बालबालिकाको पढाइ किन कमजोर हुन्छ ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘सबै बालबालिका क्षमतावान र तीक्ष्ण बुद्धिका हुन्छन, तर यदि माछालाई रुख चढ्ने क्षमतासंग तुलना गर्नु भयो भने उसले जीवनभर आफूलाई मूर्ख र वेवकुफ ठान्ने छ । ’

एउटा रोचक प्रसङ्ग छ । एक पटक जंगलका सबै जनावरले सिंहलाई हटाएर आफू मध्येबाट राजा चुन्ने निधो गरेछन् । तर, राजा को बन्ने ? भन्ने कुरा मिल्न सकेन । सबैले आफू राजा हुन पाउनु पर्ने जीकिर गर्न थाले ।

सहमति हुन नसके पछि सबै भन्दा बुद्धिमान मानिस कहाँ जाने निर्णय गरे  । मानिसले सबैको कुरा सुने पछि एक छिन सोचे र जनावरहरु तिर हेर्दै भनेस्,  ‘कसैलाई भेदभाव नहुने गरी एउट परीक्षा लिन्छु  त्यो के हो भने ऊ ……पर रहेको रुखमा दौडदै गएर जसले पहिले रुख चढ्न सक्छ, ऊ नै जङ्गलको राजा हुन्छ ।’

सबै जनावर मन्जूर भए । सबैलाई एकै नासको परीक्षा थियो । एउटा रेखा कोरेर सबैलाई एकै ठाउँ उभिन भनियो  । मानिसले १…..२…..३..गने पछि सबै जना दौडिन थाले  । चरा, बाँदर, खरायो, हाती, गैंडा, स्याल, चितुवा, कछुवा, सर्प सबै तँछाडमछाड गर्दै दौडिन थाले । तर माछो अलमल्ल पर्यो ।  ऊ जमिनमा दौडिएर रुख चढ्न सक्दैन थियो  । जमीनमा पुग्ने बित्तिकै उसको ज्यान जान सक्थ्यो  । तर, केही नगरी बस्न पनि मन मानेन  ।

ज्यानको पर्वाह नगरी ऊ जमीनमा हाम फाल्यो श्र जमीनमा पुग्ने बित्तिकै माछोलाई सास फेर्न गाह्रो भयो  । मूर्छा परेर छट्पटिन थाल्यो । चारैतिर अँध्यारो देख्न थाल्यो । रुख भए तिर हेर्यो  । सबै जनावर अघि बढ्दै थिए  । कोही रुखको टुप्पोमा पुगिसकेका थिए  । टुप्पोमा नपुग्नेहरु फेदबाट चढ्न खोज्दै थिए  । फेदमा पनि नपुग्ने कछुवा बिस्तारै घिस्रिदै अघि बढ्दै थियो  । तर, माछो एक पाइला पनि बढ्न सकेन  ।

जीवनको अन्तिम सास लिंदै गर्दा माछोलाई आफू त संसारकै काम नलाग्ने प्राणी भएको महसूस भयो  । भगवानले पनि आफूलाई ठगेको अनुभव गर्यो  ।

सोचौं त सबै जनावरलाई रुख चढ्न लगाउनको सट्टा पोखरीमा पौडी खेल्न लगाएको भए पहिलो स्थितिमा आफूलाई संसारकै काम नलाग्ने प्राणी मान्ने माछाले के सोच्थ्यो ? के रुख चढ्न प्रथम हुनेले पौडी खेल्न माछालाई जित्न सक्थ्यो ?

यही कुरालाई हाम्रो कक्षाकोठा भित्र राखेर हेरौं  । हाम्रो कक्षाकोठामा सबै खालको क्षमता भएका विद्यार्थी छन्  । ती क्षमता उनीहरुले जन्मजात लिएर आएका हुन्छन  । कसैले सुनेर सिक्न सक्छन  । कसैले देखेर मात्र सिक्न सक्छन  । कसैले सुनेर अनि देखेर मात्र नभई आफैंले छोएर, चलाएर तथा विभिन्न गतिविधिमा सहभागी भएर मात्र सिक्न सक्छन  । त्यस्तै कसैसंग नाच्ने क्षमता हुन्छ  । कसैसंग गाउने, कसैसंग अभिनय गर्ने, चित्र बनाउने, खेल्ने लगायत विभिन्न क्षमता हुन्छ  । तर, हामीले सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर, एउटै तरिकाले पढाएर, परीक्षामा एउटै प्रश्नपत्र बनाएर विद्यार्थीको मूल्यांकन गर्ने गर्छौं  । हाम्रो मूल्यांकनमा राम्रो अंक ल्याउने सफल अनि बाँकी सबै असफल , काम नलाग्ने !!

सबैको आफ्नै विशेषता र क्षमता हुन्छ  । तर हामीले कक्षाकोठाभित्र माछालाई जबरजस्ती रुख चढ्न दवाब दिइरहेका छौं  । सर्पलाई घिस्रिन नभई जबरजस्ती दौड भनिरहेका छौं  । हातीलाई आकासमा उढ्न लगाएका छौं  । रुख चढ्न नसकेको माछा जस्तै धेरै विद्यार्थीहरु “मैले केही गर्न सकिन “ भनेर आत्मग्ल्यानीका साथमा बाँचेका छन् । मनभित्र आफैं ग्ल्यानी र हीनता लिएर बसेका विद्यार्थीलाई शिक्षक र अभिभावकले अझ तिरस्कार गर्दा, केही गर्न नसकेको भनेर गाली गर्दा उनीहरू कति विचलित बन्छन होला? सोचौं त ! आत्मविस्वास र उत्साह मरिसके पछि बालबालिकाले सिक्ने तत्परता कसरी देखाउन सक्लान ? शिक्षक तथा अभिभावकले यस कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

(घिमिरे बालमनोविज्ञानसँग सम्बन्धित सामाजिक अभियान्ता हुन्)

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी