दुई महिनामै दुई खर्बभन्दा बढीको व्यापारघाटा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । पछिल्लो समय निर्यातमा सुधार देखिए पनि आयातमा उच्च वृद्धिका कारण व्यापारघाटा थप चुलिँदै गएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा ४१.२ प्रतिशतले विस्तार भई २१७ अर्ब ६५ करोड पुगेको छ भने निर्यात आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७५÷७६ को दुई महिना अर्थात् भदौससम्ममा कुल वस्तु निर्यात ८ प्रतिशतले वृद्धि भई १४ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ १३.६ प्रतिशत, चीनतर्फ ११.४ प्रतिशत र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दन्त मञ्जन, लत्ताकपडा, जुसलगायतको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिनालगायतको निर्यात घटेको छ । कुल वस्तु आयात ३८.५ प्रतिशतले बढेर २३२ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको थियो । भारतबाट ३८.९ प्रतिशत, चीनबाट १३.२ प्रतिशत र अन्य मुलुकबाट ५५.२ प्रतिशतले आयात बढेको छ ।

पेट्रोलियम, हवाइजहाज पार्टपूर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपूर्जालगायतको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, सिमेन्ट, स्वास्थसम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपूर्जा, यातायातका साधन तथा पार्टपूर्जालगायतको आयात घटेको छ ।

रेमिट्यान्स वृद्धि

रेमिट्यान्स आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई १५४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद् ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई १७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो संख्या ७.२ प्रतिशतले घटेको थियो । चालु खाता एवं शोधनान्तर स्थिति वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड थियो ।

अघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड थियो । अमेरिकी डलरमा सोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।

मूल्यवृद्धि ३.९ प्रतिशत

भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दबाब सिर्जना हुन गएको हो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १.८ प्रतिशत थियो । खासगरी दलहन तथा गेडागुडी, तरकारी एवं चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेयपदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको राष्ट्र बैंकले जनाएको छ ।

गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.७ प्रतिशत थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवम् कपडा तथा जुत्ताचप्पललगायत वस्तु तथा सेवाको मूल्य बढेका कारण समग्र गैरखाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको हो । मूल्यवृद्धिदर पहाडमा ५.० प्रतिशत, तराईमा ३.७ प्रतिशत, हिमालमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ३.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, हिमालमा ५.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत थियो ।

नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ३.८ प्रतिशत छ । अघिल्लो वर्षको सोहीअवधिमा नेपालको मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको थियो । भदौ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत थियो । खासगरी पेट्रोलियम, आधारभूत धातु तथा कपडाको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको बताइएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी