राजदेवी

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

राजदेवीलाई सेन राजाहरूकी इष्टदेवी मानिएको छ । सेन राजाहरू शूरवीर हुनुका साथै धर्मप्रति आस्थावान् थिए । सेन राजाहरूको राजधानी रहेको मकवानपुरमा पनि राजदेवीको मन्दिर छ । शक्तिपीठ भगवती राजदेवीलाई सेनहरूकी कुलदेवी भनी प्रा. हरिकान्त दासले लेख्नुभएको छ । राजदेवीको नेपालका धेरै स्थानहरूमा स्थापित छ । सप्तरीको राजविराजमा राजदेवी प्रख्यात मानिन्छ र यसलाई शिलाको रूपमा पुजिन्छ ।

रौतहटमा पनि राजदेवी मन्दिर स्थापित छ । राजदेवी रहेको स्थानका विषयमा एउटा कथन छ । उक्त स्थानमा कटहरको बगैँचा रहेको कारण कटहरवन, कटबन्ना, कडबन्ना हुँदै अहिले आएर कटरवनका रूपमा सम्बोधन गरिँदै आएको छ । नेपालको इतिहास हेर्दा मध्यकालको शक्तिशाली राजवंशमा सेनवंशको स्थान उच्च भएको हामी पाउँछौँ । त्यसताका नेपालमा शैवतन्त्र प्रचलित थियो । यसमा तान्त्रिक विधिबाट वाममार्गी पूजाको प्रचलन थियो । राजदेवीको साथमा रहेकी काली भयङ्कर शक्तिशाली मानिन्छिन् ।

वर्णमालाको पहिलो अक्षर ‘अ’ ले शिव र अन्तिम अक्षर ‘हं’ बाट त्रिपुरसुन्दरी, यी दुवैको योग ‘अहं’ काम कलाको सूचक भएको मानिन्छ । शक्तिपीठ राजदेवीलाई संसारलाई पालन गर्ने र भौतिक जगतको सारभूत शक्तिहरूको निरूपण गर्ने देवीका रूपमा सर्वत्र पूजा गरिन्छ । दक्षिणकाली र कालीचाहिँ महाकालका आदिशक्ति हुन्, जो राग–द्वेष (सत्वगुण, रजोगुण र तमोगुण) रहित छन्, अर्थात् लाभ–हानिको परिकल्पनाभन्दा पर छन् । जसरी सबै रङ्ग कालो रङ्गमा विलीन हुने गर्दछ । त्यसैगरी काली मृत्युको प्रतीक मात्र होइन, बरु मृत्यु जित्ने प्रतीक पनि हो । काम–क्रोध, भावावेश आदिको अति उग्र प्रदर्शन काली र दक्षिणकालीक अनन्त शक्तिको द्योतक हुन् । संसारको अनन्त आकर्षण, भोग र आनन्दकी जननी सोह्रवटा कलासहितकी त्रिपुरसुन्दरी हुन् । तिनले प्रत्येक जीवलाई कामप्राप्ति हेतु प्रेरित गर्दछिन् भने बङ्गलामुखी माया, मोह र भ्रममा जीवको विजय प्रतीक मानिन्छिन् ।

जहाँसम्म रौतहट कटरवनको राजदेवीको सन्दर्भ छ, त्यहाँ मिश्र थरका ब्राहृमण पुजारी छन् र वर्तमान पुजारी चन्द्रकान्त मिश्र तेह्रौं पुस्ताका हुन् । मकवानपुरका हरिहर सेनले आफ्नो राज्यको सीमा दक्षिणमा गङ्गाको किनारसम्म पु¥याएका थिए । पूर्वमा विजयपुरसम्म त मकवानपुर राज्यका संस्थापक लोहाङ्ग सेनले नै राज्य विस्तार गरेका थिए । बागमती नदीको पश्चिमी तटमा कटहरको वन रहेको ठाँउमा सधैँ विशेष चहलपहल रहन्थ्यो ।

त्यो समयमा राज्य विस्तार गरी ‘हिन्दूपति’ उपाधि ग्रहण गरेका राजा हरिहर सेनले दक्षिणकाली, त्रिपुरसुन्दरी, काली, राजदेवी र बङ्गलामुखी यी पाँच देवीको धातुको कलात्मक मूर्ति स्थापना गरेका थिए । उनले नै कान्तिपुरकी विख्यात नृत्याङ्गना नर्मदा बाँडाको विशुद्व शैव नृत्यका लागि विशाल मण्डप मन्दिरको दक्षिणतर्फ निर्माण गरेका थिए । कान्तिपुरकी नृत्याङ्गना नर्मदाको रूप र नृत्य कुशलताको चर्चा कुच बिहारभन्दा टाढासम्म पुगेको थियो भन्ने भनाइ छ । कुच बिहारका राजा वीरनारायणका छोरीहरू रूपमती र अनन्तप्रियाको बिहे कान्तिपुरका राजा प्रताप मल्ल र हरिहर सेनसँग भएको थियोे । मकवानपुरको दरबारसँग प्रताप मल्लको राम्रो सम्बन्ध थियो । यसैमा लोकलाई थाहा भयो कि राजदेवी मन्दिर स्थापना राजा हरिहर सेनको पौरुष हो । त्यसैले जनताले मन्दिरमा पूजा गरे र प्रशंसाका साथै कृतज्ञताको दृष्टिले राजा हरिहर सेनलाई हेरे । त्यस उप्रान्त हरिहर सेनमा उन्माद छायो । उनलाई फेरि अन्य मुलुकहरू जित्न निस्किने, बाहुबल आजमाउने रौस चढ्यो । उनको विचारमा यता जनता त फगत् तमासे बनेर बस्छन् । राजाले युद्ध गर्छन्, जितेमा उत्सव मनाउँछन् । रानी अनजानमा यस्ती दासी बन्दछे र राजालाई स्वच्छन्द र स्वामी बन्नको लागि बल दिन्छे । राजा अर्थात् पुरुषले पदार्थ जित्दछ र सङ्कलन गर्दछ तब रानी अर्थात् स्त्रीले त्यो शरीर र घरमा सजाउँछे र सम्झन्छे कि यो उचित हो र उसको हक हो । यसकारण उचित छ कि राजा पुरुषार्थ देखाउन निस्कियून, जितून् र उसको संरक्षण गरून् । राजाले यो लामो चाक्लो शरीर किन पाएको हो, यो पुरुषार्थी स्वभाव किन भएको हो ?

शक्तिपीठ स्थापनाको चलनले परापूर्वकालका नारीको वीरताको कदर गर्दै वर्तमानमा नारीलाई धर्मको नाममा थान्को लगाएको न हो । मन्दिरमा पूजा गर्ने अधिकार प्रजासँग सुरक्षित रहन्छ । यसरी नै राजा हरिहर सेन दाता र बलशाली बनेका थिए । धनधान्यकी देवी बङ्गलामुखी र राजाकी देवी राजदेवीको मूर्ति पनि स्थापना गरी समग्रमा राजदेवी नामकरण गरी पूजाआजासहित पुजेरी र मन्दिरको खर्च निमित्त दुई गाउँ चिकना र कटरवनमा जग्गाको बन्दोबस्त गरी विष्णुकान्त मिश्रलाई पुजेरी नियुक्त गरिएको भनाइ छ । आज कटरवनको राजदेवीले हरिहर सेनको शक्तिको वकालत (बहस) गरिरहेको छ । मानसिक र भावनात्मक जीवनको लागि भक्तले मन्दिरमा गई प्राथना गर्ने गर्दछन् । यो सुविधा मन्दिर स्थापना गर्ने राजा हरिहर सेनलाई थिएन । मन्दिरमा राजा मानसिक र भावनात्मक तुष्टि देख्न (पाउन) सक्तैनन् । राजासँग आफ्नो अहङ्कारमात्र हुन्छ । त्यसबाट ऊ प्रतिष्ठा फैलाउनमात्र सोच्छ । जब ऊ थाकेर गलित हुन्छ तब फर्केर निर्माण कार्यमा लाग्छ । पत्नीको काख खोज्छ, स्त्रीको समक्ष जान्छ ।

राजदेवीको प्रचार सो समयमा खासै नभए पनि अहिले बढ्दो छ र भक्तहरूको मायाले सिँगारिँदै पनि छ । हरिहर सेन योद्धा र विजेता बन्ने धुनमा थिए र अविजित रहे पनि । परिणाम के हुन गयो भने उनी राजदेवीको पुजारीबाट यस तर्फको दायित्व निर्वाहको अपेक्षा राख्दथे, स्वयम् आफूले दायित्व लिने काम भने कहिल्यै गरेनन् । हरिहर सेनले राजदेवीको स्थापना गराए तर त्यहाँ पूजा गरेर बसेनन्् ।

राजा हरिहर सेन सङ्गीत प्रेमी पनि थिए । नर्तकी नर्मदाको चुल्ठोमा जडिएको मोती एउटा अथवा दुईटा अथवा दशवटा इत्यादि गन्तीको अर्थ नै थिएन । मानिस भन्दछन्, र सही नै भन्दछन् कि नर्मदाको शरीरमा रत्न जडिएको चौबन्दी चोली टम्म कसिएको हुनसक्छ । छिन्न लागेको कम्मरलाई धान्न मलमलको पटुकी आवश्यक थियो । त्यो देखेर दर्शकहरूले नर्मदालाई पत्नी बनाएर आफ्नो गृहस्थी सुम्पन पाए हुन्थ्यो भन्ने कल्पनासम्म गरे । घरदेखि बाहिर राजाले आयोजना गरेको कार्यक्रममा देखिएकी यस्ती नर्तकी पत्नी बन्न सक्दिन, अतः मनमा कुरो खेलाउनुको कुनै अर्थ छैन । पुरुष घरबाहिर घुमफिर गरिरहनु पर्छ । मानसिक र शारीरिक स्वास्थ्यको लागि पनि आवश्यक छ कि यस्तो अवस्थामा पनि स्त्री सुख प्राप्त होस् । एकदम आवश्यक छ नत्र भने लडाइँ गर्ने सिपाहीहरूको स्वास्थ्य र चित्त राम्रो रहने छैन । अतः राजा हरिहर सेनका लागि जति स्त्रीसुख अनिवार्य भयो, निवासमा स्त्रीहरू त्यति नै सेवा गर्न तत्पर थिए । समय समयमा उत्सवको आयोजना गरी सिपाहीहरूलाई पनि केलिक्रीडाको सुविधा सदा उपलब्ध गराएको बुझिन्छ ।

वीरोचित कारनामाले स्थापित राजदेवीको पूजाअर्चना पुजेरीले गरेपछि पञ्चामृत र प्रसाद वितरण गरियो । पञ्चबलीको व्यवस्था विना शूरवीरता पूर्ण भएको पक्कै पनि मानिएन होला । राजा स्वयम्ले पञ्चबली दिएर देवीलाई रक्तभोग चढाउने चलन पुरानो हो । शब्दले नयाँ पुरानो बन्दैन । आज पनि हाम्रो चलन यस्तो छ कि कर्मचारी श्रमिक भन्दा श्रेष्ठ छ । व्यवसायी उत्पादक भन्दा श्रेष्ठ छ । राजनीति सांस्कृतिक भन्दा महत्वपूर्ण छ । यसको अर्थ मूल्य मान्यतामा परिवर्तन आएको ठान्न हुँदैन । त्यहाँ नर्मदा नर्तकीको नृत्य हेर्न दर्शकहरूका गोडा नृत्यशाला तर्फ गए होलान्, यस्तो लाग्दछ कि सार्वजनिक नृत्य हुन थालेको मण्डप केही समयमै भरियो होला । हरिहर सेनकी महारानी मकवानपुर दरबारमा छिन् होलीन । र, नृत्य मण्डपमा भएकी नर्मदा सार्वजनिक हो र उसको उपयोगिता राजाका लागि त्यतिकै विस्तृत छ । शङ्खघोषका साथसाथै महाराजाधिराज, प्रजापालक, हिन्दूपति राजा हरिहर सेन नृत्य मण्डपमा मनोरञ्जनको लागि आउनु अनहोनी कुरो होइन ।

प्रजावत्सल, महापराक्रमी, धर्मरक्षक हरिहर सेनको मान कम हुन नदिन जयनाद भएको हुनुपर्छ । यस्तो जयनादमा म संस्कारिताको हानि पाउँछु । राजा हरिहर सेन त्यसबाट अछुतो कसरी रहन सक्दा हुन् । अर्थात, राजाले आफ्नो दम्भ देखाउन बागमती नदीको किनारमा, कटहर वनमा उम्दा नर्तकी नर्मदालाई नचाई छाडे । नाच गानको स्थान उच्च छ र पनि छोरीहरूलाई नर्तकी बनाउन प्रायःजसो आमाबुबाको चित्त मान्दैन । नृत्य मण्डपको वातावरण स्वर–तालको तरङ्गमा तरङ्गिन थाल्दछ । विज्ञानले आजको जस्तो चमत्कार देखाइसकेको थिएन, त्यसो हुँदा राजाप्रति जनताको अश्रद्धा थिएन ।

नर्तकी नर्मदाप्रतिको आकर्षण त राजाको दम्भले सिर्जना गरेको हो । विवाहको सुविधा त मान मर्यादा र अरू राजाको स्वीकृति विचार गर्दा सजिलो थिएन । विवाह भनेको पारिवारिक कुल–शीलकोे मर्यादा–परम्परा हो, यद्यपि अहिले शिथिल बन्दैछ । नर्मदाको कोमल पाउको हलुका प्रहारले छनछन गरी बज्ने चाँदीको घुँघुरुको आवाज खुला ठाउँमा भन्दा महलभित्र सुहाउँछ, राजाले विचार बनाए । चपल गतिमा कोमलभन्दा कोमल पाउले देखाएको करामात अन्य नर्तकीको भन्दा फरक किसिमको थियो । छक्क परेका दर्शकहरूलाई लाग्यो कि देवी राजदेवीको तर्फबाट नर्मदाले नृत्य शक्ति पाएकी छे, त्यो कला संयमसाथ देखाउँदै छे ।

मानिस आफूले सहजै गर्न नसक्ने कुरालाई धर्मसँग जोड्न पुग्दछ । वास्तवमा नेपालको परिप्रेक्ष्यमा शक्तिपीठ राजदेवीको स्थापना मौलिक हो । सेनवंशी राजाहरूको आफ्नो कुलदेवीप्रतिको प्रेमको यो अपरम्पार उदाहरण राजदेवीका रूपमा हामीसँग छ । नर्तकी नर्मदा स्थापना नृत्यको समयमा चर्चामा आएपनि राजदेवी जस्तो यति व्यापक कहिले बन्न सक्दिन । प्रेम त सबैसँग छ । महान हिन्दूपति राजा हरिहर सेनको आफ्नो कुलदेवी राजदेवी प्रतिको श्रद्धा प्रेमको शक्तिले उनको र देवीको नाम व्यापक छ अहिलेको सामाजिक संस्कृतिले उत्तरोत्तर बनाउदैछ । अर्कोतर्फ नर्तकी नर्मदाको रूपमा चुर्लुम्म डुबेका राजा हरिहर सेनले आफ्नो र निवासको शोभा बनाएको हुँदा साढु दाइ कान्तिपुरका राजा प्रताप मल्लको घृणा र द्वैषको आगोले तत्काल केही गर्न नसके पनि साटो फेर्ने ईखको बिउ भने रोपिदियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी

कमेन्ट