सद्भाव बिथोल्ने कुनै पनि काम मान्य नहुने चेतावनी

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् । सोमबारदेखि अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले अस्पतालबाटै मंगलबार एक वक्तव्य जारी गर्दै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले दंगा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भंग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन् ।

चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनले विगतमा झैँ समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गरेका छन् ।

प्रचारबाजीबाट प्रभावित नहुनुस्

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमबाट आप्mनो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रूपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुन सक्ने संक्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गर्दै आप्mनो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अंग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आप्mनो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

स्वास्थ्यस्थिति सुधारोन्मुख 

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उनी उपचाररत अस्पतालले जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको संक्रमण नियन्त्रण गरी उनको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएको जनाएको छ ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य सुधार भएको र एक दुई दिनमा डिस्चार्ज हुने उल्लेख गरेको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले प्रधानमन्त्रीले मंगलबार आफैं ब्रेकफास्ट खाएको र दाह्री काटेको जानकारी दिए । ‘तपाईंहरूले फोटो खिच्न खोज्नुभएकोले उहाँ चिटिक्क परेर हृयान्डसम भएर बस्नुभएको छ,’ डा सायमीले सञ्चारकर्मीसँग भने ।

डा सायमीले प्रधानमन्त्रीलाई एक साताको लागि एन्टिबायोटिक दिइएको र डिस्चार्जपछि पनि केही दिन आराम गर्नुपर्ने जनाएका छन् ।

भेटघाटमा प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको  भेटघाटमा रोक लगाएको वक्तव्य प्रकाशित गरी जानकारी दिएको छ । प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफूहरूको पहिलो प्राथमिकता रहेको जनाउँदै अस्पतालले भनेको छ, ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको बेहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।’

प्रधानमन्त्री ओली सोमबारदेखि शिक्षण अस्पतालमा उपचाररत छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पनि छुट्टै वक्तव्य जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य क्रमिक सुधार भएको र अस्पतालले समय समयमा जारी गर्ने विज्ञप्तिहरूबाट आधिकारिक जानकारी पाउन सकिने जनाएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले अस्पतालमा गएर भेटेका थिए । डा भट्टराईले प्रधानमन्त्रीलाई भेटेर फर्केपछि प्रधानमन्त्री हँसमुख अवस्थामा रहेको बताएका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी