हसिनाको दललाई अत्यधिक बहुमत

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेकी छन् । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले तीन सय सदस्यीय संसद्मा दुई सय ८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बिएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्षसमेत रहेकी हसिना चौथोपटक प्रधानमन्त्री बन्नुहुनेछ । आइतबारको चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो । विपक्षीले चुनाव निष्पक्षरूपमा सम्पन्न हुन नसकेको र राज्य संयन्त्रको चरम दुरूपयोग भएको आरोप लगाएका छन् ।

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । ‘हामी स्वतन्त्र सरकारको नेतृत्वमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गर्न माग गर्दछौं,’ विपक्षी दलको गठबन्धनको नेतृत्व गरेका कमल होसेनले भने ।  चुनाव हुनु अघिदेखि नै बंगलादेशमा हिंसात्मक झडपका घटना भइरहेका थिए । सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्न ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपनि मतदानका दिन सबैभन्दा बढी हिंसात्मक घटना भएका थिए । मतदानका दिन अवामी लिग र बिएनपीका कार्यकर्ताबीचको झडपमा १३ को मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर अन्य तीनजनाको मृत्यु भएको थियो ।

झडपका क्रममा एक प्रहरी जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिएनपीका प्रवक्ता सइद मोजेम होसेन अलालले कुल तीनसय स्थानमध्ये दुई सय २१ स्थानमा धाँधली भएको जानकारी प्राप्त भएको बताए । बंगलादेश निर्वाचन आयोगका प्रवक्ता एसएम असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजुरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको बताउँदै चुनाव स्वतन्त्र र स्वच्छरूपमा सम्पन्न भएको दाबी गरिन् ।

हसिनाको दलले लगातार तेस्रोपटक जित हासिल गरेपछि बंगलादेशमा हसिनाले सबैभन्दा लामो प्रधानमन्त्री कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी