न्याय माग्न कहाँ जाऊँ सरकार ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

समाज दिनाँनुदिन आक्रान्त बन्दैछ । हत्या हिंसा र बलात्कारका घटना झनझन बढ्दै छन् । न्याय नपाएर जनता सडकमा उत्रिएका छन् । सरकार कानमा तेल हालेर बसेको छ भन्दा अतिसउक्ति नहोला । छोरीचेलिको मर्यादा, सुरक्षा र सम्मानका लागि सरकारले गम्भीर रुपमा नहेरेको सडकको आवाज छ । घटना बारम्बार दोहोरिन्छ, बालिकाहरुको ज्यान गुम्छ, तर अपराधि खुलेआम हिड्छ, किन ? महिला पनि आफ्नो दैनिकीमा निर्धक्क साथ हिड्न पाउने समय कहिले आउला सरकार ?

पछिल्लो केही समय यता दिनहुँ  अपहरण, हत्या र बलात्कारका घटना घट्दै गइरहेका छन् । घर, आँगन, पाँखा, पखेरा, जंगल, खोला, खाजा खाने होटल सार्वजनिक यातायात गाउँ देखि सहरसम्म बलात्कारका घटना बढिरहेका छन् ।  आखिर पुरुष किन यसरी कठोर बनिरहेका छन् ? समाज किन यसरी आततायी बनिरहेको छ ?

कतिपय स्थानका बलात्कार तथा हिँसाका घटनाहरु बाहिर आउँदैनन् । समाज अनि परिवारबाटै यसप्रकारका घटना ढाकछोप पारिन्छ । सञ्चारमाध्यमको पहुँच पुगेका स्थानमा यस प्रकारका घटनाहरु सार्वजनिक हुने गरेका छन् ।  गरिब र सोझा साझा जनताको घरमा घटेका कयौँ घटना त्यहि समाप्त हुन्छन् । त्यसप्रति राज्यले कुनै चासो देखाउँदैन । जो व्यक्ति दोषी छ । उ यहि समाजमा खुलेआम हाँसेर हिड्छ । अप्रत्यक्ष रुपमा उसले प्रशासनलाई चुनौति दिइ रहेको हुन्छ । उसलाई कसैले समात्न सक्दैन, किनकि ऊ पहुँचवाला हुन्छ । यहाँ जसकोे पहुँच छ, त्यसले जे गर्दा पनि हुन्छ भन्ने एक खालको मनोवृत्ति जनमानसमा परिसकेको छ । किनकि, पछिल्ला केही समय यता घटनामा दोषी अझैँ पहिचान भएको छैन ।

करिब साढे तीन महिना अघि कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको । साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला अबेर सम्म घर नर्फकेपछि उनकी आमा उनलाई खोज्न सारा गाउँ डुलिन । छोरीको साथी भनिने, रोशनी बम र उनकी दिदी बबिता बमका घरमा पनि पुगिन् । निर्मला त्यही गएकी थिइन् । तर फर्किनन् । छोरी नभेटिएपछि निर्मलाकी आमाले तुरुन्त प्रहरीलाई खबर गरिन् ।प्रहरीले सुरुमा उनको कुरालाई ध्यान दिएन । अहिले राति भइसक्यो भोलि आउनु भन्दै पन्छायो । खोजीकै क्रममा लाश भोलिपल्ट बिहान उखुबारीमा फेला प¥यो । प्रहरीले यो घटनामा एकदमै हेलचक्राई गरेकै हो भन्ने कुरा आमजनताले भनिरहकै पनि छन् । घटनाको तत्काल कुनै अनुसन्धान हुन सकेन । घटना घटेको केही समयपछि मानसिक सन्तुलन बिग्रिएको एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले जबरजस्ती बलात्कार पछि हत्या गरेको स्वीकार गर्न लगायो । कञ्चनपुरका स्थानीयले उठाएको आवाज अनुसार उनी दोषी थिएनन् । अन्तत्वगत्वा प्रहरी दोषि अभियोग लगाएको दिलिपसिँह विष्टको डिएनए परीक्षण मेल नखाएपछि उनी निर्दोष सावित भए ।

कञ्चनपुरवासीले दिनहुँ आन्दोलन, जुलुस गरिरहे । तत्काल निर्मलाका लागि न्याय दिन राज्यले कुनै संयन्त्र अपनाउन सकेन । जसको फलस्वरुप प्रहरीको गोलिबाट अर्को १७ वर्षिय युवकको मृत्यु भयो । कञ्चनपुरमा आन्दोलन झन चर्किदै गयो । स्थानीयको चाहना निर्मलाले न्याय पाउनु मात्र नभई निर्मला जस्ता हजारौँ चेलीले न्याय पाउनु थियो । तर, यत्तिका समयसम्म पनि त्यो पुरा हुन सकेन । देशभरि नै निर्मलाहत्या काण्डले ठुलो रुप लियो । निर्मलाका बाबुआमा एक अधिकारकर्मीका साथमा न्यायकोे ढोका ढक्ढकाउँदै राजधानीसम्म आए । उनीहरु काठमाडौं आएपछि फेरि आन्दोलन सुरु भयो र राजधानीको माईतीघर मण्डलामा दीप प्रज्वलन पनि गरियो । त्यसपश्चात छोरीका लागि न्यायको भीख माग्दै उनीहरु गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कहाँ पुगे । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेर आफ्ना ज्ञापन पत्र बुझाए ।

न्याय नपाएसम्म निजीनिवास नफर्कने भन्दै राजधानी आएका उनीहरुलाई सरकारको जफाव थियो, ‘निर्मला सिंगो नेपालकी छोरी हो, हामी सक्दो छिटो न्याय दिलाएरै छोड्छौँ ।’ झिनो आशा बोकेर कञ्चनपुर त गए । तर, त्यो आशा फेरि पनि निराशामा परिणत भयो । सडक र सदनमा निर्मला हत्याकाण्डको विषय उठान नभएको पनि होइन । तर, सरकारले यसप्रति कुनै आपत्ति देखाएन । एउटा निर्दोष नागरिकलाई दोषी किटान गरेर सरकारले कारवाही प्रक्रिया अघि बढाएको विषय अपराधको पराकाष्ठ नै भएको थियो । दोषीलाई जोगाउन खोज्दा र निर्दोषलाई कारवाहीमा अघि बढाउँदा नागरिकमा आक्रोश बढ्नु स्वभाविक हो ।

निर्मला हत्याकाण्ड त समाजको एउटा घटना मात्र हो । आजपनि निर्मलाजस्ता हजारौँ छोरीचेलीहरु यसरी नै बलात्कारको शिकार बनिरहेका छन् । तर, खोइ त्यहाँ राज्य पुग्न सकेको ? खोई सरकारको ध्यान केन्द्रित भएको ?

प्रधानमन्त्रीले सबैका लागि सामाजिक सुरक्षा योजना कार्यक्रममा बोल्दै भनेका थिए, ‘सरकारले सिन्को भाचेन भन्नेहरुका लागि र सरकार नदेख्नेहरुका लागि सरकार देखाउँन चाहन्छु, नागढुंगा कलंकीको सडक हेर्न जानुस त्यहाँ छ सरकार, मेलम्चीको पानी काठमाडौं आउँदैछ त्यहाँ छ सरकार ।’ तर, निर्मलाहत्या काण्ड भएको साढे तीन महिना बितिसक्यो, यो घटनाको अनुसन्धानमा किन चुक्यो सरकार ?

छोरीचेलीको मर्यादा, सुरक्षा र सम्मानका लागि सरकारले गम्भीर रुपमा कहिले हेर्छ ? बलात्कारका घटना पटकपटक दोहोरिरहँदा र एउटी निर्मलाले न्याय नपाउँदा हामी आम महिला आजसम्म शिर निहुराएर हिड्न बाध्य छौँ ।  यो भन्दा ठूलो पीडा के हुन्छ ?  अझ खुलेआम ‘म नेपाली हुँ’ भन्न पनि लाज मान्नुपर्ने भइसक्यो । हामी पनि नेपाली नागरिक हौँ । तर, खोइ हामीले यहाँ न्याय पाएको । हामी न्याय माग्न कहाँ जाने अब ?

सरकार पटकपटक फेरिन्छन् । सरकार फेरिरहँदा एजेण्डाहरुपनि परिवर्तन भइरहन्छन् तर, कानुन फेरिदैनन् र एजेण्डा कुनै कार्यन्वयन हुदैँन । न त त्यो कानुनको उचित ढंगले सदुपयोग नै भएको छ । जबसम्म नरपिचास पुरुषहरुले छोरीचेली माथि पशुको जस्तो व्यवहार गरिरहन्छन् तब सम्म महिलाहरु यो समाजमा बाँच्न गाह्रो छ ।

अपराध गर्नेलाई तत्काल फाँसी दिने या जन्मकैदको सजाय दिने हो भने बलात्कारका घटना कम हुन्थे कि ? अहिले हामीकहाँ त्यस्तो कुनै कानुन र सजाय छैन  । जसको फलस्वरुप अपराधीहरु खुलेआम समाजमा ठाडो शिर बनाएर हिडेका छन् । अनि नारीहरु लुक्दै, डर र त्रास बोक्दै बाँचिरहेका हुन्छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी