बमजनको आश्रम आसपास उत्खनन् !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

सिन्धुपाल्चोक । प्रहरीले तपस्वीका रूपमा चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा खोजतलास तथा अनुसन्धान तीव्र तुल्याएको छ । शुक्रबार छापा मारेर आफ्नो नियन्त्रणमा लिएको आश्रममा शनिबार दिनभर प्रहरीले खोजतलास तथा अनुसन्धान गरेको छ । खोजतलासका क्रममा केही शंकास्पद बस्तु फेला परेको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धान जारी रहेका कारण विस्तृत विवरण भने सार्वजनिक गर्न नमिल्ने स्रोतको भनाइ छ ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार शंकास्पद केही स्थानमा उत्खनन् गरिएको छ । उत्खनन्का क्रममा नुनको खाली प्याकेट फेला परेको स्रोतले जनायो । हत्यापछि शव गलाउनका लागि नुन प्रयोग गरिएको हुन सक्ने भन्दै प्रहरीले नुनका खाली प्याकेट फेला पर्नुलाई अनुसन्धानको ‘प्रारम्भिक उपलब्धि’ मानेको छ ।

आश्रममा केही अनुयायीको हत्या भएको हुन सक्ने आशंकाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । बमजनको आश्रममा गएका केही अनुयायी बेपत्ता भएको उजुरीपछि अनुसन्धान थालेको प्रहरीले उनीहरूको हत्या भएको र आश्रमकै जग्गामा शव गाडेको हुन सक्ने आशंकाका आधारमा अनुसन्धान अघि बढाएको हो ।

२०७१ सालमा सोही आश्रममा रहेका मकवानपुरका सञ्चलाल वाइबाको हत्या गरी आश्रममै शव गाडेको भनेर बमजनका आश्रमबाट भागेका केही अनुयायीले मिडियामार्फत सार्वजनिक गरेपछि प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो । खाडलमा गाडेको शव गलाउनका लागि नुनसमेत प्रयोग भएको जानकारी उनीहरूले यसअघि नै मिडियामार्फत दिइसकेका थिए ।

उत्खनन्का क्रममा नुनका पोका फेला परे पनि शवको अवशेष फेला पर्न नसकेको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धान तथा खोजतलास जारी रहेको बताइएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली परिचालित छ । टोलीले आश्रममा रहेका केही व्यक्तिसँग सोधपुछसमेत गरेको जनाइएको छ ।

बमजन भने सो आश्रममा छैनन् । उनी सिन्धुलीस्थित आश्रममा रहेको र उनी रहँदै आएको सो आश्रम पनि प्रहरीको निगरानीमा रहेको बताइएको छ ।

बमजनको आश्रममा रहेका सञ्चलालसहित केही आनी (भिक्षु महिला) बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । पीडित परिवारले बमजनको आश्रममा रहेका आफन्त लामो समयदेखि बेपत्ता भएको र सोधखोजका क्रममा आफूहरू आश्रममा पुग्दा बमजनका सहयोगीहरूबाट उल्टै धम्की दिने गरिएको बताएका छन् ।

फुलमाया रुम्बा सोही आश्रमबाट बेपत्ता भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी गरेका छन् । सञ्चलाल २०७१ चैत १४ गतेबाट सम्पर्कविहीन रहेको परिवारको भनाइ छ । आफू बाडेगाउँस्थित बमजनको आश्रममा रहेको र १५ गते घर आउने जानकारी टेलिफोनमार्फत परिवारलाई गराएका उनी त्यसपछि कहिल्यै घर फर्किएनन् । फुलमाया पनि २०७१ माघदेखि बेपत्ता भएको परिवारजनको भनाइ छ । बमजनकै आश्रममा आनी बनेर बसेका अन्य केही महिलाको अवस्थासमेत अज्ञात रहेको बताइएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी