थाहा छैन महिला दिवस

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । सविता राई बाँसको कोक्रोेमा ६ महिनाकी छोरी बोकेर बिहीबार दिउँसो बालुवा चाल्दै गरेकी थिइन् । धेरै महिलाहरू बालुवाकै काममा थिए । बच्चालाई काखमा लिँदै उनले काम गरेर खान पनि मुस्किल हुन थालेको गुनासो पनि गरिन् । मोरङ घर भई हाल नारायणटारमा बस्दै आएकी २५ वर्षीया सविता सधैँ यसैगरी मजदुरी गरेर जीवन चलाउँदैछिन् । उनका अनुसार श्रीमान् पनि यस्तै मजदुरी गर्छन् । उनी बालुवा बोक्छन् । सवितालाई शुक्रबार मनाउन लागिएको अन्तर्राष्ट्रिय महिला दिवसबारे केही थाहा छैन । यस दिन बिदा हुन्छ भन्ने पनि थाहा छैन । उनी भन्छिन्, ‘गरिबले खानका लागि दुःख गर्नै पर्छ, कुन दिन के दिवस आउँछ मलाई थाहा हुँदैन ।’

सविताले आफूलाई महिलाको हक–अधिकारका बारेमा पनि केही थाहा नभएको बताइन् । शुक्रबार महिला दिवस मनाउनुहुन्छ कि हुन्न भनेर जिज्ञासा राख्दा उनले प्रश्न गरिन्, ‘महिला दिवस कस्तो हुन्छ ? महिला दिवसले के काम गर्छ ?’ सविताले आफूलाई कामले कहिल्यै फुर्सद नहुने र काम नगरे खान नपाउने बताइन् । उनले कुनै पनि दिवसले आफ्नो जीवनमा केही फरक नपरेको बताइन् । उनले भनिन्, ‘आफ्नो दुःख सधैँ आफैसँग, कुन दिन के दिवस आउँछ मलाई थाहा छैन ।’ उनले आफूले छेरी हुर्काउनुपर्ने र पढाएर उसको भविष्य राम्रो बनाउनुपर्ने बताइन् । उनी छोरीलाई पढाएर जागिर खुवाउन चाहन्छिन् ।

सविताकै छेउमा काम गर्दैछिन् ३५ वर्षकी धनु लिम्बु । उनलाई पनि महिला दिवसबारे केही थाहा छैन । उनको २२ वर्षको उमेरमा इलाममा बिहे भयो । पछि श्रीमान्ले छाडे । उनी काठमाडौं आइपुगिन् । उनकी पनि एउटी छोरी छन् । छोरीलाई पढाउन आफूले दुःख गरेको उनले बताइन् । छोरी अहिले तीन कक्षामा पढ्छिन् । खाने, बस्ने र छोरीलाई पढाउन पुग्ने गरी कमाउन उनले दिनदिनै काम गर्नुपर्छ । कुन दिन के दिवस पर्छ उनलाई थाहा छैन । भोलिका लागि पनि आजै काम खोज्नु पर्छ । धनुले सरकारले गरिबको दुःख नदेखेको गुनासो गरिन् । उनले महिला दिवसबारे थाहा नभएको र शुक्रबार पनि काम गर्न जानुपर्ने बताइन् । शुक्रबार मार्च ८ का दिन १०८औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । यस दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी