डा. ऋषि, मिर्गाैला बचाउ अभियन्ता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रेडियो नेपालबाट बिहान बज्ने शिव भजन सुनेपछि डा. ऋषिकुमार काफ्लेको दिनचर्या सुरु हुन्छ । जस्तै व्यस्तता भए पनि बिहान शारीरिक व्यायाम गर्न छुटाउँदैनन् । केही मिनेट पूजा कोठामा बस्न भ्याउँछन् । बिहानको खाना घरमै खाएर निकिन्छन् । हम्मेसी बेलुका आठ बजेअघि घर पुग्दैनन् । बेलुकाको केही मिनेट उनले पूजा कोठाका भगवानको सम्झनामा छुट्याएका छन् । भन्छन्, ‘बिरामीको सेवामा दिन खर्चिन पाएकोमा भगवानप्रति नतमस्तक हुन्छु र भन्छु, धन्य छु प्रभु ¤ यो अवसर प्राप्त भइराखोस् ।’

बिरामीको उपचारमा थोरै र प्रशासनिक काममा धेरै समय खर्चिनु परेको दिन ऋषिका लागि उति रुचिकर हुँदैन । उनलाई बिरामीको उपचारमा जति आनन्द आउँछ, प्रशासनिक काममा आउँदैन । उनको जीवन बिरामीको उपचारमा हो अर्को काममा किन मन लागोस् ¤

मिर्गौला रोगका विशेषज्ञ डा. ऋषि दुई ठाउँमा व्यस्त हुन्छन्–राजधानीको वनस्थलीस्थित मिर्गौला उपचार केन्द्र र धापाखेलस्थित समेरु अस्पताल । यी दुई ठाउँमा गरेर उनको दैनिक कम्तीमा १२ घण्टा बित्छ, बिरामीकै लागि । यसरी दैनिक १२ घण्टा बिरामी जाँचेर उनी थाक्दैनन् । बरू प्रशासनिक काममा यसरी व्यस्त हुनुपरेको दिन हुँदा उनलाई थकान महसुस हुन्छ । डा. ऋषि उपचार पेशा र बिरामी निको पार्न आफूले गरेका प्रयासले सन्तुष्ट छन् । आखिर जीवनको सफलता भन्नु सन्तुष्टि नै त हो ¤

अनिच्छाको टर्निङ

चिकित्सा पेशामा प्रवेश गर्नुलाई उनी आफ्नो जीवनको अनौठो ‘टर्निङ’ भन्छन् । बाबुआमाका उनी पढ्ने सन्तान थिए । मिहिनेत गरेर पढ्ने देखेपछि अभिभावकले कि डाक्टर बनाउन खोज्छन् कि त इन्जिनियर । ऋषिको सन्दर्भमा त्यस्तै भयो । गणितका जटिल समस्याहरू उनी क्षणभरमै मिलाउँथे । परीक्षामा अंक राम्रो ल्याउँथे । गणित राम्रो हुँदा इन्जिनियरिङ पढ्न सजिलो हुन्छ उनले बुझेका थिए । त्यसैले उनी इन्जिनियर बन्न चाहन्थे । गणितमा मेधावी विद्यार्थी इन्जिनियरिङमा पनि उत्कृष्ट हुन सक्थ्यो ।

उनको चाहनालेमात्रै काम गरेन । परिवारका गन्यमान्यले ‘परिवारमा एकजना त डाक्टर चाहिन्छ’ भने । उनलाई डाक्टर बन्न हौस्याए, दबाब दिए । परिवारमा हौसला र परोक्ष दबाबले उनको इन्जिनियर बन्ने इच्छा डाक्टरीतिर मोडियो ।

घरबाठ खर्च लिएर डाक्टरी पढ्ने रुचि उनलाई थिएन । मेधावी विद्यार्थी भएकाले छात्रवृत्तिमै छोरो डाक्टर पढ्न पाउँछ भन्नेमा अभिभावक ढुक्क थिए । डाक्टर बन्नुपर्छ भन्नुका पछाडि एउटा कारण थियो । हुन पनि त्यस्तै भयो, कोलम्बो प्लानअन्तर्गत उनले रूसमा डाक्टरी पढ्न छात्रवृत्ति पाए ।

उनी रूस पुगे । छात्रवृत्तिमा एमबिबिसएको पढाइ त सकियो । त्यतिलेमात्रै विशेषज्ञता हासिल हुँदैन थियो । विशेषज्ञतामा केमा भन्ने प्रश्न थियो उनका लागि । यो प्र्रश्नमा उनी धेरै घोत्लिए । आफ्नो बुद्धिकै आधारमा मात्रै निर्णय गर्न अलमल भएपछि ऋषि एक आफ्ना ‘सिनियरहरू’ अवनिभूषण र दीर्घसिंह बमकहाँ पुगे, उचित सल्लाह मागे । दुवैले नेफ्रोेलोजी पढ्न सल्लाह दिए । यसपछि ऋषि निर्णय पुगे । अनि, नेपालमा यसको विशेषज्ञ डाक्टर छैनन् यो विषय पढ्छु भन्दै प्रोफेसरसमक्ष पुगे । उनले मौका पाए अनि नेफ्रोलोजीमा विशेषज्ञता हासिल गरेर रूसबाट स्वदेश फर्के ।

बाबु ¤ के पढेर आयौ ? स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक नर्वदालाल मास्केले सोधेको सम्झन्छन् डा. ऋषि । ‘कहाँ जागिर दिउँ तिमीलाई मिर्गौलाका बिरामी नै छैनन् ।’ मास्केको यसो भनेको उनलाई अहिले भरखरै हो जस्तो लाग्छ । पैँतीस वर्षअघि मास्केको त्यो भनाइ र आजको अवस्था कति फरक परेको छ, जगजाहेर छ । मिर्गौलासम्बन्धी रोगको समस्याले गाँजेको उनले भेटेका डा. ऋषिले र तिनकै उपचारमा छन् ।

डा. ऋषिले वीर अस्पताल नजिकको केन्द्रीय छाती चिकित्सालयमा जागिर सुरु गरे । तीन महिनापछि उनी लाहान अस्पताल पुगे । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा हुँदै कान्ति बाल अस्पालमा पनि काम गरे ।

उनी मिर्गौला विशेषज्ञ भएर फर्किंदा नेपालमा मिर्गौला सम्बन्धी रोगका एकजना मात्रै विशेषज्ञ थिए, डा. पुस्करराज सत्याल । डा. सत्यालको नेतृत्वमा रहेर धेरै सिके । वीर अस्पतालमा हुँदा उनले गायक नारायणगोपाल र अन्य धेरै चर्चित व्यक्तिहरू उपचार गरे । उनले त्यहाँ सेवा विस्तारको लक्षण देखेनन् । त्यसैले वीर अस्पतालबाट राजीनामा दिए अनि २०५४ सालमा खोले राष्ट्रिय मिर्गौला उपचार केन्द्र ।

आफ्नै यात्रातिर 

धेरै चुनौती झेलेर २१ वर्षअघि राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मिर्गौला रोगीको डायलासिस सुरु ग¥यो । यो गैरसरकारी संस्थाले नेपाल सरकारलाई मिर्गौला रोगीको उपचार र समस्या पहिचानमा नजिकै रहेर सहयोग गर्दै आएको छ । संस्थाले चाहिँ सहयोग पाएन । डा. ऋषि भन्छन्, ‘सहयोग गर्ने संस्थालाई सरकारले सहयोग गरेन ।’ केन्द्रको स्थापना र यसको कामले गर्न नसकिने काम केही छैन भन्ने पुष्टि गरेको उनको भनाइ छ । ती दिन सम्झदै उनी भन्छन्, ‘केन्द्रको विस्तार र यसले पु¥याएको सेवा धेरैका लागि यो जवाफ हो ।’ बिरामीले तिरेको पैसाले घर भाडादेखि कर्मचारी, डाक्टर र प्रशासन खर्चसमेत धान्नु सजिलो होइन तर सम्भव बनाउनु सबैभन्दा ठूलो कुरा हो । सरकारलाई अञ्चल अस्पतालमा समेत डायलासिस सेवा पु¥याउन हम्मेहम्मे परेको छ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले, चितवनको रत्ननगर अस्पताल, दमौली जिल्ला अस्पताल, विराटनगरको मुल्छा अस्पतालमा डायलासिस सेवा दिएको छ । रामेछापमा छिट्टै सुरु हुँदैछ । यसैगरी छ महिनपछि लुम्बिनीमा पनि सुरु हुँदैछ । प्रदेश दुईमा डायलासिस सेवा सुरु गर्ने अस्पतालमा छनोटका लागि छलफल चल्दैछ ।

जिल्ला–जिल्लामा डायलासिस सेवा उपलब्ध हुँदा बिरामीलाई राहत भएको महसुस गरेका छन् डा. ऋषिले । उपचारका लागि काठमाडौं धाउन नपर्दा बिरामी खुशी हुन्छन् । ‘डाक्टर सा’ब घरकै भात खाएर उपचार गर्न पाइयो’ भन्दै सन्तोषको सास फेर्छन् । यस्तो सुविधाले बिरामीलाई सन्तोष भएकै छ, आफूले त्यति काम गर्न सकेकोमा डा. ऋषि पनि सन्तोषको सास फेर्छन् ।

जिल्लाका ती अस्पतालमा डयलासिस सेवाका लागि त्यहीका चिकित्साकर्मीलाई तालिम दिने गरेका छन् । डा. ऋषि भन्छन्, ‘हाम्रो एक आँखा जिल्लाका ती अस्पतालहरूमा हुन्छ, डायलासिस सेवा प्रदान गर्ने अस्पताललाई हाम्रो एउटा आँखा हुन्छ ।’ प्रत्येक जिल्लाका मिर्गौला रोगीले स्थानीय तहमै डायलासिस सेवा पाउनुपर्छ भन्ने उनको मान्यता छ । यही मान्यताअनुसार सकेको योगदान गर्दैछन् डा. ऋषि । सरकारले केन्द्रसँग मिलेर दश वर्षे कार्ययोजना बनाउने हो भने मिर्गौला रागीलाई राहत पुग्ने उनी बताउँछन् ।

दैनिक दश हजार पाइला 

मिर्गाैलाका बिरामी बढ्दै गएको देखेर अचेल डा. ऋषि कताकता आत्तिन थालेका छन् । मृगौलाका बिरामी यति बढेका छन् अब धान्न गाह्रो हुँदै गएको छ । यही दरमा बिरामी बढ्दै जाने हो भने सरकारले निःशुल्क भने पनि डायलासिस गराउन सम्भव छैन । यो अवस्था महसुस गरेर उनी ‘मिर्गौला बचाउ’ अभियानमा केन्द्रित छन् । जीवनशैली बदल्न र रोगप्रति जागरुक हुन उनी ठाउँठाउँमा प्रवचन पनि दिँदै हिँडेका छन् । उनी यतिबेला अस्पतालको कोठामा बिरामी हेरेर मात्र पनि बस्दैनन् । स्कुल, कलेज र समुदायमा मिर्गौला बचाउ अभियान लिएर हिँड्छन् । पर्याप्त पानी, व्यायाम र स्वस्थ खानाले मिर्गौला जोगाउन सकिने उनको भनाइ छ । उनको कुरा सिधा छ, ‘मध्यपान र धुमपान गर्नु भनेको मिर्गौला रोग लागोस् भनेर दरखास्त दिनु हो ।’ स्वस्थ खाना र सक्रिय दिनचर्याले मिर्गौला जोगाउन सकिने उनको भनाइ छ । स्वस्थ मिर्गौलाका लागि पर्याप्त पानी आवश्यक छ । दिनमा दश हजार पाइला अर्थात् सात किलोमिटर हिँड्नै पर्छ । यसरी उनी मिर्गौला बचाउ अभियानमा जुटेका छन् ।

हिँड्न छोडेर मिर्गौलामा समस्या निम्त्याएको बताउँछन् डा. ऋषि । शरीरलाई आवश्यकभन्दा धेरै खाना खानु र अस्वस्थ खाना खानु मिर्गौला रोगी बन्नु हो भन्छन् डा. ऋषि । फास्टफुडको प्रयोग मिर्गौला रोग लाग्नुको धेरै कारणमध्ये हो भन्छन् उनी ।

मिर्गाैला बचाउ अभियानमा डा. ऋषिकी पत्नी नीलिमाको ठूलो सहयोग छ । यो सहयोगले नै अभियान सम्भव भएको उनी बताउँछन् । पत्नीले घर व्यवहार धानेकी छन् । डा. ऋषि स्वतन्त्र भएर हिँड्न पाएका छन् । त्यसैले त उनी अभियानमा लाग्न सकेका छन् । उनीहरूका  छोरा निरिश अमेरिकामा छन् । एमबिबिएस पढ्दै गरेकी छोरी दुर्घटनामा परिन् । त्यो दुर्घटनाले उनलाई जीवनका केही पनि स्थायी छैन बोध गरायो र सेवामा बिताउन प्रेरित ग¥यो ।

२०११ सालमा रामेछापमा जन्मिएका डा. ऋषि आफ्नो सक्रियता रहुन्जेल मिर्गौलाकै लागि हुन् । भन्छन्, ‘म ऊर्जा बोकेर मिर्गाैला बचाउने अभियानमा लागेको छु ।’ उपचारमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिन आवश्यक जनचेतनाका लागि लगानी गर्नुपर्ने उनको सुझाव छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी