पूर्वाधार बैंकको स्थापना : ब्याजदर विवाद आफैँ मिलाउन अर्थमन्त्रीको आग्रह

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएको छ । सरकारसहित केही वाणिज्य बैंक, बीमा कम्पनी, लघुवित्त, निजी कम्पनीका साथै उद्योगी व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको बैंकको बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे ।

४० अर्ब अधिकृत पुँजी र २० अर्ब जारी पुँजी रहेको बैंकमा सरकारको १० प्रतिशत, पब्लिक लिमिटेड कम्पनीको करिब ४० प्रतिशत, निजी लगानीकर्ताको करिब १० प्रतिशत र बाँकी ४० प्रतिशत शेयर सर्वसाधारणको रहनेछ । बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर प्रचलित ऐन, कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही पूर्वाधार विकाससम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, परियोजनामा लगानी गर्न आवश्यक रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी स्रोत परिचालनलगायत कार्य गर्नेछ । सार्वजनिक,  निजी साझेदारीमा स्थापना भएको बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक, निजी क्षेत्रसँग सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बैंक २०७५ जेठ २५गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रूपमा माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरेको थियो । बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा तथा अल्पकालीन लगानीको वातावरण अन्त्य गर्न इन्फ्रास्टक्चर बैंकले भूमिका खेल्नुपर्ने बताए । उनले निजी क्षेत्रका केही गतिविधिलाई ‘अतिवाद’ भन्दै त्यस्तो अतिवाद बन्द गर्न चेतावनीसमेत दिए । ब्याजको विषयमा बैंकर्स र उद्योगी व्यवसायीबीच पाखुरा सुर्कने र सुँढ पसार्न गतिविधिलाई उनले ‘अतिवाद’को संज्ञा दिएका हुन् ।  बैंक पनि निजी क्षेत्रले सञ्चालन गरेको भन्दै उनले उद्योग वाणिज्य संघ ब्याज घटाउन माग गर्दै आन्दोलन गर्ने र बैंकर्स संघ ब्याजदर घटाउन नमान्ने प्रवृत्ति गलत रहेको बताए ।

व्यवसायीहरू ६ प्रतिशतमा कर्जा माग गर्ने, बैंक १६ प्रतिशतभन्दा कममा कर्जा दिँदैनांै भन्ने दुवै सोच अतिवादी रहेकाले उद्योग वाणिज्य वाणिज्य महासंघ र बैंकर्स संघलाई सँगै बसेर झगडा मिलाउन सुझावसमेत दिए । अर्थमन्त्री खतिवडाले १० वर्षमा बैंक तथा वित्तीय संस्थाको पुँजी ६ गुणा वृद्धि भएको, तर उद्योग व्यापार क्षेत्रमा सोहीअनुसार लगानी वृद्धि नभएको बताए । उनले पूर्वाधार विकास बैंकलाई अल्पकालीन ब्याजदरमा लडाई नगर्न आग्रह गरेका छन् । पूर्वाधार विकास बैंकलाई दीर्घकालीन प्रकृतिको स्रोत जुटाउन र लगानी दीर्घकालीन खालको गर्न निर्देशन दिए ।

गभर्नर डा. चिरञ्जीवी नेपालले लामो अन्तराल र धेरै ठूलो मिहिनेतपछि स्थापना भएको बैंकले फरकरूपमा पूर्वाधार विकासमा काम गर्नुपर्ने बताए । बैंकका अध्यक्ष अनुजकुमार अग्रवालले बैंकले नवीकरणीय ऊर्जा, पर्यटन विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधिलगायतमा विकास जोड दिने बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले आगामी दिनमा ७ वटै प्रदेशमा पुग्ने बैंकको लक्ष्य रहेको जानकारी दिए । बैंक सञ्चालक समितिका अध्यक्षमा अनुज अग्रवाल र निर्देशकका चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौडेल, मुकुन्दप्रसाद पौडेल छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी