‘अपेक्षा अनुरूप पर्यटकको संख्या बढ्न सकेन’

205

काठमाडौं । भ्रमण वर्ष सुरु हुन एक महिना बाँकी रहँदा चालु आर्थिक वर्षको अक्टोबरसम्ममा ९ लाख ७५ हजार ५ सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पर्यटकको संख्या १३ लाख पुग्ने अपेक्षा रहेको बताए । उनले भने, ‘अक्टोवर महिनाको तथ्यांक हेर्दा १० प्रतिशतले बढेमा १३ लाख पर्यटक पुग्ने अपेक्षा छ ।’ उनका अनुसार गत वर्ष ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका थिए । 

उनले चालु आर्थिक वर्षमा सोचेजस्तो पर्यटक नआएका कारण २० लाख पर्यटक भिœयाउने सरकारको लक्ष्यमा पुग्न कठिन हुनसक्ने बताए । उनले एयरपोर्टको समस्या र नेपालमा फैलिएको डेंगुको त्रासका कारण पनि चालु आर्थिक वर्षमा पर्यटकको संख्या सोचेअनुरूप बढ्न नसकेको उल्लेख गरे । हवाई मार्ग मर्मत गर्नका लागि सेक्टेम्बरदेखि डिसेम्बरसम्म दैनिक ८ घण्टा बन्द गरिएको छ । पर्यटक भित्रिने समयमा हवाई मार्गको मर्मत तथा केही समयअघि डेंगु प्रकोप फैलिएका कारण यो समयमा पर्यटक घटेको उनको भनाइ छ ।

नेपालमा सन् १९९८ देखि भ्रमण वर्ष मनाउन थालिएको हो । सन् १९९७ मा ४ लाख २१ हजार ८ सय ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । १९९८ मा ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटक नेपाल भित्रिएका थिए । १९९८ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । १९९९ मा ४ लाख ९१ हजार ५ सय ४ जना पर्यटक भित्रिएका थिए । त्यस्तै सन् २००० मा ४ लाख ६३ हजार ६ सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

सन् २०११ मा १० लाख पर्यटक पु-याउने लक्ष्य राखिएको थियो । सन् २०१५ मा पर्यटकको संख्यामा ३१ प्रतिशतले कमी आएको थियो भने सन् २०१६ मा ४० प्रतिशतले वृद्धि भएको थियो । यस्तै सन् २०१७ र २०१८ मा २५ प्रतिशतले पर्यटक बढेको तथ्यांक छ । 

सरकारले तोकेका एक सय नयाँ गन्तव्य र पुराना गन्तव्यहरूको तयारी ४५ प्रतिशत बाँकी छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण र मर्मत सम्भार गरिसक्ने पर्यटन बोर्डको भनाइ छ ।