नेविसंघको उमेरहदले भाँडभैलो, असन्तुष्टहरू आन्दोलनको तयारीमा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेविसंघमा ३२ वर्ष उमेरहद तोकेपछि कांग्रेसको शीर्षतहमा विवाद चुलिएको छ । शीर्षनेताहरू समेत आपसमा विभाजित भएका छन् । पार्टीको आगामी महासमिति बैठकसमेत यसैका कारण प्रभावित हुने अवस्था उत्पन्न भएको छ । पार्टी केन्द्रीय समितिको बहुमतको आधारमा त्यो पनि मध्य राति पेलेर नेविसंघमा ३२ वर्ष उमेरहद तोकिएको भनेर एकथरीले आरोप लगाउँदै आएका छन् । केन्द्रीय कार्यसमितिकै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको यो निर्णयसँगै नेविसंघको महाधिवेशनको सम्भावना टरेको छ ।

नेविसंघको वर्तमान केन्द्रीय समितिले सर्वसम्मत रूपमा विधान पारित गरेको थियो । नेविसंघ हेर्ने डा प्रकाशशरण महत संयोजक रहेको पार्टीको निर्देशन समितिले नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान खारेज गरी ३२ वर्ष उमेरहदसहितको विधान पेस गरेको थियो । नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान कांग्रेस केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न नदिई एकतर्फी रूपमा आफ्नो विधान पास गरेको अर्को पक्षको आरोप रहेको छ । नेविसंघको महाधिवेशनमा आफ्नो पक्ष पराजित हुने निश्चित भएपछि देउवाले यस्तो निर्णय गरेको उनीहरूले जनाएका छन् ।

पछिल्लो समय पार्टीको भ्रातृ संगठनमा देउवा पक्षको पकड गुम्दै गएपछि नेविसंघमा उमेरहद लगाइएको असन्तुष्टहरूको तर्क छ । अब नेविसंघमा तदर्थ समिति गठन गर्ने तयारी रहेको स्रोतले बताएको छ । नेविसंघको महाधिवेशन पत्येक दुई वर्षमा हुनुपर्नेमा वर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महरले महाधिवेशनको प्रारम्भ नै नगरेकाले पार्टीले महाधिवेशनको लागि भन्दै थप तीन महिना म्याद थप गरेको थियो । अध्यक्ष महरले कात्तिक १६, १७ र १८ गते काठमाडौंमा महाधिवेशन गर्ने भनि मिति तोकेका थिए । तर, त्यो समय पनि महाधिवेशनको प्रारम्भ नै नगरी समय गुजारिएको थियो । विजयकुमार गच्छदार समूहलाई मिलाउने भनी पन्ध्रजना विधान विपरीत मनोनीत गरेर राजनीतिक सहमतिको वातावरण र महाधिवेशनको वातावरण बिगारिएको नेता पौडेल पक्षका विद्यार्थी नेताको आरोप छ ।

महाधिवेशन गर्न थपिएको तीन महिना म्याद आगामी मंसिर २ गते सकिदैंछ । विधानमा व्यवस्था भए बमोजिम आगामी मंसिर २ गतेबाट नेविसंघ केन्द्रीय समिति स्वतः भंग भई नयाँ तदर्थ समिति बन्नेछ । नेविसंघमा उमेरहद लागेसँगै हजारौं नेविसंघका नेताहरूले आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । उमेरहद लागेसँगै आक्रोशित रूपमा बाह्रौं महाधिवेशनका अध्यक्षका प्रत्यासी मोतिलाल भण्डारीले लोकतान्त्रिक पार्टीमा उमेर लगाएर पार्टीले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै आफूहरू आन्दोलनमा उत्रिने जनाएका छन् । नेविसंघको बाह्रौं महाधिवेशनमा अध्यक्षमा देउवा पक्षबाट सरोज थापा, आनन्द त्रिपाठी त्यसैगरी पौडेल पक्षबाट मोतिलाल भण्डारी, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ र सिटौला पक्षबाट कुन्दन काफ्ले र युवराज पाण्डेले दाबी गर्दै आएका छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी