निर्मला हत्या प्रकरणबारे संसद्मा प्रश्नको ओइरो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको शान्ति–सुरक्षा कमजोर भएको भन्दै सरकारको आलोचना गरिरहेका बेला प्रतिनिधिसभामा सांसदहरूले गृहमन्त्री रामबहादुर थापासँग विभिन्न प्रश्न गरेका छन् । प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरूले उठाएका हरेक प्रश्नको जवाफ मन्त्री थापाले दिए । सांसदहरूले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण, देशको शान्ति–सुरक्षा, प्रहरीद्वारा विभिन्न समयमा गरिएका ‘इन्काउन्टर’ लगायतका विषयमा गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । उनले सरकार, गृहमन्त्रालय र प्रहरीको भरपूर बचाउ गर्दै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा नचलाइनुको कारण र देशभर बढिरहेका हत्या, हिंसा रोक्न सरकारले गरिरहेको पहलका बारेमा प्रश्न गरेकी थिइन् । ‘निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा किन नचलाइएको हो ? देशभरि बढिरहेका हत्या, हिंसा कहिले रोकिन्छन् ?’ उनले गृहमन्त्री थापालाई प्रश्न गरिन् ।

जवाफमा गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणलाई पाशविक हत्या र जघन्य अपराध भएको बताउँदै हत्या प्रकरणको अनुसन्धान जारी रहेको बताए । ‘सरकार यो विषयमा अत्यन्त गम्भीर पनि छ । अनुसन्धानको कार्य अघि बढिरहेको छ,’ सदाबहार जवाफ दिँदै उनले भने, ‘अपराधसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई राज्यले कुनै छुट दिन सक्दैन । अपराधीलाई कानुनको कठघरामा ल्याइनेछ । हामीले अनुसन्धानलाई तीव्रगतिमा अघि बढाइरहेका छौं ।’ कांग्रेसकै अर्का सांसद देवेन्द्रराज कँडेलले गत साउनमा भक्तपुरको काँडाघारीमा भएको अपहरण घटनासँग सम्बन्धित ‘इन्काउन्टर’ बारे प्रश्न गरेका थिए । गत साउन २१ गते काँडाघारीमा अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको थियो । अपहरण र हत्यामा संलग्नलाई गोली हानेर मारिएको उक्त घटनालाई ‘फेक इन्काउन्टर’ भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।

गृहमन्त्री थापाले काँडाघारीमा भएको ‘इन्काउन्टर’ का बारेमा यसअघि पनि सरकारका तर्फबाट स्पष्टीकरण दिइसकेको भन्दै अपहरणकारीले प्रहरी टोलीमाथि पेस्तोल निकालेर आक्रमण गर्न खोजेको र आत्मरक्षाका लागि गोली चलाउँदा उनीहरूको मृत्यु भएको दाबी गरे । उनको जवाफबाट सन्तुष्ट नभएपछि सांसद कँडेलले फेरि प्रश्न गर्दै भने, ‘मेरो प्रश्न के हो भने कुन पेस्तोलबाट कति दूरीबाट फायर भएको थियो र प्रहरीबाट जवाफी फायर भयो ? त्यहाँ अपहरणकारीबाट फायरिङ भएको छैन । उसको घुँडाभन्दा मुनि हानेर पनि समात्न सकिन्थ्यो । पक्राउ गरिएको भए अपहरणको कारण खुल्थ्यो ।’

प्रत्युत्तरमा गृहमन्त्री थापाले कुन पेस्तोलबाट कति दूरीबाट अपराधीलाई प्रहार गरियो भन्ने बारेमा आफूलाई यकिन जानकारी नभएको र प्रहरीमाथि घरेलु पेस्तोलबाट आक्रमण भएको जिकिर गरे ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने भए पनि पछिल्लो समयमा ठाउँ–ठाउँमा ‘इन्काउन्टर’ भइरहेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे, ‘यी इन्काउन्टरको आदेश कसले दिन्छ ?’ खाँणको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘अपराधीको खोज गर्दै जाने क्रममा यदि अपराधीद्वारा प्रहार गर्ने सम्भावना छ भने प्रहरीले पहिले प्रहार गर्न सक्छ । कानुनी रूपमा पनि यो व्यवस्था छ । यस्तो अवस्थामा माथिबाट आदेश दिइरहनु पर्दैन ।’

कांग्रेस सांसद गगन थापाले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका अपराधीलाई रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममा ‘पाँच दिनभित्र हत्याराबारे सरकारले जानकारी गराउने’ दाबी गर्दै दिन गनेर बस्न भनेको स्मरण गराउँदै प्रश्न गरे, ‘यसबारेमा गृहमन्त्रालय जानकार छ, छैन ? आफ्नै सरकारका मन्त्रीको यो भनाइलाई गृहमन्त्रीले कसरी लिनुभएको छ ?’

जवाफमा गृहमन्त्रीले रक्षामन्त्रीले सार्वजनिक रूपमा भनेको कुराका बारेमा आफू अनभिज्ञ रहेको बताए । ‘उहाँले के भन्नुभयो, ठोस जानकारी मलाई छैन । ५–१० दिनभित्रै अपराधी कठघरामा आउँछ भन्नुको मतलब छिटै अपराधी कानुनको कठघरामा ल्याइने छ भन्ने स्पिरिटसहित भन्नुभएको होला,’ रक्षामन्त्रीको भनाइलाई बचाउ गर्दै उनले जवाफ दिए ।

कांग्रेसकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला हत्या प्रकरणका अपराधी समात्नेभन्दा पनि अपराध भयो न्याय चाहियो भनेर अनशन बसेकाहरूलाई विभाजित गर्ने, यो छोड्यौ भने यस्तो पाउँछौ भनेर प्रलोभन दिने र धम्क्याउने कार्यप्रति गृहमन्त्रीको के जवाफ छ ? भन्दै प्रश्न गरे । ‘जो अनशनमा बसेका छन् वा यो प्रकरण न्यायको निम्ति जसले आन्दोलन गरिरहेका छन्, उनीहरूलाई धम्क्याउने गरेको भन्ने सूचना गृह मन्त्रालयसँग छैन । आन्दोलन जनताको अधिकार हो,’ जवाफमा थापाले भने, ‘पीडितले न्यायको निम्ति आवाज उठाउन सक्छन् । गृह मन्त्रालयसँग सम्बन्धित कुनै पनि निकायहरूले आन्दोलनकारी, अनशनकारीहरूलाई धम्क्याएको भए गृह मन्त्रालयले छानबिन गर्छ । तर अहिलेसम्म त्यस्तो सुन्नमा आएको छैन ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न नपाउने र पहुँचवालाहरूको लागि मात्र शान्ति सुरक्षा हुने प्रवृत्तिका बारेमा स्पष्ट पार्न गृहमन्त्रीलाई आग्रह गरे । जवाफमा गृहमन्त्रीले राज्यको दायित्व र जिम्मेवारी सानो ठूलो सबैलाई सुरक्षा दिने भएको जिकिर गर्दै सरकारबाट त्यस्तो विभेद नभएको दाबी गरे ।

राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले गृहमन्त्रीबाटै प्रारम्भमा सूचना दिने क्रममा अपराधी पत्ता लागिसकेको अभिव्यक्ति आए पनि अहिलेसम्म निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसक्नु राज्यको कमजोरी भएको बताए । ‘अनुसन्धान प्रक्रिया नटुंगिदै शंकास्पद व्यक्ति पक्राउ गर्दैमा अपराधी पत्ता लागिसक्यो भनेर प्रचार गरियो । फौजदारी मुद्दामा प्रहरीसमक्ष साबिती बयान दिँदैमा ऊ दोषी हुँदैन, प्रमाणले त्यसलाई सावित गर्नुपर्छ । यस्तो कच्चा सूचना राज्यको तर्फबाट आयो,’ उनले भने ।

गृहमन्त्री थापाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले दिएको सूचनाका आधारमा आफूले निर्मला हत्या प्रकरणका बारेमा सदनलाई जानकारी गराएको जवाफ फर्काए । ‘सुरुमै दुई संदिग्ध व्यक्ति पक्राउ परेका थिए । उनीहरूले साबिती बयान दिएका थिए । पछि अरु टेस्ट र छानबिनमा प्रमाणित नभएकाले उनीहरूलाई मुक्त गरिएको थियो,’ उनले भने ।

अर्की सांसद सुजाता परियारले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानले पूर्णता पाउने समयावधि र वास्तविक हत्यारा पत्ता लाग्ने समयका बारेमा प्रश्न गरिन् । जवाफमा गृहमन्त्री थापाले अपराधीलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध भएर प्रयास गरिरहेको बताए । ‘हामी प्रयासरत छौं । अनुसन्धान गर्दै जाँदा यसले लामो समय लिन पनि सक्छ,’ थापाको जवाफ थियो, ‘विश्वभरि हेर्नुभयो भने कतिपय अपराध तुरुन्तै कानुनको कठघरामा ल्याउन सकिँदैन । तर राज्यको प्रतिबद्धता छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउने भन्ने हुन्छ । यो प्रयास हामीले गरिरहेका छौं ।’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी