दशैँ, सडक र यात्रा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

दशैँमा ठूलो संख्यामा मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिन्छन् । करिब दश दिनमा २५ लाखभन्दा बढी बाहिरिने अनुमान छ । यो संख्या स्थलमार्गको मात्रै हो । सरकारले यात्रुको यति ठूलो चाप व्यवस्थापन गर्न अग्रिम टिकट बुकिङ, बस थप लगायतका उपयाहरू अवलम्बन गर्छ । अग्रिम टिकट बुकिङ भइसकेको छ । यातायात व्यवसायीहरूले बस थप्ने तयारी गरेका छन् । दशैँका लागि सरकारले रुट परमिट लिन नपर्ने व्यवस्था गरेको छ । जसरी पनि जानुपर्ने बाध्यात्मक अवस्थामा हुने भएकाले यात्रुका समस्याको सुनुवाइ भने निकै कम हुने गरेको छ । यात्रुहरू पनि टिकट पाउनु नै ठूलो ठान्छन् ।

यात्रा सुरक्षामा अनेक पक्षहरू जोडिएका हुन्छन् । हाम्रा सडकको हालत उति राम्रो छैन । पहाडी क्षेत्रका धेरै सडक साँघुरा र अव्यवस्थित छन् । पर्याप्त मर्मतसम्भार छैन । तराई क्षेत्रका सडकमा पनि मर्मतसम्भारको अभाव छ । यिनै सडकमा दशैँमा ठूला साना सबै खालका सवारीसाधनको चाप हुन्छ । रुट परमिटसमेत नलिई थपिने बस कस्तो अवस्थाको छ, खचाखच यात्रु बोकेर लामो दुरी तय गर्न सक्छ कि सक्दैन भन्ने जाँच ओझेलमा पर्छ । यही समयमा चालकले बढी समय काम गर्नुपर्छ । चालकको अनुभव खोज्ने अवस्था पनि हुँदैन । लामो दुरीमा दुई जना चालक अनिवार्य भनिएको भए पनि पालना भएको हुँदैन, पालना गर्न नसक्ने अवस्था हुन्छ । यात्रा गर्नै पर्ने बाध्यताका कारण नियामक निकाय बेवास्ता गर्नुपर्ने अवस्थामा पुग्छ ।

तीव्र गति र उछिनपाछिन सधैँको समस्या हो । यात्रुको चापका कारणले समयमै गन्तव्यमा पुग्ने र फर्किने हतारो परेकै हुन्छ । यस्तो अवस्थामा नियमनमा कडिकडाउ हुनुपर्नेमा ठिक विपरीत अवस्था सिर्जना हुन्छ । यो चाप यातायात व्यवसायीहरूका लागि अलिक बढी आर्जन गर्ने मौका पनि हो । यात्राको चाप व्यवस्थापनकै कारण नियमन कमजोर हुन्छ । यो सबै अवस्थाको सोझो असर यात्रा सुरक्षामा पर्छ । सबैभन्दा बढी प्राथमिकता हुनुपर्ने सुरक्षा नै ओझेलमा पर्न जान्छ । यसले दुर्घटनाको सम्भावना बढाउँछ । जसरी पनि गाडी चढ्न पाउनुमात्रै ठूलो कुरा होइन, सुरक्षित यात्रा मुख्य हो ।

यात्रा सुरक्षित होस् भन्नेमा सबै पक्षको ध्यान जान आवश्यक छ । यातायात व्यवसायीले गाडीको अवस्था, चालक र अन्य अनिवार्य पक्षमा ध्यान दिनुपर्छ । नियामक निकाय अनुदार हुुनु हुँदैन तर यात्रामा जानजान जोखिम हुनेगरी उदार बन्नु पनि उचित हुँदैन । सडकको अवस्था रातारात सुधार हुने होइन तर धेरै खराब भएका ठाउँमा मर्मत गर्नुपर्छ । यस्ता ठाउँहरूमा अनुगमन र चेकजाँचमा कडाइ गर्नुपर्छ । गति नियन्त्रण गर्न लागि प्रभावकारी उपाय अपनाउनुपर्छ । खराब सडक तथा लापरवाहीका कारणले दुर्घटना हुन नदिन आवश्यक सबै उपाय अवलम्बन गर्न सबै नियामक निकाय सचेत रहनुपर्छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी