्राहृमण परिवारमा जन्मिएका थिए तर उनी जाति व्यवस्थाका विरोधी भएका कारण आफू पनि आफ्नो वास्तविक नामले चिनिन चाहेनन् ।

गुरु श्यामदिलदासबाट दीक्षा पाएका ज्ञानदिलदास जोसमनि सम्प्रदायका प्रचारक मानिन्छन् । त्यसैले उनले आफ्नो नाम पनि गुरुकै जस्तो राखेका हुन् । यही आफ्नो सम्प्रदायको प्रचारका क्रममा उनी यहाँ आइपुगेका थिए तर उनी यो गाउँ छोडेर अन्त जान चाहेनन् ।

ज्ञानदिलदास आदिकवि भानुभक्त आचार्यका समकालीन कवि हुन् । त्यसताका ओखलढुंगाका रघुनाथ पोखरेल र यदुनाथ पोखरेलजस्ता प्रसिद्ध कवि पनि लेखनमा सक्रिय थिए । त्यस बेलाका कवि भक्तिमार्गमा लागेका थिए । रामभक्ति, कृष्णभक्ति, निर्गुणभक्तिजस्ता भक्तिमार्ग त्यसबेला देखिएका थिए । भानुभक्तले रामभक्तिको मार्ग अवलम्बन गरी रामायण लेखे । ज्ञानदिलदासले भने निर्गुण भक्तिधारा प्रचार प्रचारलाई आफ्नो ध्येय बनाए ।

सगुण र निर्गुण गरी भक्तिधारा दुई भागमा विभक्त भएको पाइन्छ । निर्गुण भक्तिधाराअन्तर्गत जोसमनि सन्त सम्प्रदाय पर्छ । ज्ञानदिलदासले निगुर्णकै बाटो रोजे । सगुण भक्तिधाराका समर्थकहरू मूर्ति पूजाका पक्षपाती थिए भने जोसमनि सम्प्रदायका सन्त यसको विरोधी थिए । यही भावनाबाट प्रभावित सन्त ज्ञानदिलदास पनि मूर्तिपूजकहरूका विरोधमा थिए । जोसमनि शब्द ज्योतिर्मणि शब्दको अपभ्रंश भएको रूप हो । ज्योतिर्मणि, ज्योतिर्मनि, ज्योतिषमणि हुँदै जोसमनि भएको हो भन्ने विद्वानहरूको तर्क छ ।

ओखलढुंगा जिल्लाको सबैभन्दा ठूलो र सुन्दर टारका रूपमा रुम्जाटार गाउँ रहेको छ । राईहरूका विभिन्न थरहरूमध्ये रुम्डाली पनि एक हो । रुम्डाली राईको बसोवासको थलो हो यो टार । त्यसैले यो गाउँको नाम ‘रुमाटार’ रहन गएको थियो । पछि बोल्दाबोल्दै ‘रुमाटार’ रुम्जाटार बन्न पुग्यो र रुम्डाली राई पनि यहाँबाट लाखापाखा लागे । अझैपनि यो गाउँमा केही संख्यामा रुम्डाली राईको बसोवास छ । रुम्जाटारको वरिपरिका गाउँमा रुम्डाली राईहरूका ठूलाठूला बस्ती भएका हुँदा यो कुराको पुष्टि पनि हुन्छ ।

यो गाउँ भने गुरुङहरूको घना बस्तीमा परिणत भयो । यहाँका गुरुङ पश्चिम नेपालका जस्ता बुद्ध धर्मावलम्बी छैनन् । क्षेत्री बाहुनको जस्तै संस्कृति र धर्मको अवलम्बन गरेर बसेका यहाँका गुरुङहरूले नेपाली भाषालाई नै मातृभाषाका रूपमा अवलम्बन गर्दै आएका छन् । रुम्जाटारका धेरैजसो गुरुङ कुनै न कुनै रूपमा राजपरिवारसँग निकट रहँदै आएका थिए ।

प्रताप मल्लका पिता कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लका ज्वाइँ तथा काजी भीम मल्ल हुन् । किरात प्रदेश त्यो बेला वल्लो किरात, माझ किरात र पल्लो किरातमा विभक्त थियो । ओखलढुंगा वल्लो किरातमा पथ्र्यो । भीम मल्लले यो जिल्ला सर गरेर वल्लो किरातका किरातीहरूबाट विभिन्न कुरा बरामद गरे यिनमा धान पनि थिए । एउटा खोपिल्टो परेको ढुंगामा ती धान कुटेर सेनाहरूले भात पकाएर खाएका कारण नै यो जिल्लाको नाम ओखलढुंगा रहन गएको हो ।

उनले यहाँ एउटा प्रहरी ठाना पनि स्थापना गरेको र यसको नाम भीमल ठाना राखिएको कुरा इतिहासमा उल्लेख छ । काजी भीम मल्लको अर्को नाम भीमल काजी हो । उनले यो ठानाको नामा आफ्नै नामबाट राखेका थिए । सम्भवतः यो ठानाकै परिमार्जित र विकसित रूप हालको सैनिक ब्यारेक हुनसक्छ ।

अग्लो डाँडामा छ यो जिल्लाको सदरमुकाम ओखलढुंगा बजार । बजारबाटै देखिने ठाउँमा छ रुम्जाटार गाउँ । पैदल यात्रा गर्दा सदरमुकामबाट लगभग दुई घण्टामा पुगिन्छ यहाँ । यस अर्थमा यो सदरमुकाम नजिकको सुगम गाउँ मानिन्छ । यहाँ अहिलेभन्दा ४०–४५ वर्ष पहिलेदेखि नै हवाई मैदान सञ्चालनमा छ । यसबाट यो गाउँ समथल मैदान हो भन्ने पनि थाहा हुन्छ ।

आफ्नो मतको प्रचार गर्दै यहाँ आइपुगेका सन्त ज्ञानदिलदास यो गाउँको सुन्दरता देखेर लोभिए र यहीँ बसे । जाति प्रथा, मूर्तिपूजाजस्तै  कर्मकाण्डका पनि यिनी विरोधी थिए । विभिन्न सामाजिक सुधारका काम र साहित्य सिर्जना गरेर उनी रुम्जाटारमै बसे । उनको बसाइ स्थिर भने थिएन । उनी आफ्नो मत प्रचारका क्रममा भारतको दार्जिलिङ र सिक्किमतिर पनि गइरहन्थे ।

लहरी साहित्यको लोकप्रियता बढिरहेका बेला समाजका विभिन्न विकृतिप्रति चोटिलो व्यंग्य गर्दै उनले उदयलहरी लेखे । सवाई छन्दमा लेखिएको यो कृति विसं १९३४ सालमा प्रकाशित भएको थियो ।

यसमा उनले बाहुनहरूको धर्मप्रतिको घट्दो आस्थाका कारण ‘यो रुम्जाटारको कोदाको पीठो निर्गुनको दाउन, धर्म र कर्म गुरुङले गरे छक परे बाहुन’ भन्नेजस्ता व्यंग्योक्ति लेखेका थिए । रुम्जाटार रातोमाटो भएको निकै ठूलो फाँटिलो टार हो तर यहाँ पानीको कमीका कारण वरपरका खोलाका किनारका खेतमा बाहेक धानखेती कम हुन्छ । यहाँ कोदाको खेती भने प्रसस्त मात्रामा हुन्छ । उनले एकातिर यही कुराको संकेत आफ्ना रचनामार्फत् गरेका छन् । अर्कातिर उनको निर्गुण भक्तिलाई यसमै समावेश गरेर ‘निर्गुनको दाउन’ भन्न पुगेका छन् ।

प्रथम राणाप्रधानमन्त्री जंगबहादुर राणाका पालामा लखनथापा काण्ड भयो । आफूलाई जंगबहादुरको हत्या गर्न मनकामना माताले आज्ञा दिएकी भनेर आफ्ना केही सहयोगीको समूह तयार पारेर काठमाडौंतिर आउन लागेका थापा जंगबहादुरका सिपाहीबाट मारिएका थिए ।

दिलदासले यस काण्डको विरोध गरे । यही कारणले उनी रुम्जाटारमै पक्राउ परे । उनलाई काठमाडौं ल्याइयो र जमलमा ६ महिनासम्म नजरबन्द गरियो । उनी आफ्नो गृह जिल्ला इलाममा पनि दुई महिना थुनिए । यसबाट उनी नितान्त लेखनमा मात्र संलग्न थिएनन् भन्ने पुष्टि हुन्छ । उनको विद्रोही स्वभाव यसबाट प्रमाणित हुन्छ ।

उनी नेपालीबाहेक संस्कृत र हिन्दी भाषाका अध्येता थिए । उनले ठाउँठाउँमा पुरस्कार सम्मान, उपहार र बिर्ता पाएका थिए । नेपालमा मात्र नभएर उनले भारतका विशेषगरी दार्जिलिङ र सिक्किमतिर पनि यस्ता सम्मान र पुरस्कार पाएका थिए ।

आफ्नो मतको प्रचारका क्रममा एकपटक दार्जिलिङमा एक इसाई पादरीसित उनको शाास्त्रार्थ भयो । इसाई पादरी उनीद्वारा पराजित भयो र शर्तअनुसार इसाई धर्मग्रन्थ बाइबल जलाउन बाध्य भयो । यसबाट उनको तार्किक शक्तिको आकलन गर्न सकिन्छ ।

तत्कालीन समाजमा चेतना फैलाएर आफूसमेत लोकप्रिय बन्न पुगेका ज्ञान दिलदासको मृत्यु विसं १९४० साल कात्तिक २५ गते ६२ वर्षको उमेरमा भारतको सिक्किममा भएको थियो । तर, यो तथ्य पनि विवादरहित भने छैन । कसैकसैले त उनको निधन इलाममा भएको हो भनेका छन् ।

केही विद्वानले उनलाई अविवाहित भनेका छन् तर यो कुरा गलत हो किन कि उनका सन्तति ओखलढुंगाको रुम्जाटारमा अहिलेसम्म छन् । उनका पनाति वासु लामिछाने यो पंक्तिकारका अनन्य मित्र हुन् । ज्ञनदिलदासका माहिला छोरा रवि दिलदासका एकजना गुरुङ्नी र अर्की मगरनी दुईजना श्रीमती थिए । मगरनीतिरका नाति दिलराम लामिछाने हालसम्म छँदैछन् । उनी रुम्जाटार माध्यमिक विद्यालयका प्रध्यानाधपक केही वर्षपहिले मात्र उमेर हदका कारण सेवानिवृत्त भएका छन् । दिलरामका छोरा हुन् वासु । उनी आफ्ना बुढा हजुबाका बारेमा दिलचस्वीका साथ खोजी गरिरहेको बताउँछन् ।

हुन त सन्त कवि ज्ञान दिलदास एउटा निश्चित मत र सम्प्रदायबाट डोहोरिएका व्यक्ति हुन् तर उनको समाज सुधारका कार्य, राणा शासनको विरोध, समाजमा हुने भेदभावपूर्ण व्यवहारको विरोध तथा साहित्य रचना आदिका कारण उनी आफ्नो युगका विद्वान र विद्रोही व्यक्ति हुन् भन्न सकिन्छ ।

उनका नाति दिलराम पनि विद्वान र सचेत मानिस हुन् । उनीसँग अझै पनि आफ्ना हजुरबासँग सम्बन्धित सामग्री र जानकारी हुनसक्छन् । समयमै उनीबारेका ती सामग्री र उनका अनुभव समेटी संग्रहित गर्नसके दिलदासका बारेका खोज गर्नेहरूका लागि उपयोगी हुनसक्ने थिए ।  नत्र ती नासिदै जाने र नाति पुस्ताका सन्ततिपछि पनाति पुस्तामा टाढिँदै जाँदा ती अझै दुर्लभ हुँदै जाने कुरा नकार्न मिल्दैन ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी