जीवन एक उत्सव

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

उनीसँग लिएको समयमा फरक नपारी म घरमा पुगेँ, अनामनगर हनुमान थान । आफ्नै निवासको भुइँतलामा उनको कानुनी सेवा केन्द्र थियो ‘निरौला ल च्याम्बर’ । उनको फर्ममा कानुनका ठेलीहरू र उनले हेरिरहेका मुद्दाका फायलहरू टनाटन छन् । यही तलाका अरू कक्षहरूमा उनका अरू ६ जना कानुन व्यवसायी साथीहरूका कार्यकक्ष छन् । त्यहीँ उनीसँग केही अन्तरंग कुरा भयो ।

मातृकाप्रसाद निरौला वकिल हुन्, लेखक पनि । चालीसको दशकतिर उनी राम्रा कथा लेखेर मलाई सुनाउथे, जुनबेला मैले लेख्न थालेकै थिइँन । उनले लेखनलाई निरन्तरता दिएनन् । ती कथा कतै छपाएनन्, ती त्यसै हराए भन्छन् । कानुनका निरस पुस्तकहरूभित्र दिनरात घेत्लिरहनुपर्ने पेशा हो उनको तर उनी साहित्यिक नै छ । भन्छन्, ‘जीवन एक उत्सव हो, निरन्तर त्यही उत्सव मनाइरहेको छु अचेल ।’

मातृका २०२१ साल असोज २७ गते पिता हरिचरण निरौला र माता बालकुमारी निरौलाका जेठो सन्तानका रूपमा सोलुखुम्बु जिल्लाको सल्यान गाउँमा जन्मिए । चारजना दाजुभाइ र दुईजना दिदी बहिनीमध्येका जेठा हुन् । बाल्यकाल सोलुखुम्बुकै सल्यानमा बित्यो । टालाटुलीको डल्लो बनाएर फुटबल, भलिबल, डण्डिबियो आदि खेलेको, घाँसदाउराको भारी बोकेर सोलुखोलाको वारपार गर्दाको रमाइलो अहिले ताजा भएर आउँछ । ‘पढाइमा म राम्रोमा गनिन्थेँ । स्कुल तथा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता वक्तृत्वकला प्रतियोगितामा म प्रायः प्रथम हुन्थे । भलिबल, बुद्धिचाल आदि खेल पनि खेल्थेँ तर अब्बल थिइनँ,’ उनी स्मरण्म गर्छन् ।

उनको घरको स्थिति सामान्य थियो । जग्गा जमिन प्रसस्तै थियो तर खेतीको काम कठिन र उब्जनी थोरै, खर्च धान्न मुस्किल पथ्र्याे । खास गरी स्कुल फिस तिर्न गाह्रो पथ्र्यो तर अब्बल विद्यार्थीमा गनिने हुनाले छात्रवृत्ति पाइरहन्थे । उनले पढ्ने प्रेरणा मामा खेमराज दाहालबाट पाए ।

‘उहाँ अरूलाई मेरा भाञ्जा प्रथम भए भनेर सुनाउनुहुन्थ्यो जसले गर्दा मलाई पुनः प्रथम हुन प्रेरिणा मिल्थ्यो । मामाघरका दाजु सुमन दाहाल (हाल शिष्टाचार अभियन्ता) ले असाध्यै शान्त र शालीन किसिमले पढेको देखेर पनि मलाई हौसला मिल्थ्यो । मेरो आफ्नो घरमा यस प्रकारको वातावरण थिएन । घाँसदाउरा र मेलापातबाट फुर्सद पाइयो भने स्कुल जान पाइन्थ्यो,’ उनले बाल्यकाल सम्झे ।

मातृकासँग आफ्नो प्रवेशिका परीक्षाफलको रमाइलो अनुभूति छ । उनी परिवारका साथ बारीमा काम गर्दै थिए । एसएलसीको रिजल्ट भएको चार÷पाँच दिन भइसकेछ । गुरु ओमप्रसाद कोइराला खुशी हुँदै बारीमै आएर म पास भएको खबर सुनाए । उनको  स्कुलबाट उनी एक्लैले पास भएका रहेछन्, त्यो पनि तृतीय श्रेणीमा । तर पनि उनी त खुसी थिए नै  पूरै विद्यालय परिवार, आफन्त र छरछिमेकी खुशी थिए । एक दुई महिनासम्म बधाई, फूलमाला तथा अबिर चल्यो । भन्नछन्, ‘यत्रो उत्सव हुनुको मूल कारण चाहिँ अर्कै रहेछ, मेरो सफलताले मेरो विद्यालय खारेज हुनबाट जोगिएको रहेछ ।’

मातृका आफ्नो सफलताको कथा सुनाउन मामाघर ओखलढुंगा बिगुटार गए । त्यसै समयमा मणिराम राईले उनको घरमा गएर मास्टरको जागिर खान तुरुन्त भेट्नु भन्ने खबर छाडेछन् । घर फर्किएपछि उनले राईलाई भेटे । घरभन्दा डेढघण्टा टाढाको वरबोट प्राविमा पढाउन सुरु गरे । आयोगको परीक्षा दिएर स्थायी पनि भए । उनले घरपायक सरुवा चाहे । प्रधान अध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्ष आफ्नै काकाहरू भएका कारण उनी आशावादी थिए तर सरुवा भएन । उनको मन दुख्यो । आफूसँग भएको एक डेढ हजार बोकेर काठमाडौं हिँडे ।

भन्छन्, ‘त्यसरी स्थायी जागिर छोडेर हिँड्नु मेरा जीवनको ठूलो घुम्ती सावित भयो । यहाँसम्म आइपुग्न सकेँ, अहिले मेरो सरुवा नगरिदिने मेरा काकाहरूप्रति म हृदयदेखि नै आभार व्यक्त गरेको छु ।’

१, काठमाडौं आएपछि गाउँले दाइहरू र सानीआमा सानोबुबाहरूको सहयोगबाट उनका पाइलाहरू अगाडि बढ्न थाले । मामाको छोरा रामप्रसाद दाहालले उनलाई आफूसँगै राखे । मातृका पकनाजोलको पिपुल्स क्याम्समा कमर्श पढ्न थाले । आफन्तकोमा जान मन लागे पनि बस भाडा नहुँदा उनी डेरामै बस्न बाध्य हुन्थे । राम दाइले आश्रय दिएका कारण सजिलो भयो तर जब दाइको सरुवा धादिङ भयो तब फेरि उनलाई आर्थिक संकट पर्न थाल्यो । उनले पुनः गाउँका दाजु चूडा कोइरालाको समिप्य पाए । त्यसपछि उनले गाउँले दाइ खिलकुमार प्रधान, गाउँले काका मणि निरौला, भेषराज भट्टराई र प्रकाश अधिकारीको सहयोग पाए । भाइ केशव दाहाल, कुमार कोइरालासँग पनि बसे ।

अधिवक्ता हरिशंकर निरौलाको सहयोग पाएपछि उनी निकै व्यवस्थित हुन पुगे । उनी गाउँले दाइ हरिशंकरलाई आफ्नो न्यायिक गुरु मान्छन् । मातृका उनको फर्ममा काम गर्न थाले तर पढाइ र कामको तालमेल मिलेन । उनलाई सुरुसुरुमा असजिलो भयो । अनि उनी कमर्स पढ्न छोडेर कानुन पढ्न थाले ।

‘पिपुल्स कलेजबाट आइकम पास गरेँ र विकम पढ्न बिहान शंकरदेव क्याम्पसमाभर्ना भएँ । लेखापढीको प्रमाणपत्र, अभिकर्ताको प्रमाणपत्र लिएर कानुन व्यवसायको यात्रा सुरु गरेँ । दाइले कानुनै पढ्न प्रेरित गर्नुभयो, कानुनको प्राइभेट जाँच दिएँ, पास भएछु । अभिवक्ताको प्रमाणपत्र लिएँ, यसरी वकिल भएँ म,’ उनी यसरी आफ्नो अध्यायन्तरण र सफलताको कथा सुनाउँछन् ।

