महाअभियोग नभए भ्रष्टाचार कानुन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

घुस लिएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा भएको आर्थिक अपचलन र कलेजलाई नाफामूलक कम्पनीमा रूपान्तरण गर्नेसम्बन्धी घटनामा उनले ठूलो रकम घुस लिएको आरोप छ । आरोप प्रमाणित हुने किसिमको अडियो–भिडियो समेत सार्वजनिक भएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएपछि उनले राजीनामा दिए । लिखित राजीनामा दिएपछि पदमुक्त हुने संवैधानिक व्यवस्था छ । पदमा बहाल नरहेको अवस्थामा महाअभियोग लगाइरहनु पर्ने भएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारका घटना अनुसन्धान गर्ने र अदालतमा मुद्दा चलाउने संवैधानिक निकाय हो । यस्तो अनुसन्धानको नेतृत्व आयुक्तहरूले गर्छन् । भ्रष्टाचार गरेको ठहर भए आयोगका पदाधिकारीहरूको बैठकले निर्णय गरी मुद्दा चलाउँछ । कार्य प्रकृतिको हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निकै संवेदनशील निकाय हो । थोरै पनि चुक भए पनि दोषीले उन्मुक्ति पाउने हुन्छ । यति संवेदनशील संवैधानिक निकायका निर्णायक अधिकारी नै घुस लिएर मिलाइदिने प्रपञ्चमा लागे भने भ्रष्टाचार बढ्छ । स्थिति भयावह हुन्छ । पाठकमाथि लागेको आरोपले भ्रष्टाचारको निकै गम्भीर अवस्था चित्रण गर्छ ।

पाठकमाथि महाअभियोग दर्ता हुनुपथ्र्यो र संसदबाट निर्णय हुनुपथ्र्यो । राजीनामाले महाअभियोगको सन्दर्भ सकिएपछि पाठकमाथि कुनै कारबाही हुन्छ हुँदैन भन्ने प्रश्न उठेको छ । उन्मुक्ति पाउने आशाले होस् वा भ्रष्टाचारबोधले, पाठकले राजीनामा गरेपछि उनी ‘व्यक्ति’ भएका छन् । सार्वजनिक पद धारण गरेको अवस्थामा घुस लिएको आरोप लागेको हो । अब उनीमाथि भ्रष्टाचारको आरोपमा कानुनी कारबाही अघि बढाउन बाधा हुनुपर्ने छैन । राजीनामा गरेर उन्मुक्ति पाउने परिपाटी बस्न नदिन पनि पाठकमाथि कानुनी कारबाही अघि बढाउनु पर्छ । उनलाई आफूमाथिको अभियोग गलत सावित गर्ने अवसर पनि हुनेछ । दोषी ठहर भए सजाय भोग्नेछन् ।

घुस लिनुमात्रै होइन, दिनु पनि अपराध हो । कानुन विपरीतका काम गर्न गराउन वा कानुनअनुसार हुने काममा पनि घुस लिने–दिने घटनाहरू भएका छन् । निर्णायक तहमा बस्ने अधिकारीले आफ्नो पदलाई जसरी पनि कमाउने माध्यमका रूपमा लिए भने घुस बढ्छ, अनियमिता बढ्छ । घुस मागेका थुप्रै घटना सेवाग्राहीले नै पर्दाफास गरेका दृष्टान्तहरू छन् । दुवै पक्षका े स्वार्थ मिलेपछि भने घुस र अरू कुनै किसिमको पनि भ्रष्टाचार सहजै सार्वजनिक हुँदैन । घुस लेनदेन र अन्य ठूला भ्रष्टाचारका घटनाहरू फाटफुट बाहिर आएका  छन् ।

पाठकको घुस प्रकरणको समाचारमा सार्वजनिक भएअनुसार घटनाबारे राजनीतिक नेतृत्व र केही उच्च सरकारी अधिकारीहरू केही महिना अघिदेखि नै जानकार थिए । तैपनि समाचार नआउन्जेल किन गुपचप रहृयो भन्ने प्रश्न स्वाभाविक भएको छ । कुनै परिस्थिति परिपक्व हुन बाँकी थियो कि अरू कुनै नियत थियो भन्ने शंका पनि निवारण हुन आवश्यक छ । पाठकमाथि अब कस्तो कदम चालिने छ भन्ने कुराले परिस्थिति थप प्रष्ट पार्नेछ । पाठकको घटना त सार्वजनिक भयो । यो घटनाले गुपचुप अवस्था कति भयानक होला भनेर सोच्नै पर्ने पनि बनाइदिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी