अनि मेरो अहंकार ध्वस्त भयो

233

केही प्रश्नोत्तरी बेगर विषय प्रवेश अधुरो नै रहन्छ । 

जीवन के हो ? जवाफ हजारौँ आउलान् । अब प्रश्न के हो त ? मेरो विचारमा ‘प्रश्न’ रहस्यको द्वार हो तर प्रश्न रहस्यको द्वारका रूपमा प्रयोग भएको बिरलै पाइन्छ । सवाल–जवाफ, तर्क–वितर्क इत्यादिको माध्यका रूपमा मात्र छ प्रश्न ! आफूभित्र प्रवेश गरेर अनुभवजन्य ‘उत्तर’ उद्घाटित गरेर मन ‘प्रसन्न’ गराउँछ भने प्रश्न सार्थक हुन्छ, अन्यथा ब्यर्थ ! प्रश्न ‘उत्तर’ खोज्नमात्र नभएर अनुभवका लागि हो भने जीवन बहुआयामिक बन्न पुग्छ । 

फेरि एकपटक प्रश्नतर्फ फर्किऔँ : ‘जीवन के हो’ ? मेरो अनुभवमा आफूले पढेको, बुझेको, जानेको, सुनेको, अड्कल गरेको, चिन्तन गरेको इत्यादि विषयभन्दा पर मन, बुद्धि, अहंकारको वशभन्दा बाहिरको अनुभव ‘जीवन’ हुँदोरहेछ । अब यहाँ एउटा द्विविधा उत्पन्न हुन्छ : अहिलेको हाम्रो दिनचर्या सञ्चालन गर्ने यो जीवित शरीर र यसको आयु जीवन हो कि होइन ? अर्थ संकुचित गर्दा यो पनि जीवन हो । 

अब प्रचलित दुई शब्द ‘गुरु’ र ‘शिक्षक’ बीचको भेद छुट्याउनु आवश्यक हुन्छ । आजभोलि ‘गुरु’ शब्द ‘शिक्षक’ शब्दको समानार्थी बनाइएको छ । शिक्षक त्यो हो जसले पुस्तकको प्रश्नको उत्तर पहिल्याउन सिकाउँछ अथवा प्रश्नको उचित उत्तर सिकाउँछ । गुरु त्यो हो जसले ‘हामी’ लाई जे आवश्यक छ त्यो अनुभव गराउँछ । अब यहाँ ‘हाम्रो आवश्यकता’ मा बाह्र हात लामो प्रश्न ठडिन्छ : धन, इज्जत, ब्यवहार, कारोबार, ब्यापार … (?) कति हो कति ! एक प्रकारको दोबाटो जस्तो, जीवनमा यहीँनिर हामी चिप्लिँदा रहेछौँ ! 

हामीले देखेको हाम्रो ‘आवश्यकता’ र हाम्रो ‘वास्तविक आवश्यकता’ बीच आकलन गर्न नसकिने भिन्नता हुँदो रहेछ । हामी आवश्यकता ठानेर जेजति कुराका पछाडि दौड लगाइरहेका छौँ (भौतिक अथवा आध्यात्मिक) ती सबै एउटा पाटोका दौड रहेछन् । यसो हुँदा अधुरो यात्रामा जीवन बित्दो रहेछ । भौतिक त बुझियो रे, अधुरो छ, अधुरै यात्रा भयो तर आध्यात्मिक यात्रा कसरी अधुरो होला र भन्ने प्रश्न यहाँ खडा हुन्छ । 

एउटा उत्तरले यसको निदान गर्न सकिन्छ । गुरुआज्ञाले अवलम्बन गरिएको अध्यामिक मार्ग भए त्यो श्रेय र पूर्ण हो, आफूलाई उचित लागेर मात्र अवलम्बन गरिएको हो भने त्यो अधुरो ! यो उत्तरले अध्यात्ममार्गमा गुरुको अपरिहार्यता निर्धारण गर्छ ।

यहाँ अरू भयङ्कर जटिल प्रश्नहरू उत्पन्न हुन्छन् : गुरु को हो ? गुरुको पहिचान कसरी गर्ने ? कुन मार्ग मेरा लागि श्रेय छ ? इत्यादि ! हामीमा ‘शिष्य’ भाव उत्पन्न भएर गुरुको आवश्यकता सृजना भएका बखत गुरु कुनै न कुनै रूपमा हाम्रा सामु उपस्थित हुन्छन् । त्यसो भए गुरु खोज्दै नहिँड्ने त ? गुरुको आवश्यकताको भाव र बोध गुरुकै अनुकम्पाबाट मात्र हामीभित्र उत्पन्न हुन्छ र यो डोरीले नै गुरुसम्म पु-याउँछ । 

यहाँ अरू केही प्रश्न उत्पन्न हुन्छन् । मोक्ष चाहिएको छ, ज्ञान चाहिएको छ, भगवान चाहिएको छ, धाम चाहिएको छ, सिद्धि चाहिएको छ । अब गुरु कहाँ खोज्ने ? यी प्रश्नहरू आध्यात्मिक देखिए पनि जवाफ खोज्दा गुरु पाइन्न । प्रश्नको उत्तर त शिक्षकले दिन्छन् । शिक्षक खोज्न टाढा जानु पर्दैन । अहिले त झन इन्टरनेटले पनि जस्तै जटिल प्रश्नको जवाफ पनि तुरुन्त दिन्छ, त्यो विषय आध्यात्मिक होस् अथवा भौतिक । कुरो बुझ्दै जाँदा कुरो केही पनि बुझिन्न र ‘गुरुवं शरण्यम’ को शरणागति भाव उत्पन्न हुन्छ । गुरु तत्क्षण उपस्थित हुनुहुन्छ । यो हो गुरुलीला ! 

बाल्यकालदेखि अहिलेसम्म एउटा अभ्यास गर्दै हामी हुर्कियौँ, राम्रो र असल ब्यक्ति बन्नुपर्छ भन्ने । यसैको सेरोफेरोमा विभिन्न श्रेणीका शैक्षिक अभ्यास सम्पन्न गरिए । घर–परिवार, समाज, राष्ट्र अनि समष्टि ब्रहृमाण्डप्रति ‘राम्रो’ ब्यवहार गर्ने–गरिने वातावरण तयार भयो । हामी सबै आआफ्नो ठाउँबाट आआफ्नो हैसियतले भ्याएसम्म राम्रो र असल ब्यक्ति बन्न अनवरत प्रयत्नरत छौँ । यो प्रयत्न मृत्युपर्यन्त जारी रहन्छ । मृत्यु शैयामा लमतन्न सुतेको ब्यक्तिले समेत आफ्नो चेतनाले भ्याएसम्म अन्तिम बिदाइका लागि आएका आगन्तुकसँग ‘राम्रो’ हुने प्रयत्न गर्छ ! लगभग मृत्युको पूर्वाभास भएपछि यसै मर्ने–उसै मर्ने, के को लोलोपोतो भनेको भए हुन्थ्यो ! यो राम्रोपना एक हिसाबले हाम्रो जीवनको ऊर्जा हो । हामी सबैलाई इज्जत, प्रतिष्ठा र प्रसंशा चाहिएको छ । यो प्राप्तिको सबैभन्दा सरल मार्ग ‘राम्रोपना’ विकास गर्नु हो । आध्यात्मिक होस् वा भौतिक, दुवै शिक्षाको सार नै ‘राम्रोपना’ को विकास गर्नु हो, संस्कृतमा एउटा श्लोक छ : 

‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । 

परोपकारः पुण्याय पापाय परपीडनम् ।।’

पुण्य प्राप्त गर्न र आगामी जीवन सहज बनाउनसमेत राम्रोपनाको विकास नगरी हुँदैन । बाटामा हिंड्दा होओस् अथवा परोक्ष संवाद गर्दा, हामी आफ्नो प्रशंसा सुन्न रुचाउँछौँ । कसैलाई दुई–चार पैसा सापटी दिएर गुन लगाएको भए पनि सापटी लिने ब्यक्तिले दिनको गुनको बखान गरोस् भन्ने चाहन्छौँ । हाम्रो व्यवहारमा ‘राम्रोपना’ को अपरिहार्यता सबैले पूर्णरूपेण अनुभूति गरेकै हुन्छ । 

मूल विषय प्रवेश गरूँ : 

गत महिना जीवनयात्रामा एउटा नयाँ अनुभव थपिन आयो । एक महिना नेपालको अमुक स्थानमा गुप्तवास बसेर गुरुका सान्निध्यमा जीवन सिक्ने दुर्लभ अवसर प्राप्त भयो । अष्ट्रेलिया प्रवासमा भासिएको अवस्थामा यस्तो दुर्लभ अवसरको निम्ता पाउनु अनि सहभागी हुन पाउनु दुर्लभ संयोग हो, गुरुप्रसाद हो । केही अपवाद छाडेर समग्रमा ‘मैले’ आफूलाई ‘राम्रोपना’ को आवरणले सुरक्षित गरेको छु । भनौँ, आफ्नो सम्पूर्ण मिहिनेत यही आवरण सृजना गरेर यसैलाई भरथेग गर्न खर्च गरेको छु । काममा इमानदार देखिनेदेखि साथीभाइसँग सहिष्णु बन्ने अनि सबैसँग न्यायोचित र यथोचित ब्यवहार गर्ने प्रयास यसैको उदाहरण हो । यस्तै अभ्यास हामी धेरैले गरेका हुन्छौँ । यसै सिलसिलामा मेरो गुप्तवासको गुप्त–अभ्यास पनि यो आवरणले प्रभावित तुल्यायो । 

मेलबर्नबाट प्रस्थान गरेलगत्तै गुरुदेवले मेरो आगमनप्रति विशेष चासो राख्नुभयो । म निर्दिष्ट स्थानमा नपुगेन्जेल गुरुदेवले बेचैनी महसुस गर्नुभयो भन्ने कुरो उहाँ सामु पुग्दा प्रष्ट अनुभव भयो । ‘हामीलाई त्यहाँ देखेर बल्ल गुरुदेव प्रसन्न हुनु भयो’ भन्ने प्रतिक्रिया अन्य सहभागीबाट सुन्दा मेरो ‘म’ फुलेर कुन रूपमा विकसित भयो होला !

पुगेको भोलिपल्ट कार्यक्रम सुरु भयो । यो अभ्यासमा केही आचार–विचार कडिकडाउका साथ पालना गर्नुपर्ने थियो । निर्दिष्ट आचार–विचार पालनाका साथ गुरुका सामीप्यमा निर्दिष्ट अभ्यास गर्दै पाँच दिन बित्यो । छैटौँ दिन गुरुदेवले मप्रति एक प्रकारको उदासीनता देखाउनुभयो । सधैँ आफूसँगै लगेर खाना खुवाउने, समय समयमा ‘ब्रेक’ लिन प्रेरित गर्ने गुरुदेवको ब्यवहारमा अचानक परिवर्तन आयो । मेरो उपस्थिति गुरुदेवले बेवास्ता नै गरिदिनु भएजस्तो अनुभूति भयो । यसरी नै उदासीन ब्यवहार गर्नु थियो त अष्ट्रेलियादेखि किन बोलाउनु पथ्र्याे र ! कसैलाई केही भनी वा गरी बिराएको पनि सम्झना छैन । यस्तो प्रश्न चसक्क बिझ्यो !

दश दिनसम्म अलिक अप्ठ्यारो मान्दै बित्यो । त्यो साँझ मेरालागि अप्रत्यासित भयो । गुरुदेवले मैले गरिरहेको अभ्यास एकरति नमिलेको र फेरि पनि नमिल्ने प्रतिक्रिया दिनुभयो । यस्तो प्रतिक्रिया मेरा लागि अप्रत्यासित मात्र नभएर अकल्पनीय नै थियो । नमिलेको भए गुरुदेवले किन सिकाउनु भएन ? 

म आफूलाई निकै जान्नेसुन्ने ठान्छु । संसारको जुनसुकै विषयमा पनि मैले मेरो प्रतिक्रिया अथवा विज्ञता प्रदर्शित गर्ने गरेको छु । मैले आजसम्म ‘मलाई थाहा छैन’ भन्नु परेको थिएन ¤ संस्कृत व्याकरणदेखि विज्ञानका सूत्रसम्म सबै मलाई थाहा छ । एउटा अभ्यास मिलेन, उच्चारण मिलेन । कसरी मिलेन ? जसो गुरुले भन्नुभएको छ, त्यसै भन्दै छु । अनि पनि मिलेन, फेरि मिलेन, खै मिल्दै मिलेन ¤ अचम्म ¤ होइन यसरी अपहेलित नै गर्नु थियो त अष्ट्रेलियाबाट बोलाउनुपर्ने जरुरत के थियो ? फोनमै एक–दुई गाली गरे भइहाल्थ्यो ! 

मेरो अहंकारको पहिलो प्रतिक्रिया गुरुका टिप्पणीप्रति !

मैले अरू सहभागीका सामुन्ने आफूलाई यति निम्छरो र गए–गुज्रेको सम्झिएँ, त्यसको कुनै सीमा नै छैन ! बिस्तारै मेरो मथिङ्गल तात्न थाल्यो । यो मथिङ्गल यसरी तात्न थाल्यो कि यसले १९औं दिनसम्म अखडा जमायो । यो उद्वेग नकारात्मक अर्थात कालो दिशातर्फ धकेलियो । मेरो बुझाइमा मेरा गुरु काम नलाग्ने, अरू उपर हैकम जमाउन मात्र खोज्ने, जुनसुकै तरिकाले भए पनि आफ्नो पाऊ मुनी सबैलाई राख्नुपर्ने… इत्यादि । 

यसरी सुरू भएको मेरो ‘म’ आफैँभित्रको नराम्रो पाटो, अन्धकार, आन्तरिक नरक यात्रातर्फ मोडियो । मेरो मथिङ्गलमा यति पतीत, नीच, घृणित (सामान्य अवस्थामा कल्पनासम्म गर्न नसकिने) विचार मडारिए, जसलाई शब्दले बुझाउन गाह्रो पर्छ । एघारौँ, बाह्राँै दिन गर्दै अठारौँ दिनसम्म लगातार कहालीलाग्दो अहंकारको तुष्टिका लागि मनले तयार गरेको यो मानसिक दुरवस्था अनन्त जस्तो लाग्यो । थुइक्क ! मेरो सुकसुकाउँदो, राम्रो, चिल्लो, टकटकी चम्किलो ‘राम्रोपना’ को आडम्बर ! कसैको एक वचनसमेत सहन नसक्ने ! 

अठारौँ रात काट्न मलाई निकै कठिन भयो । प्रातःकाल अनायास एउटा भाव जाग्यो । यो अन्त्यहीन कहालीलाग्दो शृंखला अन्त्यको एउटा मात्र उपाय गुरुदेवसँग ‘कन्फेस’ गर्नु अथवा गुरुलाई आफ्नो मनोदशा भन्नु हो । बिहान एक घण्टा जति अलिकति चैनको सास फेरेँ । उपाय त आयो, अब गएर मजस्तो अहंकारीले गुरुसँग याचना कसरी गर्ने ? मानसिक याचना गरौँ, यतिसम्म अपवित्र र पतीत सोच प्रवाह गर्ने मानिसको मानसिक याचना ? शाब्दिक अथवा शारीरिक याचना गरौँ ? मजस्तो आफूलाई पढे–लेखापढा, जान्ने–सुन्ने, झण्डै सर्वगुणसम्पन्न सम्झिनेले कसरी ‘माफ’ माग्न सक्छु ? 

बडो असामाञ्जस्यमा परेँ । मानिस प्रदूषित रहुन्जेल मानसिक पूजा, याचना इत्यादि काम लाग्दैन । यसका लागि शाब्दिक वा शारीरिक कर्म नै गर्नु पर्छ । ‘म गलत रहेछु, मेरो चिन्तन गलत रहेछ’ भनेर आफैँ महसुस गर्न त खासै गाह्रो काम होइन तर त्यो कुरा कसैका सामुन्ने शारीरिक र शाब्दिक भावले कबोल गर्नु निकै चुनौतीपूर्ण कार्य रहेछ । 

मैले अठोट गरेँ । म गुरुदेवसँग यो कालो कुराको याचना शारीरिक र शाब्दिक दुवै रूपमा गर्छु । यो गर्ने साहस गर्छु । यहाँ पुनः एकपटक मानसिक द्वन्द्व उत्पन्न भयो । मैले गर्ने याचना पुनः पनि अहंको तुष्टिका लागि मात्रै भयो भने त्यो ब्यर्थ हुनेछ । एउटा आडम्बरबाट अर्को आडम्बरमा डेरामात्रै सर्ने पो हो कि ¤ अठोट गरेँ, पहिले भन्छु अनि अरू बाँकी हेरौँला ! 

उन्नाइसौँ दिन बिहान अठोट गरेर गुरुदेव समीप गएर कान समातेर दशपटक उठ–बस गरेँ अनि मेरो मनोदशा भनेँ, ‘गुरुदेव मेरो मनमा अत्यन्तै घृणीत र पतीत विचार मात्रै…।’ 

मेरो वाक्य टुंगिन नपाउँदै मुसुमुसु हाँस्दै गुरुदेवले भन्नुभयो, ‘बिस्तारै अभ्यास गर्दै जानू, आफैँ ठीक हुन्छ !’ 

अनि मेरो अहंकार ध्वस्त भयो ।

गुरुदेवको मुस्कान यस्तो थियो मानौँ वहाँलाई मेरो मनोदशा अथवा मेरा मानसपटलका सबै कृत्य–कल्प्य अक्षरसः थाहा थियो ! गुरुदेवका सामुन्ने त्यति कुरा भनेपछि मेरो मानसले यू टर्न लियो ! अहो ! मेरो अहोभाग्य ! यस्ता करुणामय गुरु प्राप्त गर्नु । मेरो अहोभाग्य ! मेरा गुरु कति दयावान मलाई उद्धार गरेर पाताल–रसातलबाट यहाँ ल्याउनुभयो… ! मेरो मानसपटल देखेर म आफैँ दंगदास ! अहिले भर्खरसम्म त्यस्तो घृणीत कुविचार चलाउने मानस ! अहिले हेर यसले पल्टी खाएको !

अहिले मेरा सामुन्ने दुइवटा ‘म’ छन्, एउटा राम्रो ‘म’ र अर्को कालो ‘म’ । यी दुवै ‘म’ को एउटै आधार ‘मानस’ र यी दुवैको आश्रय अहं ! यहाँको अन्तर–विश्राम दृश्य शब्दमा व्याख्या गर्न सकिन्न !

अब मलाई छुट्याउन गाह्रो भयो कि मेरो कुन चाहिँ मानसिक वृत्ति सही हो त ? यदि एउटै आधार हो भने या त दुवै सही या दुवै गलत ! यस मानसिक मोडमा मन, बुद्धि, अहं र महत् प्रष्ट दृष्टिगोचर हुँदो रहेछ ! द्रष्टाले त राम्रो–नराम्रो दुवै उत्तिकै अभिरुचिका साथ हेर्दो रहेछ ! 

अब पुनः मेरो मानस गुरु मुस्कानमा अडियो ! गुरुदेवको मुस्कान यस्तो थियो कि वहाँबाट कुनै कुरा पनि छिपेको थिएन । मेरो मानसपटल वहाँले पारदर्शी हिसाबले नियाल्नुभएको थियो ¤ त्यसो भए मेरा यस्ता पतीत निःकृष्ट र घृणीत विचार वहाँलाई थाहा भयो त ? गहिरो मुस्कान हेरेर यति कुरो लख काट्न गाह्रो थिएन, वहाँलाई सबै थाहा भयो ¤ अब वहाँलाई थाहा भयो भने के को डर ? होइन थाहा छैन भने झनै के को डर ? यति कुरा त पक्का भयो मन–बुद्धि र अहंजन्य कुरा अशुद्ध नै हुँदा रहेछन्, ती जतिसुकै राम्रा किन नहुन् । 

ठूलो परिमाणको स्वच्छ वस्तुमा थोरै परिणामको दूषित वस्तु मिसिए पनि पूरै परिमाण दूषित हुन जान्छ । यसरी नै, राम्रा र नराम्रा दुवै खाले विचार एकै मानसका उपज रहेछन् ! दुवैमा अथवा दुईमध्ये कुनै एकमा भरोसा गर्नु ब्यर्थ रहेछ ! मैले ठाने, अब मैले यो कुरा गुरुदेवलाई भन्नुपर्छ । मध्याहृनको विश्रामपछि शौचबाट फर्किंदा बाटामा गुरुदेवले भन्नुभयो, ‘भावना पनि मानस नै हो, त्यसलाई पनि भरोसा गर्नु हुन्न । आफ्नो ध्येय अभ्यासमा केन्द्रित गर्नुपर्छ !’

(अष्ट्रेलियाबाट)