सार्न मिल्ने आकाशे पुल बनाइने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । काठमाडौं महानगरपालिकाले यात्रुको सुरक्षाको लागि पैदलयात्रीको भीड हुने दुई स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाले चाबहिल चोक र माइतीघरमा स्थानान्तरण गर्न मिल्ने दुईवटा पुल निर्माण गर्न लागेको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रामबहादुर थापाले स्थानान्तरण पुल महानगरले निर्माण गर्न लागेको जानकारी दिए । पुलको नमुना तयारीको काम भइसकेको र छठपछि तुरुन्तै बोलपत्र आहृवान समेत गरिने उनको भनाइ थियो । उनले यो पुल स्थायी नहुने जनाए ।

फलामका नटहरू कसेर निर्माण गरिने पुल धेरै भीड हुने ठाउँमा सर्वसाधारणलाई सुविधा दिन उपयुक्त हुने भएकाले निर्माण गर्न थालिएको महानगरको भनाइ छ । इ. थापा भन्छन्, ‘सामान्य भाषामा बुझ्दा एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने पुललाई नै स्थानान्तरण पुल भनिने र त्यस्तै पुलको निर्माण महानगरले गर्ने तयारी छ ।’ दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि महानगरले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको जानकारी दिएको छ । ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने थापाले जानकारी दिए ।

महानगरभित्रका केही पुल निजी क्षेत्रले निर्माण गरेको र मर्मतसम्भारमा उनीहरूको पनि विशेष सहयोग हुनुपर्ने थापाको भनाइ छ । महानगरले चालु आव २०७५÷७६ को लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा ४ अर्ब ६ करोड बजेट विनियोजनसमेत गरेको थापाले जानकारी दिए । महानगरले यस वर्षको बजेटमा १२ करोड नयाँ आकाशे पुल बनाउनका लागि छुट्याइएको छ । चालु आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने महानगरले योजना बनाएको थियो । थापाका अनुसार माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिने तयारी भइरहेको छ । पहिलो चरणमा यी दुई स्थानमा आकाशे पुल निर्माण गरिने र अन्य स्थानमा आवश्यकता हेरी पुलनिर्माण गर्ने महानगरको तयारी रहेको छ । हाल भने यी दुई स्थानमा निर्माण गर्न लागिएको पुलको लागि नमुना तयार भइसकेको महानगरले जानकारी दिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी