नेपाल र कतारबीच सहमतिमा हस्ताक्षर

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कतार । नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन मंगलबार उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहदानी बाहकलाई प्रवेशाज्ञाविना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीले उक्त सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरेका थिए ।

तालिम दिन नेपालमा कार्यालय

नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आप्mनो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीपमूलक तालिम दिनेछ । त्यसैगरी सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनोट, स्वास्थ्य परीक्षण र बिमा लगायत एकीकृत सेवा प्रदान गरिने छ ।

राष्ट्रपतिसँगै कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच यस विषयमा मंगलबार छलफल भएको छ । कतारमा ठूलो संख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताए ।

राष्ट्रपति–अमिर भेटवार्ता

मंगलबार नै  राष्ट्रपति भण्डारी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको थियो ।

यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा सँगै रहेका परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार नेपाल र कतारका राष्ट्राध्यक्षहरूको बीचमा नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमा समेत सकारात्मक छलफल भएको छ ।

हाल कतारमा ४ लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।

दिवाभोजमा सरिक

राष्ट्रपति भण्डारी कतारका अमिर थानीले मंगलबार आयोजना गरेको दिवाभोजमा सरिक भएकी थिइन् । कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा दिवाभोजको आयोजना गरेका थिए । राष्ट्रपति भण्डारी चारदिने भ्रमणका लागि सोमबारदेखि कतार भ्रमणमा रहेकी छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी