सुरु भयो पिकनिक सिजन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । काठमाडौंका ऐतिहासिक र धार्मिक दृष्टिले महŒवपूर्ण ठाउँहरू हिजोआज पिकनिक अर्थात वनभोजले भरिभराउ हुन थालेका छन् । काठमाडौंको थानकोट, चोभारको डाँडा, गोदावरी, सुन्दरीजल, ककनी लगायतका ठाउँहरू पिकनिकका लागि उपयुक्त ठाउँहरू हुन् । पिकनिक लामो समय भेटघाट नभएका आफन्त र साथीभाइसँगको सम्बन्धलाई ताजा बनाउने सजिलो तरिका बनेको छ ।

ऐतिहासिक डाँडा चोभारमा पिकनिक मनाउन आउनेको भीड मंसिर लागेयता हृवात्तै बढेको छ । जलविनायक, कार्यविनायक गणेश र आदिनाथ मन्दिरको दर्शन सहित पिकनिक मनाउन आएका छन् बालाजुका शाश्वत बस्नेत । उनी चोभार पहिलो पटक आएका हुन् । उनले भने, ‘ठाउँ रमाइलो रहेछ, नयाँ अनुभव भयो ।’

ललितपुर सुनाकोठीका सतिश थापा मगर साथीहरूसँग त्यहाँ पुगेका थिए । राजधानी काठमाडौंको केन्द्रबाट करिब सात किलोमिटर दक्षिणपश्चिम कीर्तिपुर नगरपालिका–४ मा चोभार पर्छ । मौसम सफा हुँदा यहाँबाट सगरमाथा पनि देख्न सकिन्छ । विभिन्न प्राकृतिक सुन्दरताका कारण काठमाडौंको कोलाहलबाट मुक्त भएर मन शान्त पार्न पनि यहाँ पुग्ने धेरै छन् । चलचित्रको छायांकनको समेत आकर्षक गन्तव्य चोभार युवा प्रेमिल जोडीको समेत आकर्षक गन्तव्य हो ।

पिकनिक जाने भन्ने बित्तिकै धेरैको मनमा आउने ठाउँको नाम हो, थानकोटस्थित त्रिभुवन पार्क । राष्ट्रिय राजमार्ग नजिकै पर्ने भएकाले यो पार्क बालबालिका र वृद्धवृद्धाका लागि पकनिक लैजान उपयुक्त मानिन्छ । स्थानीय भजन मण्डलबाट समवयीहरूसँग थानकोट जाने तयारी गरेका कृष्णभक्त थापा थानकोट सदाबहार पिकनिक स्पट भएको बताउँछन् । कलंकीको ट्राफिक जाम पछिल्लो समय विस्तारै कम हुँदै गएपछि थानकोट अहिले धेरैको रोजाइको पिकनिक स्पट बनेको छ । पार्क अघि किराना पसल राखेका राजेश खनाल भन्छन्, ‘स्कुलबाट र वृद्धाश्रमबाट धेरै आउँछन् ।’ शनिबार र मंसिर लागेपछि यो पार्क खचाखच हुने उनी बताउँछन् ।

केही समय अघिसम्म विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरू पिकनिक जाने गर्थे । हिजोआज समूहमा आबद्ध महिला, वृद्धवृद्धा, भजनमण्डलका वृद्धवृद्धा समेत पिकनिक जान्छन् । त्यत्ति मात्रै होइन, पुराना साथीहरू भेटघाट गर्न, पुरानो हुँदै गएको सम्बन्धलाई ताजा बनाउन समेत पिकनिक आयोजना गरिन थालिएको छ ।

पिकनिकले आन्तरिक पर्यटनलाई बढाउने बताउँछन् ललितपुर महानगरपालिका वडा २७ का वडा अध्यक्ष बाबुराज महर्जन । ललितपुरमा पिकनिक मनाउन थुप्रै रमणीय र खुला ठाउँहरू रहेको बताउँदै उनी भन्छन्, ‘स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ठाउँका खुला ठाउँलाई पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम ल्याउनुपर्छ ।’ खुला ठाउँलाई पिकनिक स्पटको रूपमा विकास र विस्तार गर्दा स्थानीय स्तरमै रोजगारी सिर्जना हुने उनको तर्क छ । पिकनिक स्पट सफा , सुन्दर हुने र हरियाली युक्त रमणीय बनाइने भएकाले वातावरण संरक्षणमा समेत सहयोग पुग्ने धारणा उनको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी