अनि मेदिनी बहुलाए

‘मामा बहुलाउन सक्नुहुन्छ ? यति काम गर्न त बहुलाउनुपर्छ ।’

ठ्याक्कै २२ वर्षअघि मेदिनीले उसलाई यसो भनेका हुन् । एकछिन ऊ अक्क न बक्क प-यो । 

त्यतिबेला मेदिनी र ऊ एपेक नामको एउटा सानो गैरसरकारी संस्थामार्फत वातावरण संरक्षणमा ससाना काम गर्थे । मेदिनी नै संस्थाका संस्थापक अध्यक्ष थिए । मेदिनीमार्फत ऊ संस्थामा जोडिएको दुई वर्ष जति भएको थियो । धेरैजसो कार्यक्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष र पूर्वी तराईकै केही ठाउँ थिए । 

मेदिनीको संगतले ऊ वन्यजन्तु संरक्षणको काममा एकोहोरो भएको थियो । एकदिन उसले वन, वातावरण र वन्यजन्तु संरक्षणमा एपेकमार्फत आफूले गर्न चाहेको कामको र बजेट जुटाउने जुक्तिको खाका बनायो । त्यो बडो महत्वाकांक्षी थियो । मेदिनीले उसको खाकाको विवरण निकैबेर धैर्यपूर्वक सुने । एकछिन मौन बसे अनि गम्भीर स्वरमा माथिको कुरा भने । 

ऊ एकछिन अक्क न बक्क प-यो अनि गम्भीर भएर भन्यो, बहुलाउन त सकिन्न भाञ्जा ! बहुलाउनुपर्छ भनेपछि उसको महत्वाकांक्षी योजनामा पहिरो गयो तर चलिरहेका ससाना आयोजना रोकिएनन् । 

मेदिनी र उसको साइनो मामा–भाञ्जाको हो । मेदिनी उसको नाममा ‘मामा’ नजोडी बेल्दैनन् । ऊ सोझै ‘मेदिनी’ भन्छ । भाञ्जाले नै मामाले भन्दा बढी भोटा फटाएका छन् । 

मेदिनी राष्ट्रिय वाणिज्य बैंकमा पाँचौँ तहका जागिरे थिए, त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर । एपेकका माध्यमले दि नेदरल्याड्सको एक विश्वविद्यालयमा छात्रवृत्ति पाए । मानविकीका विद्यार्थी कुन आँटले हो एकाएक वातावरणीय विज्ञानमा होमिए अनि ‘इन्भाइरोमेन्टल मोनिटरिङ एण्ड एनालिसिस’ विषयमा एमएस्सी पूरा गरेर फर्के । 

यसरी मेदिनी पहिलो पटक बहुलाए । 

आम्स्टर्डमै थिए । यता, मेदिनीको बढुवा भयो । छैटौँ तहका अधिकृत भए । पढाइ पूरा गरेर उताबाट फर्के । विराटनगरको जागिर काठमाडौं सरुवा भयो । वाणिज्य बैंकको अधिकृतस्तरको जागिर कम्ताको होइन । उमेर ३५ को हाराहारी हुँदो हो । बढुवा हुँदै जाने पर्याप्त मौका थियो । 

खोइ किन हो, मेदिनी एकाएक अमेरिका हानिए, एउटा विश्वविद्यालयको छात्रवृत्तिमा । बैंकको जागिर १६ वर्ष नाघिसकेको थियो । पुगनपुग चार वर्ष धैर्य गरेका भए पेन्सन पाउने थिए । बैंकमै बसेका भए जीवन झन् आनन्दको हुँदो हो । मेदिनीले आनन्दको त्यो बाटो त्यागे । न पेन्सन न जागिरमा वृत्ति विकास !

मेदिनीको निर्णयमा ऊ एक किसिमले छक्क प-यो । अमेरिका त चार वर्षपछि पनि जान सक्छौ नि भन्ने उसको धारणा थियो । मेरो धारणामा सहमत भएनन् । भने, ‘मामा ! मलाई मेरो नाममा प्रोफेसर जोड्नु छ, यसका निमित्त म जुनसुकै किसिमको त्याग गर्न तयार छु ।’

ऊ अवाक भयो । 

मुखमा पेन्सन आइसकेको, राष्ट्रिय वाणिज्य बैंकको अधिकृतस्तरको जागिर र बैंकमै वृत्तिविकासको पर्याप्त सम्भावनाप्रति आँखा चिम्लेर प्रोफेसर बन्ने महत्वाकांक्षा बोकेर मेदिनी परिवारका साथ अमेरिका पसे ।

मेदिनी अर्कोपल्ट बहुलाए । 

अमेरिकामा कम भुक्तमान भोगेनन् । मेदिनीका लागि उता पढेर प्रोफेसर बन्नु कम्ती सकसको कुरा थिएन । पढ्ने उमेरका छोराछोरी थिए । आफू विद्यार्थी । प्रजिता एकजनाको भर थियो । मेदिनी पछाडि फर्केनन् । यस्तो त उनको बानी नै होइन जति भुक्तमान किन नहोस् । पढाइमा पनि ससाना अवरोध झेल्नु नपरेको होइन । 

म्यासाच्युसेट्स युनिभर्सिटीबाट ‘सस्टेइनेवल इन्टरनेशनल डिभलपमन्ट’ मा एमए पूरा गरे । फेरि न्युयोर्कको सिराकस युनिभर्सिटीबाट समाजशास्त्रमा एमए पूरा गरे । यहीँबाट उनले आफूलाई विद्यावारिधि (पिएचडी) का लागि तयार गरे । अनेक हण्डर–ठक्करका बीच विद्यावारिधिको मौका पाए । यही क्रममा मेदिनी संसार घुमे, सयभन्दा बढी देश पुगे । एसिया, युरोप, अमेरिका र अफ्रिकाका मुलुकहरूमा वातावरण कन्सल्ट्यान्ट भएर काम गरे । जापान, अष्टेलिया, क्यानाडा, स्विट्जरल्याण्ड, थाइल्याण्ड, केन्या र बेलायतमा वातावरण विज्ञका रूपमा काम गरे । 

यसरी काम गर्दै विद्यावारिधि पूरा गरे । प्रोफेसर बन्ने धोको पूरा हुने एक खुड्किलो पार भयो । 

युनिभर्सिटीमा पढाउन थाले । उनको नाममा प्रोफेसर जोडियो । आखिर उनी प्रोफेसर मेदिनी भण्डारी भए । मेदिनीले धोको पूरा गरेरै छाडे । 

प्रोफेसर मेदिनी भण्डारी लेखिएको भिजिटिङ कार्ड पहिलो पटक बाँडेर घर पुगे । उनको खुसीको सीमा रहेन । प्रजितालाई आफ्नो हर्ष प्रकट गरे । प्रजिताका आँखा थामिएनन् । अनि अगाँलो मारेर दुवैजनाले हर्षाश्रु खसाए । सपना पूरा जो भएको थियो ।

मेदिनी हाल अमेरिकाको अकामाई युनिभर्सिटीको ‘इन्टर डिसिप्लिनरी डिपार्टमेन्ट (न्याचुरल रिसोर्स एण्ड इन्भारोमन्ट-सस्टेइनबिलिटी स्टडिज’ मा प्रोफेसरका रूपमा सेवारत छन् । युक्रेनको समी युनिभर्सिटीको ‘डिपार्टमेन्ट अफ फाइनान्स एण्ड एन्टरपे्रनरसिप’ मा पनि प्रोफेसरका रूपमा सेवारत छन् । उनले एक वर्ष बहराइनको अरबियन गल्फ युनिभर्सिटीमा प्रोफेसरका रूपमा एक वर्ष ‘न्याचुरल रिसोर्सेज’ पढाए । 

मेदिनीको रुचि तथा अध्ययन–अनुसन्धान र अध्यापनको मुख्य क्षेत्र ‘प्रकृति र प्राकृतिक स्रोत संरक्षण तथा सामाजिक सशक्तीकरण’ हो । यसमै प्रतिबद्ध छन् । उनले कन्सल्ट्यान्टका रूपमा राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), एडेलेड युनिभर्सिटीको राष्ट्रसंघीय विकास कार्यक्रम (युएनइपी), वल्डए रिसोर्स इन्स्टिच्युट (डब्ल्युआइआई), विनरक इन्टरनेशनल, पजरो फाउण्डेसन लगायतका संस्थामा सेवा गरे । 

मेदिनी हृयुमन सर्भाइवल फाउण्डेसन र अटलान्टिक स्टेट लिगल फाउण्डेसन संलग्न छन् । इक्वालिटी फाउण्डेसन अमेरिकाको कोषाध्यक्षको जिम्मेवारीमा छन् । फाउण्डेसनले नेपालमा प्रदेश १ सरकारसँगको सहकार्यमा अनलाइन शिक्षा परियोजना सुरु गरेको छ । 

मेदिनीको काम समाजशास्त्रीय सिद्धान्त, वातावरणीय दिगोपना, सामाजिक समावेशिता, जलवायु परिवर्तन नीति विकास र कार्यान्वयन, बसाइँ सराइ र अनुकूलनमा केन्द्रित छ । वातावरणीय स्वास्थ्य समस्या, वातावरणीय स्वास्थ्य व्यवस्थापन, सामाजिक सिर्जना, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरणीय न्यायमा पनि उनको ध्यान केन्द्रित छ । 

हालसम्म वातावरणीय विषयमा मेदिनीका चार वटा पुस्तक अन्तर्राष्ट्रिय प्रकाशन संस्थाबाट प्रकाशित छन् । करिब ५० वटा अनुसन्धानात्मक लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । 

जीवनका ६ दशक बिताउँदा उनी यसैका लागि संसारको विद्वत्वर्गबीच सुपरिचित भएका छन् । 

पूर्वी पहाडी जिल्ला तेह्रथुमको विकट गाउँ नामिन्तामा जन्मेर, मावलीको सहारामा प्राथमिक शिक्षा पूरा गरेर मधेसको गर्मीमा झर्दा मेदिनीको सपना घरको काम सकेर रंगेली बजारको मेला भ्याउनेमा सीमित थियो । मोरङको पुरानो बजार रंगेलीबाट केही पर उनका बुबाले थोरै जग्गा जोडेर सानो घर बनाएका थिए । उनी स्कुलको विद्यार्थी हुँदै बुबा बिते । आमा र हजुरआमामा उनलाई अपार माया गर्नेभन्दा बढी क्षमता थिएन ।

मेदिनीलाई जेठो छोरो हुनुको हैसियतमा उनलाई जिम्मेवारी बोध भयो । बिहान खेत खनजोत गर्नेदेखि घरको धेरै काम सकेर झण्डै एकघण्टा हिँडेर स्कुल पुग्थे । ठूलो भुक्तमानका बीच माध्यमिक शिक्षा पूरा भयो । यसपछि उनी आइए पढ्ने धुनमा विराटनगर पुगे । क्याम्पसको पढाइ र अलिकति फराकिलो संगतले उनको सपनाको दायरा बढायो । 

सपना देखेर मात्रै के हुन्थ्यो र ! पढाइखर्च आफैँले जुटाउनुपर्ने बाध्यता थियो । उनले जागिर खोजे । एकदिन गोरखापत्रमा एउटा विज्ञापन देखे । आफूलाई सुहाउने ठानेर फारम भरे । उनलाई जुरेकै रहेछ, एसएलसी पासको जागिर पाए । पाँच वर्ष जागिर गर्दा उनको बिएसम्मको पढाइ पूरा भयो । एमए पढ्न काठमाडौं जाने तरखर गर्दै गर्दा राष्ट्रिय वाणिज्य बैंकको जागिरे भए । यसपछि उनको जीवनमा प्रकाशका किरणहरू देखापर्न थालेका हुन् । 

यही समयमा उनले मन मिल्ने केही साथीहरू जम्मा गरेर जिल्ला प्रशासन कार्यालय मोरङमा असोसिएसन ‘फर प्रोटेक्सन अफ इन्भारोमन्ट एण्ड कल्चर (एपेक)’ अर्थात् ‘वातावरण तथा प्रकृति संरक्षण संघ’ नामको एउटा गैरसरकारी संस्था दर्ता गराए । एपेकलाई उनले विश्व संरक्षण संघ (आइयुसिएन) को सदस्य संस्थाको हैसियतमा पु¥याए । आइयुसिएन र विश्व वन्यजन्तु कोष (डब्ल्यु डब्ल्यु एफ) सँग मिलेर वातावरण संरक्षणका सानातिना आयोजनाहरू चलाए । यही समयमा हो ऊ मेदिनीसँग जोडिएको । 

आखिर मेदिनीको जीवन दर्शन के हो ? किन उनी वातावरण–वातावरण भनेर संसार घुम्छन् ? किन छँदाखाँदाको अधिकृत जागिर छाडेर अनिश्चत भविष्यमा होमिने जोखिम रोजे ? साँच्चै मेदिनी किन बहुलाए ? 

मेदिनी भन्छन्, ‘मामा ! वसुधैव कुटुम्बकम्, बाँच र बाँच्न देऊ ।’ 

मेदिनी यही सनातन दर्शनका पछि अहोरात्र कुदेका छन् । पृथ्वीको प्राकृतिक वातावरणमा मानिसको सामाजिक जीवन र जीवनशैली जोड्नु र पृथ्वीलाई समस्त प्राणी र वनस्पतिको साझा बासस्थान बनाइराख्न आफ्नो बुद्धिले भ्याएसम्म संसारको जुन ठाउँबाट भए पनि सघाउनु उनको एक मात्र उद्देश्य हो । 

दुई दशकपछि उसले थाहा पायो, मेदिनीले ‘बहुलाउनुपर्छ’ किन भनेका रहेछन् ! बहुलाउनु भनेको सारा सुखदुःख, लोकनिन्दा इत्यादि बेवास्ता गरे एउटा लक्ष्यका साथ एकोहोरिनु पो रहेछ ! ज्यान जाओस् लक्ष्यबाट विचलित नहुने ।

बैंकको सुविधाजनक जागिर मेदिनीको लक्ष्य थिएन । सम्पत्ति र भौतिक सुख पनि अन्तिम लक्ष्य थिएन । थियो त प्रोफेसर बन्नु र विश्वविद्यालयमा पढाउनु । ज्ञानको उचाइमा पुग्ने यही तिर्खाले उनलाई एकोहोरो बनायो । अनि मेदिनी बहुलाए । विश्व प्राकृतिक वातावरणका जानकार बने । 

हो मेदिनी ! बहुलाउन सक्ने क्षमता भएका मान्छे दुर्लभ हुन्छन् ।