६ महिनामा ७ खर्बबन्दा बढीको आयात

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौ । आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा ७ खर्ब २३ अर्बभन्दा बढीको आयात भएको छ । अघिल्लो वर्षको तुलनामा ३०.५ प्रतिशतले बढेर आयात ७ खर्ब २३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सो अवधि कुल व्यापारघाटा ३२.१ प्रतिशतले विस्तार भई ६ खर्ब ७८ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २८.७ प्रतिशत, चीनबाट भएको आयात ४२.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, तयारी पोशाक अन्य मेशिनरी तथा पार्टपूर्जालगायत वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतको आयात घटेको छ । निर्यात् भने १०.३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २९.५ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडिबुटी, ऊनी गलैँचालगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिका सामानलगायतका वस्तुहरूको निर्यात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाबाट निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाहरूबाट भएको आयातमा वृद्धि भएको छ ।
रेमिट्यान्स ४ खर्बभन्दा बढी 
रेमिट्यान्स आय ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आय १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको थियो । साथै पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.५ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । मलेसिया जाने नेपालीहरूको संख्या उल्लेख्य मात्रामा घटेको छ ।
चालु खाता घाटा डेढ खर्ब
चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता घाटा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो ६ महिनामा यस्तो घाटा ९७ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । सो अवधि अमेरिकी डलरमा चालु खाता घाटा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ । साथै शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा थियो ।
कुल विदेशी विनिमय सञ्चिति असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा पुस मसान्तमा १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असारमा १० अर्ब ८ करोड रहेकोमा पुसमा ९ अर्ब ४१ करोड रहेको छ । बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैकले जनाएको छ ।
निक्षेप २० प्रतिशतले वृद्धि
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निक्षेप ६.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २०.२ प्रतिशतले बढेको छ । पुसमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.३ प्रतिशत र ४७.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत थियो ।
मूल्यवृद्धि ४.६ प्रतिशत
चालु आवको पुसको मूल्यवृद्धिदर ४.६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ४.० प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ मूल्यवृद्धि २.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मूल्यवृद्धि २.४ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.१ प्रतिशत छ । अघिल्लो यस्तो मूल्यवृद्धि ५.३ प्रतिशत थियो । काठमाडौं उपत्यकामा ५.२ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ प्रतिशत र तराईमा ४.० प्रतिशतको मूल्यवृद्धिदर छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी