लैंगिक समानता आवश्यक

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

वर्ष फेरियो, समयले नेटो काट्यो, युग र चोला धेरै बदलिए तर लैंगिक विभेद र आलोचना उस्तै छ । नेपालको वर्तमान संविधानले लैंगिक समानताका लागि क्रमशः धारा १८ र धार ३८ मा समानता र महिलाको हकको व्यवस्था गरेको छ । यति हुँदाहुँदै पनि लैंगिक विभेदको अन्त्य हुन सकेको छैन । २१औं शताब्दीमा लंैगिक असमानता कुरा उठाउनु आफैँमा धक लाग्ने कुरा हो । लैंगिक असमानताका लागि संवैधानिक तथा कानुनी व्यवस्था हुनु तर कार्यान्वयन नहुनुले मूलतः राज्य व्यवस्था र सामाजिक संरचनालाई कुरीकुरी गरिरहेको अवस्था छ ।

समाज विश्लेषकहरूको भनाइमा प्राकृतिकरूपमा लैंगिक विभेद हुँदैन यो त केवल सामाजिकरूपमा जन्म दिने गरिन्छ । महिलाको भूमिकालाई कमजोर पार्र्ने मुख्य भूमिका एकातिर समाजले खेलिरहेको छ भने अर्कातिर राज्य व्यवस्थाको । सामन्ती सोचका कारण महिलाहरूलाई केवल मनोरञ्जकका साधनका रूपमा लिइँदै आएको पाइन्छ । यो कारणले हरेक स्थानमा महिलाको भूमिका गौण बन्न जान्छ । उनीहरू केवल पुरुषका सहयोगीमात्र हुन जान्छन् । पतिको अनुपस्थितिमा महिलाले कुनै पनि निर्णय गर्न नसक्ने अवस्था रहन्छ ।

नेपालमा महिला अवस्थाका बारेमा अध्ययन गर्दा मध्यकालीन नेपाल अत्यन्तै दयनीय तथा पीडादायक रहेको पाइन्छ । त्यो अवस्थामा धर्मका नाममा महिलाका अधिकारहरू कटौति गरिए । मध्यकालमा महिलालाई शिक्षा, वैवाहिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रताजस्ता सबै विषयमा बन्देज गरियो । यस परिवेशमा पुरुष नै महिलाका भाग्य निर्माता हुन् भन्ने कुराको विकास भयो । त्यसबेलाको समाजमा कृषि तथा सामन्ती प्रथा कायम थियो । मध्यकालमा ‘सतीप्रथा’ ले समाज तहसनहस बनेको थियो ।

आधुनिककालसँगै महिलामाथि हुने गरेका शोषण केही हदसम्म न्यून हुँदै गएका छन् । अहिले पनि नेपाली महिलाको हैसियत र स्थितिमा त्यति ठूलो परिवर्तन नभए पनि राणाकालीन दासप्रथा र सती प्रथाको उन्मुलनले महिलाप्रतिको सम्मान बढेको महसुस हुन्छ । अब हिन्दू समाजमा भन्दा अन्य केही धर्मावलम्बी समाजमा यो विभेदको खाडल झन् फराकिलो छ ।

हिजोआजका अखबार पनि उही विगतजस्तै प्रकृतिका समाचारले भरिएका हुन्छन् । बुलन्द आवाजका साथ उठाइने गरेका नारी समानताका आवाजले समाजमा केकस्ता परिवर्तन ल्याएको छ भन्ने अनुभव गर्न पाइएको छैन । देशको विकासको होडबाजीमा विभिन्न दल, संघसंस्था लागेका छौँ भनेर भाषण गर्ने गर्छन् तर यस विषयमा कसैको पनि ध्यान पुगेको पाइँदैन ।

अस्ति बलत्कार भयो, हिजो अलिअलि विरोधका आवाज घन्किए, आज सेलायो । फेरि भोलि त्यही प्रक्रिया दोहोरिन्छ । छोरा र छोरी एकै रथका दुई पांग्र भनेर पढिएको कुरो रथ लोप भएझैं लोलाउँदै सेलाउँदै गएको अनुभूति हुन्छ । यी विषयका नाराहरू चर्काजस्ता लाग्छन् तर व्यवहामा यी साह्रै बिलिना र खल्ला अनुभव भइरहेका छन् ।

हुन त आजभोलि हरेक घराका छोरी छोराजत्तिकै शिक्षित छन्, पढ्न पनि गएका छन् । कामको अवसर पनि नमिलेको होइन तर पनि आफूले प्राप्त गरेको शिक्षा र तालिमलाई सदुपयोग गर्ने सही मौका तिनले पाएका छैनन् । कतै छाउपडी प्रथा कायमै छ कहीँ बालविवाह हटेको छैन त कतै कमलरी प्रथा ज्यूँका त्यूँ छ । उठ्न र स्वभिमानी हुन खोज्ने छोरीहरूको खुट्टा तान्ने काम यही समाजले गर्छ । सभा सम्मेलन र गोष्ठीमा समानताका कुरा बेस्सरी उठाइन्छ ।

विदेशको कुरा छाडौँ । धेरै देश तीव्र गतिमा विकसित हुँदै गएका छन् । हाम्रा देशका कुनाकन्दरा मात्र होइन शहरी क्षेत्रमा विभेद कायम छ । जुन समाजमा महिला र पुरुष बराबर हैसियतमा छन् व्यवहारतः त्यहाँ विकास र विवेकसीलताले स्थान पाउँछ त्यो समाज अघि बढ्न सक्छ । अर्कोतर्फ रुढिवादी सोचले ग्रस्त समाज पछाडि परेको पाइन्छ । जुन घरका छोरीबुहारी आफ्नो हक हितका लागि लड्नसक्ने हुन्छन् त्यो घर जगैदेखि बलियो हुन्छ । घरका सामान्य कामकाजदेखि सामाजिक कार्यमा महिलाको सक्रियता रहने हो भने कुनै पनि समाज अशिक्षा र गरिबीको चपेटामा पर्नु पर्दैन ।

हामी महिला राष्ट्रपति भएको देशका नागरिक हौँ तर हामीमध्ये धेरै पढ्ने, काम गर्न र व्यवसाय सञ्चालन गर्न विदेश जानुपरेको छ । जहाँ लैंगिक समानता छ त्यहाँ अवसर पनि बराबरी प्राप्त भयो । लाखौं नेपाली त्यही अवसर पछ्याउँदै आफ्नो मातृभूमि छोडेर विदेशिएका छन् । छिमेकी देश चिनको प्रगति, नयाँ आविष्कार र उन्नति त्यसको कारण महिला र पुरुषको बरोबर सहकार्य नै हो । बेलायतको कुरा गरौँ, रानी एलिजाबेथ र थेरेसा मे राज्य सञ्चालक भएको देश हो । त्यहाँको उन्नति पनि समानताकै कारणले सम्भवः भएको हो ।

बेलायत धेरै धनी देश र राम्रो आयआर्जन गर्नसक्ने देशमा पर्छ । हरेक उच्च ओहदामा पुरुष र महिलालाई बराबर मौका हुन्छ त्यहाँ । त्यहाँ शोषित र शोषकको पार्थक्य छैन ।

धेरैको सपनाको देश मानिएको अमेरिकामा त्यहाँका नागरिकमात्र नभएर विश्वका विभिन्न कुनाबाट रोजगार र उचित शिक्षा प्राप्तिका लागि धेरै मानिस पुग्छन् । आफ्नो अलग पहिचान बनाउन सफल बनेको कारणले नै अमेरिका विश्वभरिका मानिसको सपना बन्ने गरेको छ ।

गरिबीको चपेटामा परी अझैसम्म विकासका कार्य र नयाँ प्रविधिको सन्निकटताबाट विमुख कंगो, हाइटी, नेपाल या अल्पविकसित र विकासोन्मुख अन्य देशमा लैंगिक समानताको अपरिहार्यताको प्रष्ट हुन्छ । त्यसैले हाम्रो देशलाई प्रगतिशील बाटोतर्फ लाने नै हो भने नारी पुरुषबीच वास्तविकतामै जीवानमा एउटै सिक्काका दुई पाटा वा एउटै रथका दुई पांग्र्रा ठानेर अघि बढ्नुपर्छ । जसले गर्दा देशको मुहार फेर्न सहयोग पुग्नेछ । यसले बेरोजगारी हट्नेछ र वैदेशिक यात्राका लागि लम्किएका पाइलाहरू रोकिनेछन् । नारीको हकहितलाई अघि सारेर देशको नक्शा कोरियो भने एक घर र समाज नभएर सिंगो देशले विकसित बन्ने मौका पाउँनेछ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी