नेपाली क्रिकेटको ऐतिहासिक फड्को

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुई ऐतिहासिक सफलतामात्रै हात पारेको छैन, वर्षौदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमानसमेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्ररूप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेट नेतृत्वविहीन अवस्थामा छ ।

क्रिकेट संघ निलम्बनकै अवस्थामा गत वर्षमात्र एकदिवसीय मान्यता पाएको नेपालले अहिले एकदिवसीय शृंखला नै जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।

आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । शृंखला १–१ को बराबरीमा सकिएको थियो ।

क्यानको विवाद तथा नेतृत्वविहीन अवस्थामा पनि नेपालले दुई ऐतिहासिक उपलब्धि हासिल गर्नु गर्वको विषय भएको राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास बताउँछन् । क्यान विवाद समाधान गर्दै पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उनी बताउँछन् ।

‘नेपालले एकदिवसीय मान्यता पाएपछि र एकदिवसीय शृंखला नै जितिसकेपछि अब नेपालमा पनि एकदिवसीय शृंखला खेल्नसक्ने पूर्वाधारको आवश्यकता छ, कीर्तिपुरको एउटा मैदानले कहिलेसम्म नेपाली क्रिकेटलाई धानिरहने ?’ उनले प्रश्न गरे ।

‘आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटले विकासमा नेतृत्वदायी भूमिका खेलोस्’ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले धारणा राखे ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको हेरचाहलगायतमा ध्यान जानु जरुरी रहेको बताउँछन् । क्रिकेटको विकासका लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्नेमा उनको जोड छ ।

आइसिसीको सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्षमात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो । सन् १९८८ मा आइसिसीको अफिलियटेड सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियोे । नेपालले अघिल्लो वर्ष मार्चमा भएको विश्वकप छनोटको आठभित्र अटाउँदै एकदिवसीय मान्यता पाएको हो ।

२०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकविनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटको व्यवस्थापकीय पक्ष सबै आइसिसीले हेर्दै आएको छ । निलम्बन फुकुवाको विषयमा लामो समयदेखि पहल सुरु भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

‘आइसिसीले निलम्बन फुकुवाका लागि सर्वोच्चको अदालतमा दायर गरेको मुद्दा फिर्ता लिनुपर्ने शर्त हामीले पूरा गरिसकेका छौँ, फेबु्रवरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्बन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ,’ निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने ।

विस २०७२ मा राखेपले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइीससीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी