सुरक्षित कन्डम असुरक्षित परिवार

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । कन्डमसम्बन्धी सही प्रचारप्रसार नहुँदा तथा चेतना अभावले कतिपयको वैवाहिक सम्बन्धमा समेत समस्या परेको छ । श्रीमानलाई कन्डम प्रयोग गर्न आग्रह गरेकै कारण केही दम्पतीको  सम्बन्ध बिग्रिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्लाई महिलाले कन्डम प्रयोग गर्न आग्रह गर्दा भोजपुरकी एक महिला पतिबाट परित्यक्त भइन् ।
आफू विदेशमा रहँदा श्रीमती पराई पुरुषसँग लागेको आशंकामा श्रीमान्ले आफूलाई घर निकाला गरिदिएको उनले बताइन् । उनी दुई सन्तान काखी च्याप्दै माइतीमा बस्दै आएकी छिन् । सोही कारण उनी कन्डमको नाम सुन्दा समेत झर्किन्छिन् ।
रामेछापकी ३८ वर्षीया एक महिलाको समस्या पनि उस्तै छ । एउटा कार्यक्रमबाट कन्डमबारे जानकारी भएपछि उनले पनि श्रीमान्लाई कन्डम प्रयोग गर्न आग्रह गरेकी थिइन् । संघसंगठनमा लागेर नचाहिने कुरा सिकेको भन्दै उनलाई आमा समूहको अध्यक्षबाट समेत हट्न दबाब दिए । घरबाट बाहिर गए सम्बन्धविच्छेद गर्ने धम्की दिएको उनले बताइन् ।
काभ्रेकी एक दलित समुदायकी महिलाले पनि कन्डम प्रयोग गर्न आग्रह गरेकै कारण दुई वर्षदेखि श्रीमान्बाट कुटपिट सहँदै आएकी छिन् । विदेशबाट फर्किएका श्रीमान्लाई कन्डम प्रयोग गर्न आग्रह गरेकै कारण उनी घरेलु हिंसामा परेकी छन् । श्रीमान्ले ज्यान लिने धम्की दिएको उनको भनाइ छ ।
धनकुटाकी एक महिला गाउँबाट निकाला भइन् । उनले कन्डम प्रयोग गर्दा आफ्नो स्वास्थ्यसँगै परिवार नियोजनमा समेत सहयोग मिल्ने कुरा एक कार्यक्रममा  थाहा पाएर गाउँका केही महिलालाई सुनाएकी थिइन् । उनी गाउँ निकाला भइन् ।
यी पीडित महिला केही उदाहरणमात्र हुन् । ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश मानिस अशिक्षित हुँदा यस्ता समस्या भोग्न बाध्य हुने महिला धेरै भेटिन्छन् । कन्डम परिवार नियोजनको साधनमात्र नभएर एचआइभी एड्स तथा यौनरोग सर्नबाट पनि बचाउने प्रभावकारी तथा भरपर्दाे साधन पनि हो । यसबारे जनचेतना नपुग्दा सम्बन्धमा समेत दरार उत्पन्न भएका उक्त घटनाले पुष्टि गर्छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तारानाथ पोखरेलले कन्डमबारे जनचेतना फैलाउन नसक्दा समस्या उत्पन्न भएको बताए । हरेक वर्ष अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसर पारेर काठमाडौं उपत्यकालगायत देशैभर प्रत्येक वर्ष ‘फेब्रुअरी १३’ का दिन सुरक्षित यौन सम्पर्कका लागि कन्डम बाँड्दै यसबारे विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना हुने गरेको छ ।
कन्डम सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउन रचनात्मक तरिकाले अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउने गरिन्छ । चिकित्सकहरूले पनि कन्डम नै एक मात्र सही साधन भएको बताउँदै आएका छन् । यसको सही प्रयोगले हरेक पटकको यौन सम्पर्कमा कन्डम प्रयोग गरेमा दोहोरो स्वास्थ्य सुरक्षाको काम गर्ने पनि चिकित्सकहरूले सुझाउँदै आएका छन् । उनीहरूका अनुसार अन्य उपायको तुलनामा कन्डम सबैभन्दा भरपर्दो हो । यसले एचआइभी एड्स तथा यौनरोग सर्नबाट समेत बचाउँछ ।  चिकित्सकका अनुसार कन्डम एचआइभी सर्न सक्ने जोखिममा रहेका व्यक्तिलाई मात्र नभएर एचआइभी संक्रमित भइसकेका व्यक्तिलाई समेत यौनरोगलगायत अन्य वैवाहिक सम्बन्ध कायम राख्न कन्डम उपयोगी हुन्छ ।
सन् २०१७ को अन्त्यसम्ममा संसारभर ३ करोड ६९ लाख व्यक्तिमा एचआइभी संक्रमण भएको तथ्यांक छ । ७७ प्रतिशत एचआइभी संक्रमण कन्डमको प्रयोगविना गरिएको यौन सम्पर्कले भएको तथ्यांकले देखाउँछ । नेपालमा ३१ हजार एचआइभी संक्रमित रहेको तथ्यांक  छ । तीमध्ये १९ हजार पुरुष छन् भने १२ हजारको हाराहारीमा महिला छन् ।
हाल नेपालमा कन्डमलगायत परिवार नियोजनका अन्य साधन प्रयोग गर्नेहरू करिब ४३ प्रतिशत छन् । प्रजनन् उमेरका २४ प्रतिशत महिलाले परिवार नियोजनको माग पूरा नभएको पनि तथ्यांकले देखाएको छ । स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदनअनुसार हाल ८ प्रतिशतले मात्रै कन्डम प्रयोग गरिरहेको तथ्यांक छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी