‘हामी प्रतिस्पर्धी होइनौं’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायकको नाम लिँदा दुई नाम शीर्षस्थानमा आउँछन्, ती हुन्, पशुपति शर्मा र खुमन अधिकारी । लोकगीतको क्षेत्रमा यी दुई गायकले हजारौं गीत गाएका छन् । उनीहरूका गीत नेपालको पुर्वदेखि पश्चिमसम्म चर्चित छन् । दुवैका चर्चित गीत धेरै भएकाले पनि उनीहरूलाई दर्शकले प्रतिस्पर्धीका रूपमा हेर्छन् । कुनै स्टेज वा कार्यक्रममा पनि उनीहरू एकसाथ पुगेका हुँदैनन्, त्यसैले पनि उनीहरूबीच प्रतिस्पर्धाको भावना होला भन्ने आममानिसको बुझाइ छ । तर, दुवै कलाकारले आफूहरू प्रतिस्पर्धी भनेर स्विकार्दैनन् । उनीहरूले एक अर्काका प्रतिस्पर्धी नरहेको बताउँदै आएका छन् ।

केही दिनअघि सामाखुसीस्थित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय कार्यालयमा भेट हुँदा हामीले केही शीर्षकमा कुराकानी गरेका थियौं ।

अरूको नजरमा प्रतिस्पर्धी

गायक पशुपति शर्माले खुमन अधिकारीसँग कुनैपनि प्रतिस्पर्धाको भावना नरहेको बताए । अरूले हेर्ने नजरले प्रतिस्पर्धा देखेको उनको भनाइ छ । एकै स्टेजमा दुवैजना नदेखिनुको कारण के ? भन्ने हाम्रो प्रश्नमा पशुपतिले आयोजकलाई कारण देखाए । ‘हामीलाई मेला महोत्सवमा आयोजकले फरकफरक दिनमा बोलाउनु हुन्छ, त्यसैले हामी एकैपटक नपरेका हौँ । आयोजकलाई पनि दर्शक धेरै ल्याउनुपर्ने हुन्छ, त्यसैले दोहोरीका कलाकार दिनैपिच्छे फरकफरक ल्याउनुपर्ने हुँदा एकैदिन बोलाउनु हुन्न,’ पशुपतिले भने । यस्तै, गायक खुमन अधिकारीले पनि आफूहरूको सम्बन्ध रहेको बताए । उनले गीत बजारमा ल्याउँदा सल्लाहले पनि निकाल्ने गरेको बताए । ‘हाम्रा बीचमा प्रतिस्पर्धा भन्ने केही छैन, पशुपति दाइले आफ्नो तरिकाको गीत गाउँनुहुन्छ, मेरो छुट्टै छ,’ खुमनले भने । यस्तै, पशुपतिले प्रतिस्पर्धा हुनका लागि एउटै बाटो चाहिने तर आफूहरूको गीतको धार नै फरक भएको बताए ।

जेठा गायक पशुपति, गीत बढी खुमनको

खुमनभन्दा केही वर्षअघि नै गायन क्षेत्रमा पशुपतिले प्रवेश गरे । सुरुवातदेखि नै पशुपतिले आफैले रचेका गीतमात्र गाउन थाले । उनले लय, शब्द सबै आफैले गर्दै गीत बजारमा ल्याउन थाले त्यस अर्थमा पनि संख्यात्मक हिसाबमा पशुपतिका गीत कम छन् । खुमनले भने व्यवसायिक हिसाबमा सुरुदेखि नै गीत गाउन थाले र संख्यात्मक हिसाबमा बढी हुन पुगे । ‘मैले सुरुवातका दिन देखि नै आफ्नै लय शब्दका गीत गाउन थाले, अरुका गीत गाइदिनुस् भन्दै धेरै अफर आउँथे तर मैले सबैका सबै किसिमका गीत गाउन पनि सक्दिन । त्यसैले पनि आफ्नै गीतमा जोड गरे,’ पशुपतिले भने ।

दामभन्दा नाममा जोड

दुवैले सुरुवातमा नामकै लागि यो क्षेत्रमा हात हालेको बताउँछन् । पैसाका लागि मात्र काम गरेको भए अहिलेसम्म निकै धेरै गीत गाइसक्ने उनीहरूको भनाइ छ । ‘सुरुवातमा यो क्षेत्रमा नाम होला भनेरै आएको हुँ, विस्तारै नामसँगै पैसा त कमाइयो तर यदि पैसाका लागि मात्रै दौडिएको भए आज धेरै नै कमाउन सकिन्थ्याँे, मलाई अझै पनि गीत गाइदिनूस् भन्नेहरू थ्रपै छन्, तर गीतमा क्वालिटी पनि दिनुपर्छ भन्ने हो,’ पशुपतिले भने । यस्तै खुमनले पनि कैयौं गीत स्टुडियोमै गएर गाएका छैनन्, आफूलाई राम्रो लागेको र आफ्नो स्वरले न्याय दिएका गीतमात्र उनले गाएको बताए । ‘मैले यदि आफ्नो स्वरमा मेल खाने गीत भएन भने छाडेर अरूलाई गाउन दिनूस् भनेर पनि हिडेको छु, पैसाका लागि गरेको भए, जसोतसो गाएर हिडिन्थ्याँे होला,’ खुमनले भने ।

समाजलाई सम्झेर गीत गाउनुपर्छ

गायक पशुपतिले पछिल्लोसमय लोकगीतमा आएका विकृतिका बारेमा बोल्दै यस्ता गायकलाई समाजसँग डर लाग्नुपर्ने बताए । उनले कुनैपनि व्यक्तिको, परिवार, समाज हुने भएकाले त्यो व्यक्तिलाई, दुई अर्थ लाग्ने, भल्गर गीत गाउन डर हुनुपर्ने बताउँछन् । ‘मेरो परिवार छ, घरमा आमाबुबा, छोराछोरी पनि छन्, मलाई हेर्ने समाज छ, भोली म धेरै बाँच्नुपर्छ भनेर सोच्ने हो भने त्यस्ता गीत गाउन मन लाग्दैन, हैन जे गर्दा पनि हुन्छ भन्नेका लागि त केही भन्न सकिँदैन,’ पशुपतिले भने । यस्तै, खुमनले पनि एक गायक तथा गायिका भइसकेपछि आफ्ना गीतको मुल्यांकन आफैले गर्नुपर्ने बताउँछन् । ‘कुन गीत गाउने कुन नगाउने, कस्ता गीतले आफूलाई असर गर्छ त्यो एक गायक तथा गायिका भइसकेपछि बुझ्ने क्षमता हुन्छ जस्तो लाग्छ, त्यसैले आफैले विचार पु¥याउने हो’ खुमनले भने ।

लाइभ दोहोरी धेरैको रोजाइ

पशुपति शर्मा लोकगीतको क्षेत्रमा लाइभ दोहोरीका विभिन्न प्रतियोगिता जितेरै आएका गायक हुन् । उनले स्टेजमा निकै लाइभ दोहोरी पनि गाएका छन् । ‘म यो क्षेत्रमा लाइभ दोहोरीकै कारण प्रवेश गरेको हुँ, सुरुवातका दिनमा थुपै्र स्टेज लाइभ दोहोरीमा प्रस्तुति दिने गर्दथेँ,’ पशुपतिले भने । यस्तै खुमनले पनि देशभित्र तथा बाहिरका स्टेज कार्यक्रममा लाइभ दोहोरी नै धेरैको रोजाइमा पर्ने गरेको बताए । एकपटक विदेशका कार्यक्रममा दुवैजना सँगै परेको खुमनले बताए ।

विष्णु माझीको विषय हल्लामात्र

पशुपति र खुमनले लोकगीत क्षेत्रकै चर्चित गायिका विष्णु माझीसँग थुप्रै गीत गाएका छन् । विशेषतः पशुपतिले भन्दा खुमनले गायिका विष्णुसँग धेरै गीत गाएको बताउँछन् । पछिल्लोसमय बिष्णु माझीलाई घरपरिवारबाट लुकाइएको भन्ने हल्ला झुट भएको उनीहरू बताउँछन् । उनले विष्णु माझीका श्रीमान् सुन्दरमणिलाई पनि भेटेको छु, दुवैजनालाई धेरैपटक भेटेको छु, बाहिर सुनिएको हल्लाजस्तो नभएको उनले बताए । पशुपतिले भने । यस्तै, श्रीमान् श्रीमती दुवैको इच्छाबमोजिम नै मिडियामा तथा बाहिर नआएको उनको भनाइ छ । यस्तै, खुमनले पनि बाहिर स्टुडियोमा मुख छोपेरै आउँछिन् भन्ने हल्लालाई हल्लामात्र भएको बताए । ‘बाहिर हिड्दा हामी पनि मुख छोपेर हिड्छौं, त्यसलाई फरक तरिकाले सोच्नु गलत हो,’ खुमनले भने । कलाकारले पनि आफूले चाहेअनूरूप बाँच्ने पाउनुपर्ने उनीहरूको भनाइ छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी