अमर विभूति इमानसिंह

112

जसको जन्म हुन्छ उसको अन्त्य हुन्छ । जो जन्मदैन ऊ मर्दैन तर युगपुरुषहरू मेरेर पनि नाम अमर राख्न पुग्छन् । यही पंक्तिमा किरात भाषा विशेषज्ञ इमानसिंह चेम्जोङ पनि पर्दछन् । उनको जन्म सन् १ जनवरी १९०४ मा कालिम्पोङ्को रिन्केबुङ्मा भएको हो । पल्लो किरात लिम्बुवानको थुम पान्थर आङ्सराङ्बाट उनका पिता मेघवरसिंह परदेशिएका थिए । उनका बुबाले दावपुहाङ्मासँग विवाह गरेका थिए । उनीहरूका २ छोरा र ३ छोरी सन्तान भएकामा इमानसिंह अन्तरे भाइ हुन् । इमानसिंहको बाल्यकाल आध्यात्ममय रहृयो । 

धार्मिक, सुशील ज्ञानकी आमा र बुबाको अनुकूलताका कारण उनलाई पढलेख गर्न राम्रो वातावरण बन्यो । पढाइमा तीक्ष्ण बुद्धिका उनले सन् १९२६ मा कालिम्पोङ उच्च विद्यालयबाट २२ वर्षको उमेरमा म्याट्रिक पास गरेका थिए । कलकता सेन्टजेबियर महाविद्यालयबाट आइए उत्तीर्ण गरेपछि बिएको अध्ययन गरिरहेका बेला उनका बुबाको स्वर्गारोहण भयो । उनले घर फर्किएर व्यवहार सम्हाल्नु पर्दा उच्च शिक्षा हाँसिल गर्न बाधा प-यो । 

उनी हिन्दी, अंग्रेजी, बेंगुली, नेपाली, भोटिया, लाप्चे र किरात भाषाका ज्ञाता थिए । उनले आफ्ना याक्थुङ्वाको भाषा, लिपि र साहित्यको प्रथम सुरुवात गर्न सन् १९२५ जुलाई २६ तारिखमा सर्दार मैतसिंह थेगिमको घरमा सभा बोलाएका थिए । उनले किरात लिपि देखाएर पढी वाची सुनाउँदा सबैजना छक्क परे । सबै एकमत भई यो हाम्रो भाषा, अक्षर बुझ्यौँ, पढ्छौँ, पढाउनु पर्छ भन्दै जुरुक्क उठे । सर्वसम्मतिबाट ‘याक्थुङ्हाङ् चुम्लुङ’ नामक संस्था खडा गरी किरात धर्म, संस्कृति, भाषा, लिपि, इतिहासको संरक्षण र सम्बद्र्धन गर्न कालिम्पोङबाट शंखनाद गरे । 

चुम्लुङको बृहत् उद्देश्यलाई सिक्किम, आसाम, भुटान, काइटा, देहरादुन, पञ्जाव, धर्मशाला, कलकता, बर्मा र सिंगापुरसम्म फैलाए । पश्चिम सिक्किम याक्थुङ गाउँघर र बस्ती बस्तीमा घुमी घुमी प्रचार गरी गेन्टोकमा रिभेन्यु इन्स्पेक्टर सेवा छोडेर नेपालमा प्रवेश गरी सन् १९५२ ताका नेपालको पूर्वीय क्षेत्र लिम्बुवानमा आए । 

त्यहाँ अखिल लिम्बुवान चुम्लुङ सभाको हेडअफिस इलाममा स्थापना गरी आफू सभापति र प्रधानमन्त्री तेजबहादुर प्रसाईलाई राखी चेतना जगाउन थाले र उनले यसैमा जीवन उत्सर्ग गरे । संस्थाको नीति जनता र राज्यमा जानकारी दिन सन् १९५३ मा श्री ५ त्रिभुवनसँग दर्शनभेट गर्न काठमाडौं आए । यसपछि विसं २०१३÷२०१४ सालमा दुईपटक ९ बुँदे, १३ बुँदे र १६ बुँदे मागसहित लिम्बुवानको प्रमण्डलले आफ्नो धारणा श्री ५ को सरकार र तमाम जनतासमक्ष राखेर सबैलाई सुसूचित गर्ने काम गरेका थिए । 

वर्ग, जाति, साथी, समाज र राष्ट्रको उत्थानमा जीवन समर्पण गर्ने इमानदार व्यक्ति इमानसिंहलाई विसं २०१५ सालको प्रथम आम निर्वाचनमा कुनै पार्टीले टिकट नदिँदा स्वतन्त्र उम्मेदवारी बेन पनि उनी विजयी बन्न सकेनन् । ज्ञानी, शिक्षित उच्च चेतनाका प्रभावशाली व्यक्तित्वहरूको प्रोत्साहन हिजोआज र भोलि पनि हुन नसक्ने मानवीय विडम्बना सतीको सराप साँच्चै हो कि भनेझँै लाग्छ । ‘ओइलिएर जान्छन् फूलहरू चिसो ती पाखा हिउँदोमा, मरेर जान्छन् प्रतिभाहरू चिन्दैनन् मानिसले जिउँदोमा’ महाकवि देवकोटाको याद आउँछ । 

सन् १९६१ देखि त्रिविमा किरात भाषा र संस्कृति विशेषज्ञको रूपमा उनी करार सेवामा नियुक्त भए । त्यसबेला उनको तलब ४०० रुपैयाँ थियो । त्यहाँ काम गर्दागर्दै उनी सिनासमा गए । उनले त्रिविमा १५ वर्ष सेवा गरे । स्वदेश वा विदेश जहाँ रहे, बसे पनि आफ्नो अध्ययन, अनुसन्धान र लेखनमा लागिरहेर उनले निम्न पुस्तक सिर्जना गरे र आपूmलाई अब्बल स्रष्टा र द्रष्टा व्यक्तित्वमा रूपमा स्थापित भए ः 

१. किरात वेद किरातको मुन्धुम, सन् १९३१

२. किरात इतिहास, सन् १९४८

३. किरात साहित्यको इतिहास, सन् १९५५

४. किरात दन्त्यकथा, सन् १९६१

५. लिम्बू, नेपाली अंगे्रजी शब्दकोश, सन् १९६१

६. किरात मुन्धम खाहुन, सन् १९६५

७. हिस्ट्री एण्ड कल्चर अफ द किरात पिपुल, १९६७

८. याक्थुङ चुक्मुक साम्जिक मुन्धुम, सन् १९६९

९. लाप्चे, नेपाली, अंग्रेजी शब्दकोश, सन् १९७४

१०. किरातकालीन विजयपुरको इतिहास, सन् १९७४

११.  किरात व्याकरण, सन् १९७४

१२. किरात प्रथम वर्णमाला भाग–१ र भाग–२

किरात प्रथम वर्णमाला भाग १ र २ आदिसमेत उनले दर्जनौं कृतिहरू सिर्जना गरेका छन् । यसैले उनी अजर अमर बन्न पुगे र किरात विभूतिसमेत बने । 

आधा शताब्दीभन्दा लामो जीवनको सम्पूर्ण समय यही विषयमा लागेर किरात भाषा साहित्यलाई शून्यबाट यतिको उचाइसम्म उठाउने श्रेय लिन उनी सफल बने । इमानसिंहको चित्रांकित हुलाक टिकट प्रकाशन गरी राज्यले उनलाई राष्ट्रिय प्रतिभाको सम्मान दिएको छ । लिम्बू र नेपाली पाठ्यक्रममा उनको जीवनी समावेश गरिएको छ । 

दार्जिलिङ निवासी अमिरन श्रेष्ट अन्तरीसँग प्रणयमा बाँधिएका चेम्जोङका छोरा हाङसिंह, मोहानसिंह, छोरी नूरजुहाङमा, सुनुहाङमा र सुखहाङमा लगायत ९ नातिनातिनीहरू उनका वंशज अवशेषहरू हुन् । 

किरात भाषा विशेषज्ञ, लिपिका सर्जक, साहित्य स्रष्टा, कर्म द्रष्टा, किरात इतिहासका शिरोमणि, संस्कृतिका अन्वेषक, किरात धर्मपालक सारमा भन्नु पर्दा २०औं शताब्दीका युगप्रणेता महान दार्शनिकको मुन्धुम माङसाप्ला सँगसँगै उनी युगका अमर विभूति हुन् । उनले किरात वेद मुन्धुम नलेखेका भए सिंगो किरात धर्म नै अपूर्ण हुन्थ्यो । 

उनै होनाहार अमर किरात विभूति इमानसिंहको ११७औं जन्म जयन्तीको सन्दर्भमा उनमा श्रद्धासुमन । हृदय रोगले ग्रसित उनको दार्जिलिङको प्लान्टर्स अस्पतालमा उपचार गर्दागर्दै विसं २०३३ साल असोज २२ गते शुक्रबार भारतीय समय अनुसार साँझ ७ः०५ बजे ७१ वर्षको उमेरमा उनको देहान्त भयो । 

शुक्रबार क्राइष्ट, महम्मद, शुकरात, गान्धी, अब्राहम लिंकनकै मरणको बार र तिथि हो । यसलाई महान पुण्यतिथि मानिन्छ र यसदिन उनको पनि देहान्त भएको थियो । उनको यो दिनको स्वर्गारोहण निश्चय नै शुभ संयोग मानिन्छ ।