लगानीको वातावरण बनाउन विश्व बैंकको सुझाव

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । विश्व बैंकले नेपालमा स्थिर सरकार बने पनि अझै लगानीको वातावरण तयार हुन नसकेको जनाएको छ । बिहीबार काठमाडौंमा नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा लगानीमैत्री वातावरण बन्न नसकेको जनाएको हो । विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भएपनि नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको बताए । उनले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि नीतिगत सुधारमा जोड दिए । सन् २०२२ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति र २०३० सम्ममा मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुन स्रोत परिचालन निकै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

नेपालले मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुन निरन्तर ठूलो र दिगो आर्थिक विकास गर्नुपर्ने विश्व बैंकले जनाएको छ । सहज विद्युत आपूर्ति, राजनीतिक स्थिरता र समष्टिगत अर्थतन्त्रमा स्थायित्वका कारण नेपालले उच्च आर्थिक वृद्धि गर्न सक्ने सम्भावना भने रहेको बैंकले उल्लेख गरेको छ । आगामी पाँच वर्ष अर्थात मध्यकालीन अवधिमा नेपालले औसतमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा विश्व बैंकले औसत ५ प्रतिशतको मूल्य वृद्धिदर रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले कर तिर्ने सहज नीति बनाउन सुझाव दिएको छ । एकवर्ष अघि र अहिलेको तुलनामा करको नीतिमा धेरै परिवर्तन आएको र करकै कारण व्यवसाय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको भन्दै व्यवसायमैत्रीभन्दा पनि बढी श्रममैत्री कानुनले लगानीको वातावरण बनाउन नसकेको उल्लेख गरेको छ । आगामी दिनमा लगानी र उत्पादकत्वमा केन्द्रित हुनुपर्नेमा उक्त प्रतिवेदनले जोड दिएको छ ।

लक्षित आर्थिक वृद्धि हासिल गर्न अहिलेको प्रयास पर्याप्त नभएको बैंकले औंल्याएको छ । उच्च तहको लगानी, उत्पादकत्व र निजी क्षेत्रको गतिशिलतामा सहजीकरण गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारले लिएको लक्ष्यका लागि थप प्रयास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । बजेट खर्चको नाजुक अवस्थामा सुधार, राजस्व संकलन प्रभावकारी, पारदर्शी तथा प्रगतिशील बनाउनुपर्ने, संघीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने, वैदेशिक लगानी आकर्षित गर्न सुधार गर्नुपर्नेलगायतमा विश्व बैंकले जोड दिएको छ ।

पछिल्लो दिनमा भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिएको, प्रत्यक्ष वैदेशिक लगानीमा ३२ प्रतिशतको वृद्धि भएको, होङ्सी, शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट जस्ता वैदेशिक लगानीका उद्योगलेमात्रै ०.६ प्रतिशतको कुल गार्हस्थ उत्पादनमा वृद्धि हुने अवस्था आएको प्रतिवेदनले देखाएको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइनमा थप १०२ मेगावाट विद्युत् थप भएको, पर्यटकको आवागमनमा वृद्धि हुनु पनि आर्थिक वृद्धिका लागि सकारात्मक लक्षण भएको बैंकले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ६० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रबाट भएकाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको बताए । निजी क्षेत्रलाई आकर्षित गर्न नीतिगत सुधारका साथै व्यावसायिक वातावरण बनाउन सरकार लागीपरेको उनको भनाइ थियो । विकास र लगानीका विषयमा प्रतिवेदनको तथ्यांक केही फरक देखिए पनि श्रमिकको उत्तरदायित्वको साथै बजार नियन्त्रणलगायतका विषय सरकारले नै हेर्नुपर्ने भएकाले केही समय लागेको पनि उनले बताए । उनले भने, ‘डुइङ बिजनेस सूचक घटबढ भइरहने विषय हो । नेपालमा हालै मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक परिमार्जन भएको छ, त्यसले पनि निजी क्षेत्रलाई केही प्रभाव पारेको हुन सक्छ, तथापि हामी लोककल्याणकारी राज्यका रूपमा अघि बढिरहेका छौं ।’

अर्थमन्त्री खतिवडाले विश्वमा संरक्षणवाद पुनः उदाउन खोजेको भन्दै व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन बोल्नुपर्ने अवस्था आएको बताए । उनले विश्व बैंकको बाली सम्मेलनमा इन्डोनेसियाका राष्ट्रपतिले संरक्षणवादको वकालत गरेको उल्लेख गर्दै विश्वमा संरक्षणवाद हावी भएमा त्यसको सामना गर्न क्षेत्रीय एकता आवश्यक पर्नेमा जोड दिएका थिए । संसारभर संरक्षणवाद उदाउने तरखरमा रहेको भएपनि नेपालमा भने उड्डयन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खुला राखिएको पनि उनले स्पष्ट पारे । सो अवसरमा राष्ट्रियसभाका सदस्य डा विमला पौडेल राई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल, उद्योगी सुरज वैद्यलगायतले समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्यमा जोड दिएका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी