आत्महत्या दुरुत्साहन : अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध चितवन जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्कीविरुद्ध अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो । जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार मुलुकी अपराधसंहिताको दफा १८५ बमोजिम तीनै जनालाई सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता भएको हो । 

यसअघि तीनै जनालाई दुईपटक अदालतबाट म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयले घटनाका बारेमा अनुसन्धान गरेका थियो । अदालतले गत मंगलबार आत्महत्या प्रकरणमा मुछिएका तीनै जनालाई दोस्रोपटक म्याद थप गरेर हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।   

त्यसअघि, साउन ३१ गते अदालतले कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी कार्कीलाई पहिलोपटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति दिएको थियो । उनीहरू तीनै जनालाई चितवन प्रहरीले काठमाडौं प्रहरी परिसरसँगको समन्वयमा साउन ३० काठमाडौंका फरकफरक स्थानबाट नियन्त्रणमा लिएको थियो । 

साउन २२ गते चितवनको नारायणगढस्थित बसपार्कमा रहेको ‘कंगारु होटल’ मा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भनिएको भिडियोमा लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको बयान गरेका छन् । भिडियोमा पक्राउ परेका कँडेल र कार्कीको नाम पनि मुछिएको छ । 

यसैबीच, चितवन जिल्ला अदालतले मुद्दा दर्ता भएसँगै आइतबारै अभियुक्तहरूको थुनछेक बयान लिन सुरु गरेको छ । अदालतका अनुसार आइतबार अस्मिताको बयान सकिएको छ । सोमबार बिहान १० बजे न्यायाधीश हेमन्त रावलकै इजलासमा लामिछाने र कँडेलको बयानपछि थुनछेक बहस सुरु हुनेछ । ‘आज (आइतबार) एकजनाको बयान सकियो,’ अदालतका स्रेस्तेदार गिरीले भने, ‘भोलि (सोमबार) बिहान अन्य दुई प्रतिवादीको बयानपछि थुनछेक हुनेछ ।’

कार्यालय समय सकिएकाले प्रस्तोता लामिछानेसहित तीनै जना प्रतिवादीलाई प्रहरीकै जिम्मा लगाइएको छ । बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय जिल्ला अदालतबाट हुनेछ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनमा आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरिएको छ । रविको समर्थनमा चितवनमा प्रदर्शन जारी छ । रविलाई आइतबार पनि थुनामा पठाइएपछि जिल्ला प्रहरी कार्यालय नजिकै उनका समर्थकहरूले रिहाइको माग गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीको भिड नियन्त्रण गर्न प्रहरी लाठी र अश्रुग्यास प्रहार गरेको थियो । शनिबार राजाधानी काठमाडौंमा पनि उनको पक्षमा प्रदर्शन र भाषण भएको थियो ।