बिहान नेपाल ल क्याम्पस भर्ना भई बिएल पढे । कानुन पढाउने र यस पेशामा ल्याउने श्रेय सबै दाजु गुरु हरिशंकर निरौलाको हो । ‘उहाँको व्यक्तित्व तथा बोली व्यवहार असाध्यै मिठो र आकर्षक छ, त्यसलाई ख्याल गरी निकै अदपमा बस्न प्रेरित गथ्र्यो । म उहाँको सहोदर भाइ नभए पनि ‘उहाँले मलाई सहोदर भाइभन्दा नजिकको व्यवहार माया र प्रेरणा दिई एक संरक्षको भूमिका निर्वाह गर्नुभयो । २०४८ सालको माघ १ गते हिम्मतका साथ उहाँ भएठाउँ गएँ र भनेँ– दाइ एउटा कुरा गर्नुछ । मैले मुस्किलले हिम्मत जुटाएर भनँे– दाइ, यहाँसम्म हजुरले ल्याउनुभयो, आजबाट म आफैं बाँच्ने प्रयास गर्छु, छुट्टै अफिस खोल्छु, त्यसरी बाँच्न सकिन भने फेरि यहीँ आउँछु है,’ उनले आफ्नो फड्को सुनाए ।

एकछिन छक्क परेर हरिशंकरले भनेछन्, ‘ल हुन्छ राम्रो गर्नू ।’ त्यसै दिनदेिख त्यसरी आफ्नो अलग ल फर्म सुरु गरे मातृकाले । अहिले उनी मिहिनेती र सफल कानुन व्यवसायीमा गनिन्छन्, यो आफ्नो सन्तुष्टिको विषय हो भन्छन् उनी ।

कानुन व्यवसाय गर्ने क्रममा यो पेशामा स्थापित हुँदै गएपछि उनले देवानी तथा वाणिज्य प्रकृतिका केश र मध्यस्थ तथा मेलमिलापमा बढी फोकस गरे । हाल त्यसै क्षेत्रमा विशिष्ठीकृत गर्ने गरे । सुरुमा कमर्श पढेकाले पनि यस पेशामा मद्दत गरेको छ । एलएलएम पनि वाणिज्य कानुनमा गरेपछि उनलाई झनौ सजिलो भएको छ । देश विदेशको कानुन व्यवसाय हेर्ने मौका यसै कारण मिलेको छ । उनी अमेरिकी बार एसोसिएसनको प्राज्ञिक सदस्य छन् । एसियन आर्बिट्रेसन सेन्टरको रोष्टरमा छन् । इण्डियन बार काउन्सिल र बार एसोसिएसनसँग वर्षौंदेखि राम्रो सम्बन्ध छ ।

बेलायतको कानुन समाजसँग राम्रो सम्बन्ध छ । उनी त्यस संस्थाको एसोसियट्स सदस्य पनि हुन् । हावर्ड विश्वविद्यालयका केही प्रोफेसरसँग राम्रो सम्बन्ध छ । भन्छन्, ‘उनीहरूसँग कुनै बौद्धिक सहयोग माग्दा पाउने गरेको छु ।’ गत वर्ष बेलायत भ्रमणका क्रममा त्यहाँका बहालवाला प्रधान न्यायाधीशसँग भेटघाट र सहकार्यको वार्तालाभ गरे उनले । गतवर्ष अमेरिकी बारले नयाँदिल्लीमा एसिया प्यासिफिक फोरम आयोजना ग¥यो उनलाई तेस्रो प्रमुख वक्ताको सम्मान दिइएको थियो । विश्व प्रशिद्ध पुस्तक गेटिङ टु यस जो विश्वभर नेगोसिएसन विधाको मास्टर पिस हो, हावर्ड विश्वविद्यालयका सुविख्यात लेखकहरूले लेखेको, विश्वभर ५८ भाषमा यसको उल्था भएको छ ।

रोयल्टी बडाबढमा मात्र दिने गरेको यो पुस्तक मातृकालाई विना रोयल्टी नेपालीमा उल्था गरी छपाउन अधिकार दिए । हाल नेपालीमा यो समाधानका नामले प्रकाशित भएको छ । उनीसमेत सहलेखक भएर एसिया मेडिटेसन हृयान्डबुक नामको पुस्तक लेखेका छन् । यो पुस्तक लन्डनबाट प्रकाशित भयो र संसारभरि पुग्यो तर नेपालमा मूल्य बढी परेका कारण यहाँ धेरैप्रति आउन सकेको छैन ।

उनले सुनाए, ‘म आफैँ प्रधान सम्पादक र डा. मुक्ति रिजालसमेत सम्पादक भई एआरडी कमर्सियल जर्नल प्रकाशित ग¥यौं । म आफू मेलमिलाप परिषद्को सदस्य छु, जसका कारण नेपाल मेलमिलाप जर्नल प्रकाशित पनि गरिरहेका छौं । आफूलाई यसै समाजले बनाएको हुँदा यस समाजका लागि मैले केही गर्नुपर्छ भन्ने लागेर अरू थप प्रयास हँुदैछ । यो सबैलाई मैले मेरो जीवनका उपलब्धि नै ठानेको छु ।’

मातृका डेमोक्रेटिक लयर्स एसोसिएसनमा पनि सक्रिय भए । प्रजातन्त्रका लागि परिवर्तन जरुरी थियो । २०४६ सालको आन्दोलनमा ज्यानको बाजी लगाएर होमिए । वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी, सिन्धुनाथ प्याकुरेल र म सबैभन्दा पहिले पक्राउ परे । भन्छन्, ‘आन्दोलन सशक्त बनाउन जनआन्दोलन बुलेटिन वितरणको आवश्यकताले म स्वयंसमेत संस्थापक भई प्रजातान्त्रिक कानुन व्यवसायी संगठन डिएलए बनायौं ।’

विस्तारै त्यसमा अवसरवादीको प्रवेश भयो । उनी आफैं पाखा लागे । कारण सुनाए, ‘गलत तŒव हावी भए, त्यस्ताको दासत्व स्वीकार गर्न सकिएन, अन्ततः आफ्नै संस्थाभित्र म समेत केहीले विद्रोह गर्नुप¥यो । हाल पनि म यसमा छु तर त्यति सक्रिय छैन । वकिलका विभिन्न संगठनको जन्मोत्सव दुई÷तिन दिनसम्म भव्य कार्यक्रमका साथ हुनेगरेको छ तर नेपाल बारको कार्यक्रममा झारा तिराइ हुन्छ । ऐँझेरुले मूल वृक्षलाई समाप्त पारेझैँ हुँदैछ । नेपाल बारलाई क्रमशः निरिह र असक्षम बनाइँदैछ । यस्तो देख्दा उसबेला विषवृक्ष रोपिएछ कि जस्तो लाग्न थालेको छ ।’

उनी आफ्नो दृष्टिकोण यसरी प्रष्ट रूपमा राख्छन् । सभा सम्मेलन तालिम गोष्ठीका सन्दर्भमा आधा जति युरोप, अमेरिका, अष्ट्रेलिया, केही आसियान मुलुकहरू मध्यपूर्वका केही, सार्क मुलुकहरूसमेत गरी ३० राष्ट्रतिको भ्रमण गरेका छन् वरिष्ठ अधिवक्त निरौलाले । यसैगरी उनले नेपालका नेपालमा ६२ जिल्ला भ्रमण गरी अनुभव समेट्न पाएका छन् उनले ।

अदालत विवादित बन्दै गरेको सन्दर्भ कोट्याउँदा उनले यसलाई स्वीकार गर्दै भने, ‘हो, अदालत केही हदसम्म आफ्नै कारणले विवादमा आउँने गरेको छ । त्योभन्दा बढी नियुक्तिमा राजनीतिक हस्तक्षेपले विवादमा आउने गरेको छ । निर्विवाद, क्षमतावान आचरणयुक्त व्यक्तिलाई खोजेर र सम्झाएर न्यायाधीश बनाउने गरिन्थ्यो, अहिले राम्रा जति छोडेर हाम्रा जतिलाई न्यायाधीश बनाइन्छ ।’ उनको अनुभवमा अदालतप्रति सम्मान पनि घटेको छ । न्यायालयलाई भ्रष्ट बनाउन वकिलको पनि भूमिका रहन्छ भन्ने कुरा सर्वोच्च बार एसोसिएसनको अनुसन्धानबाट पहिले नै देखिएको छ ।

न्यायालयलाई स्वच्छ राख्न राजनीतिक हस्तक्षेपबाट अलग राख्नुपर्छ र न्यायिक नेतृत्वले कडा अनुसाशनात्मक कारबाही गर्न सक्नुपर्छ । न्याय क्षेत्र सम्मानित र विवादरहित र पारदर्शी हुनुपर्छ । मातृका भन्छन्, ‘वरिष्ठ अधिवक्ताका हैसियतले काम गरिरहेको छु । यसै क्षेत्रले मलाई यो पहिचान र सम्मान दिएको हो, मैले सकेको योगदान गर्नुपर्छ भन्ने लागेको छ । हाम्रो भूमिका एक व्यवसायीको मात्र नभई सामाजिक अभियन्ताको रूपमा पनि हुनुपर्ने हो । थप संस्थगत प्रयासको जरुरी छ ।’

राजनीतिलाई उनी सम्पूर्ण नीतिहरूको नीति हो भन्छन् । ‘यही नीति विषाक्त बनाइएकाले, नेपाली कांग्रेसजस्तो पार्टी जसको लक्ष लोकतन्त्रभन्दा बाहेक केही छैन त्यही पार्टी चरम अलोकतान्त्रिक, भ्रष्ट, सिद्धान्तविहीन, कार्यदिशाविहीन, क्रमशः पतनको बाटोमा अग्रसर भएको, कम्युनिष्ट पार्टीहरूसमेत सिद्धान्तविहीन र भ्रष्ट भएका हुँदा मुलुकले अझै कष्ठ व्यहोर्नुपर्ने अवस्था देख्छु,’ वर्तमान राजनीतिलाई हेरेर उनी यस्तो अड्कल गर्छन् ।

मातृका जीवन एक उत्सव मान्छन् । यसलाई उत्सवमय बनाई खुशी बाँढ्न र यसको सदुपयोग गर्न सक्नुपर्छ भन्ने उनको मान्यता छ । उनी आफ्नो जीवन यात्रालाई सफल ठान्छन् । आफूले न्यायाधीश बन्ने इच्छा नराखेको बताउँछन् उनी । भन्छन्, ‘मैले जीवनमा खास कुनै व्यक्तिगत लक्ष राखिनँ, संस्थागत सुशासन र विवाद समाधानको वैकल्पिक क्षेत्रमा केही योगदान गरेको छु । त्यसमा सकेको सेवा गर्दै जाने हो । खासगरी विकास र यसले निम्त्याउने विवादको समाधानका लागि केही काम गर्न जरुरी छ, त्यसमा मेरो ध्यान केन्द्रित छ । वरिष्ठ अधिवक्ता सम्मान पाइसकेँ तर मलाई पहिचान र सम्मान दिने यस न्यायिक क्षेत्रलाई उल्लेख्य सेवा दिन अझै बाँकी छ जस्तो लाग्छ ।’

सहसचिव श्रीमती लीला गड्तौला, इन्जिनियर छोरा मञ्जिल निरौला र बिबिएम, एलएलबिकी विद्यार्थी छोरी लुना निरौलाका साथ उनी अनामनगरको आफ्नै निवासमा बस्तै आएका छन् । कार्यालय पनि आफ्नै घरमा छ । ।

सबै नवोदित कानुन व्यवसायीहरूलाई धैर्यपूर्वक मिहिनेत गर्न र आफ्नै मिहिनेतमा विश्वास गर्न आग्रह गर्छन् उनी । यो यात्रामा अवरोध आए पनि धैर्य नगुमाई निरन्तर र निष्ठापूर्वक लागिरहन उनको आग्रह छ । उनी अध्यात्ममा पनि लागिपर्छन् । यस सम्बन्धमा उनको तर्क छ ‘ध्यानको अभ्यास र अध्यात्ममा विश्वासले पनि जीवन आनन्दित हुन्छ ।’ उनी आफूलाई सफल मानिस ठान्छन् । ‘पछाडि फर्केर आफैंलाई हेर्दा आनन्द आउँछ, जीवन सफल भएको ठान्दछु,’ उनी आफ्नो कुराको बिट मारे । बाँकी जीवन उनले सोचेजस्तै बनोस्, शुभकामना ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी