आफैँभित्र नरक यात्रा

84

मानव शरीरलाई ऋषिमुनिहरूले ‘यत् पिण्डे तत् ब्रहृमाण्डे’ अर्थात् ‘लघुब्रहृमाण्ड’ भनेका छन् । मानव शरीरमा जे छ, त्यही यस ब्रहृमाण्डमा छ । जो भित्र छ, उही बाहिर, जो बाहिर छ सो भित्र छ । ब्रहृमाण्ड होस् वा शरीर, दुवैको संरचना स्थूलदेखि सूक्ष्म वा सूक्ष्मदेखि स्थूल, यही क्रममा आधारित हुन्छ । आधुनिक युगको आजसम्म आइपुग्दा विज्ञान अर्थात् साइन्सले धेरै फड्को मारिसकेको छ । 

अब यहाँ साइन्सको चर्चा नगरी अघि बढ्दा हलो अड्किन्छ । 

आधुनिक संसारको आधार साइन्स हो । आधार नबनाई घर बनायो भने ढल्छ, तासको घरजस्तो । जानकारीमा आएसम्म साइन्स को परिभाषा लगभग यस्तो हुन्छ, 

‘कुनै प्रश्न, संरचना वा आधारको कारण, क्रिया र कारकको अध्ययन गरी त्यसको चुरो पत्तो लगाउनु विज्ञान अर्थात् साइन्स हो ।’ खोज गरी पत्तो लगाऊ । समकालीन सोचअनुसार साइन्सले नभनेको कुराको कुनै अस्तित्व हुन्न ! विधि–विज्ञान भएकाले कुराको चुरो पत्तो नलागेसम्म राजनीतिमा जस्तो अड्कलका भरले मुख बाउँदैन साइन्सले । साइन्सले भूत छैन भन्छ । यहाँ साइन्सले भूत छैन भन्नुको अर्थ भूतबारे तथ्यप्रमाण फेला परेको छैन भन्ने हो । जानकारीमा आएसम्म अहिलेसम्म भूतको अस्तित्व छैन भनेर सिद्ध गरेको वैज्ञानिक सूत्र प्रकाशित भएको पाइएको छैन । भूत छ कि छैन भनेर खोजी चलिरहेको होला । यहाँ साइन्सका नाउँमा अड्कल चल्दैन । जुन कुरा तथ्य र प्रमाणका आधारमा प्रमाणित हुन्छ, प्रयोगशालामा परीक्षण गर्न सकिन्छ, त्यो ‘साइण्टीफिक’ अथवा वैज्ञानिक कुरा हो । अप्रमाणित कुरा नभएर खोजी हुन बाँकीभित्र पर्छ । 

नयाँ युगको अर्को बिखेत कस्तो भयानक छ भने त्यसको कुनै सीमा नै छैन । टाक्कटुक्क लेखपढ गर्न थालेपछि नै हाम्रो ‘विज्ञकारिता’ को चमत्कार सुरु हुन्छ । साह्रै अचम्म लाग्ने तर लोकप्रिय उद्गार सुरु गर्छौं । मेरो विचारमा सबै डाक्टर, सबै वैज्ञानिक ¤ अझ धर्मसंस्कृति अथवा सनातनी कुरो आयो भने पक्ष होस् कि विपक्ष, सनातनको विषयमा एक कौडो ज्ञान नभएको मान्छे पनि पाखुरा खैँचिदै प्रतिक्रिया दिन्छ । मेरो विचारमा भगवान् छन्, छैनन् इत्यादि । लेखापालले औषधिको सिफारिस लेखेको जस्तो ¤ 

यस्तो विज्ञकारिता सबैभन्दा ठूलो बिख हो बौद्धिक विकासमा । वैज्ञानिक स्टेफेन हकिन्सले आफूलाई अनीश्वरवादी घोषित गरे । यस कुरालाई आधार मानेर अड्कलकारिता हृवात्तै मौलायो । स्टेफेन हकिन्सले ईश्वर हुँदैन भने । यो कुरा हकिन्सको मतमात्रै हो, वैज्ञानिक सूत्र अथवा आविष्कार होइन । मतले विचार प्रमाणित हुन्छ तर साइन्स चाहिँ सूत्रले मात्रै प्रमाणित हुन्छ । त्यसैले यहाँ चर्चा गर्न लागेको विषयमा साइन्स छिराउन मिल्ने अवस्था छैन । आधुनिक विज्ञान अथवा साइन्सले यस विषयका तथ्य, कारण, प्रमाण आदि फेला पारेको छैन । भनिसकियो, तथ्य, कारण पत्तो नलागेको विषय भनेको प्रमाणित नभएको हो । 

विषय प्रवेश : सनातन धर्मअन्तर्गतका विभिन्न पुराणहरूमा नर्कको वर्णन र गतिका विषयमा व्याख्या पाइन्छ । झण्डै यस्तै किसिमका नरकहरूको वर्णन बौद्ध धर्ममा पनि पाइन्छ । स्वर्ग र नरक (नर्क) भोग पनि भनिन्छन् । पृथ्वीलोकमा जन्मिएको मानवलाई चाहिँ ‘कर्मयोनी’ भनिएको छ । पृथ्वीलोकको मानव र अन्य लोकमा विभिन्न शरीर लिएर यात्रा गर्ने जीवका बीच एउटामात्रै भिन्नता हुन्छ । मानवसँग कर्म गर्ने क्षमता हुन्छ, अरू शरीरसँग भोग भोग्ने क्षमतामात्र । अब सुरुमा उल्लेख गरिएको ‘यत् पिण्डे तत् ब्रहृमाण्डे’ सूत्र यहाँ पुनः व्याख्या गर्दा ती पुराण तथा कथामा वर्णित स्वर्ग–नर्क इत्यादि सबै यसै शरीरभित्र अवस्थित छन् । अन्तःकरण चतुष्टय अर्थात् १) मन (मानस–माइण्ड), २) बुद्धि (इन्टलेक्ट), ३) अहंकार (पर्सनालिटी) र ४) महत् (इगो) यी लोक–लोकान्तरका भोगका माध्यम र वाहक हुन् । (धेरैजसो पुस्तकमा मन, बुद्धि, चित्त र अहंकार भनेर अन्तःकरण चतुष्टय व्याख्या गरेको पाइन्छ । त्यसको बौद्धिक महŒव अलग्गै छ) यहाँ अन्तःकरण चतुष्टयको संक्षिप्त चर्चा गर्नु उपयुक्त हुन्छ । 

मन : संकल्प अर्थात् कुनै वस्तुको प्राप्ति र त्यसको अप्राप्तिको विकल्प परिचालन गर्ने संयन्त्र मन (मानस–माइण्ड) हो । मनको विस्तार अनन्त हुन्छ । यसको गति राम्रो विचार र नराम्रो विचार गरेर दुवैतर्फ अनन्तसम्म हुन्छ । न राम्रोतर्फको सीमा हुन्छ, न त नराम्रोतर्फको नै । हाम्रो मनमा यो राम्रो र नराम्रो दुवै बराबर मात्रामा रहेको हुन्छ । कतिपय विद्वानहरूले मनको व्याख्या गर्दा राम्रो, नराम्रो र मिश्र तीन प्रकारको कर्म गर्न प्रेरित गर्ने संयन्त्र भनेको पाइन्छ । राम्रोभित्र नराम्रो मिश्रित भएपछि मिश्र कर्म हुन्छ भनिएको हो तर नराम्रोको लेसमात्र राम्रोमा मिसिए पनि त्यो प्रदूषित भइहाल्छ र त्यो नराम्रो नै बन्न पुग्छ । हाम्रो मानव अस्तित्वमा सबैभन्दा बलशाली संयन्त्र मन नै हो । मनसँग राम्रो–नराम्रो छुट्याउने क्षमता (डिस्क्रिमिनेटिभ एबिलिटी) हुँदैन ।

बुद्धि : मनको संकल्प–विकल्पले निर्धारण गरेको लक्ष्य हासिल गर्न उपाय लगाउने संयन्त्र बुद्धि (इण्टलेक्ट) हो । बुद्धि नै यस्तो संयन्त्र हो जोसँग भेद अर्थात् दुईवटा (राम्रो–नराम्रो, योग्य–अयोग्य, ग्राहृय–अग्राहृय इत्यादि) पक्ष छुट्याउने क्षमता (डिस्क्रिमिनेटिभ एबिलिटी) हुन्छ । धेरैजसो पुस्तकमा मन बुद्धिको अधीनमा हुन्छ भनिएको छ तर बुद्धि मनको गोठालो हुँदोरहेछ । जे मनले अह्राउँछ, त्यही प्राप्त गर्ने उपाय बुद्धिले लगाउँछ । 

अहंकार : मन र बुद्धिको सल्लाहमा प्राप्त विषयहरू ग्रहण गर्ने अथवा नगर्ने (ग्राहृय र त्याज्य, एक्सेप्ट र रिजेक्ट) दुईमध्ये एउटा छनोट गरेर महत्लाई तुष्टि सम्प्रेषित गर्ने संयन्त्र अहंकार (पर्सनालिटि) हो । यो अहंसँग ग्राहृय–त्याज्यबाहेक अन्य कुनै क्षमता हुँदैन । यो ग्रहण र त्याग क्षमताले नै हाम्रो व्यक्तित्व विकास गरेको हुँदोरहेछ । अहं स्वयंले कुनै पनि निर्णय गर्न सक्दैन, बुद्धिको सिफारिस अपरिहार्य हुँदोरहेछ । 

महत् : मनको संकल्पलाई बुद्धिले कार्यरूप दिएर अहंलाई सम्प्रेषित गरेको सूचनाका आधारमा अहंले ‘तुष्टि’ अथवा ‘असन्तुष्टि’ दुईमध्ये एक सूचना महत्लाई पठाउँछ । यो तुष्टि अथवा असन्तुष्टिको भोग अनुभव गर्ने संयन्त्र महत् (इगो) हो । महत्सँग भोगको सूचना प्राप्त गरेर तुष्टिको मोद प्राप्त गर्नेभन्दा अर्को कुनै क्षमता हुँदैन । 

अन्तःकरण चतुष्टयमा सबैभन्दा बलशाली संयन्त्र मन हो । सनातन धर्मले जे जति विधान गरेको छ, त्यो सबै यसै मनलाई बुझ्न र यसलाई निवृत्त गर्नका निमित्त गरेको छ भन्दा अत्युक्ति नहोला । मैत्रायण्युपनिषद्मा मनलाई यसरी प्रस्तुत गरिएको छ ः

‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।

बन्धाय विषयासक्तं मुक्त्यै निर्विषयं स्मृतमिति ।।’

मन नै मनुष्यको बन्ध र मोक्षको कारण हो । विषय अथवा सांसारिक कामनामा आशक्त मन बन्धको कारण हो भने निर्विषय मन मोक्ष प्रदायक । स्वर्ग–नर्क–लोक–भोग–मोक्ष सबैको मूल मन नै हो । मन इन्द्रिय हो । मनले नै शरीरबाहिरको सूचना ज्ञानेन्द्रियमार्फत उपलब्ध गराउँछ । यसैअनुसार सूचना बुद्धिलाई सम्प्रेषित गर्छ, बुद्धिले अहंलाई अनि अहंले महत्लाई । जब अहंले महत्लाई असन्तुष्टि वाचक मोदको सूचना सम्प्रेषित गर्छ तब असन्तुष्ट महत्ले अहंलाई प्रताडित गर्दोरहेछ । जब अहं प्रताडित हुन्छ तब त्यसले पहिलो प्रहार बुद्धिलाई गर्दोरहेछ । जब बुद्धि अपमानित हुन्छ, तब त्यसको भयंकर छाल मानस अर्थात् मनमा उत्पन्न हुन्छ । यहाँ बुझ्नुपर्ने कुरो के रहेछ भने यदि महत्ले ‘तुष्टि’ को मोद प्राप्त गरे स्वर्गीय आनन्दानुभूतिको उच्छ्वासले र ‘असन्तुष्टि’ को मोद भए नारकीय पीडानुभूतिले मानस उद्वेलित हुँदोरहेछ । मानवले नित्य सम्पन्न गर्ने कर्मको परिपाक हुँदा यिनै दुईमध्ये एक अथवा दुवै अनुभूति हुने मनस्थिति उत्पन्न हुँदोरहेछ । यदि सबैखाले कर्म गर्दा यी दुईमध्ये कुनै पनि अनुभूति उत्पन्न भएन भने चाहिँ बुझ्नु निष्काम कर्म हुँदैछ ।

आफूले सही ठह-याएर जुन काम गरिरहेको होइन्छ, यदि त्यो काम गलत भइरहेको छ भनेर कसैले हामीलाई सच्याउँदा हाम्रो अहंले असन्तुष्टिको मोद महत्मा सम्प्रेषित गर्दो रहेछ र त्यहाँबाट उद्वेलित महत्को कोर्रा मानससम्म आइपुगेपछि तीन चरणको नरकको अनुभूति हुँदो रहेछ : १) अन्धातमिश्र, २) महारौरव, ३) कुम्भीपाक ।

अन्धातमिश्र : अन्धातमिश्र भनेको भयंकर अँध्यारो । जब, मानस उद्वेलित भावले प्रतिशोधको संकल्प–विकल्पभित्र प्रवेश गर्छ, त्यहाँ अन्धकारबाहेक केही पनि हुँदोरहेनछ । जब मन घोर अन्धकारमा धकेलिन्छ, तब मनले आफू पनि केही देख्दैन अनि अरूले पनि केही देख्दैन भन्ने ठान्दोरहेछ । यो अन्धकारभित्र मनको संकल्प–विकल्पको लहर यति घिनलाग्दो हुन्छ, त्यसलाई शब्दले बुझाउन सकिन्न । मनले आफू सच्चिनका निमित्त कुनै प्रयत्न नगरी आफ्नै यन्त्रणालाई लिँडेढिपीले प्रमाणित गर्ने संकल्प–विकल्पमा पहिलो छाल किन भएन ? कसरी भएन ? मलाई नआउने हो र ? मलाई के ठानेको ? म यति पनि नजान्ने मान्छे हो र ? इत्यादि प्रश्नहरूले मानस क्रमशः अन्धकार हुँदै घोर अन्धकारतर्फ धकेलिदो रहेछ । यी प्रश्नले मन चिसो हुँदै जाँदो रहेछ । चिसोको मात्रा क्रमशः बढ्दै जाँदा त्यो शरीरमा प्रतिबिम्बित हुँदोरहेछ । एक्कासि जाडो बढेर आउने, शरीर काँप्ने, अनुहार काँप्ने इत्यादि अनुभूत हुँदोरहेछ । यस चरणको नरकवासमा मनले आफूले गरिरहेको कार्यको कुनै तथ्य–कारण नभए पनि ‘अनकण्डीशन्ली’ जायज छ, ठीक छ भन्ने यन्त्रणाको भोग हुँदोरहेछ । मृत्युपर्यन्त मान्छेले यस्तै किसिमको नर्क भोग गर्छ–गर्दैन त्यो यसै भन्न पाइएन तर यो अन्धातमिश्र नरक हाम्रो मानसमा अवश्य हुँदोरहेछ । 

महारौरव : यो नरक अत्यन्त तातो, टेक्ने भुइँ तातो, समाउने आधार तातो, श्वास तातो, निःश्वास तातो, जे जति छ सबै तातो । हेर्दा नौलो रंग सबै उम्लिएको तामाजस्तो, बिस्तारै तात्दै जाने । मैले गरेको भएन भने कस्तो हुनुपर्ने ? नभएको निर्धारण गर्ने आधार के ? इत्यादि महारौरव नरक प्रवेशका मार्ग रहेछन् । मानस जति प्रश्नमा अल्झिन्छ उति नै तात्न थाल्छ । मानसको अवधारणा यो हुँदोरहेछ कि मैले जे गरिरहेको छु, त्यो एकमात्र सत्य हो । त्यो जसरी पनि सही हो, जुन आधारमा पनि सही हो । मानसको यो चरण महारौरव नरक चरण रहेछ । यहाँ यो नरकको विशेषता कुनै पनि प्रश्न सेलाउन नदिई त्यसको तापमान अझै वृद्धि गर्नु हो । यहाँ मनको संकल्प तातो, विकल्प तातो । त्यो तातोपनाले जे जे उत्पन्न हुन्छ त्यो सबै तातो । क्रोध, उद्वेग, द्वेष, ईष्र्या, जलन, घृणा इत्यादि सबै तातो । तापमान झन् बढ्दै जाँदा यसको तापले नधान्ने गरी मानस तात्न थाल्छ । अनि, संकल्प–विकल्पले अझै उग्ररूप लिन्छ र भोग अझ अगाडि बढ्दोरहेछ ।

कुम्भीपाक : उम्लिँदो तेलमा च्वाइँच्वाइँ पारेर तपाउने ताप यस नरकको विशेषता हो । आफ्नो संकल्प सही वा गलत जे भए पनि आफूले गर्दै आएको (खाइपाइ आएको) कृत्य–कल्प्य त्यस क्षण उपरान्त सम्भव नभएपछि प्रतिशोधको ज्वाला मानसमा प्रवेश गर्छ । तब कुम्भीपाक नरकयात्रा सुरु हुँदोरहेछ । यहाँ कस्ता–कस्ता संकल्प–विकल्प हुन्छन्, ती शब्दमा वर्णन गर्न सकिन्न । यो नरक प्रवेश गरेपछि मानस त उद्वेलित हुन्छ नै, शरीर झनै प्रताडित हुँदोरहेछ । चिटचिट पसिना आउनु, थरथर काँप्नु, उठी सुख न बसी सुखको अवस्थाबाट शारीरिक लक्षण प्रस्फुटित हुँदोरहेछ । जसरी तेल जति तात्छ, त्यति नै बल्दै जान्छ, त्यसरी नै प्रतिशोधको संकल्प–विकल्प मानसमा जति चल्दै जान्छ । मन झन् सल्किँदै जान्छ । यसको भोग अनन्त हुन्छ । 

हुन त यी सबै नारकीय अनुभूति हामी सबैले दैनिकजसो नै गरिरहेका हुन्छौँ । हाम्रो मानसले यसलाई ‘नरक’ नभनेर अरू नै कुराले त्यसलाई टाल्ने, छोप्ने इत्यादि गर्छ । हाम्रो बुद्धिले हामीलाई मानसको अन्धकारभित्रको घोर कहालीलाग्दो कर्तुतभित्र प्रवेश गर्न दिएको हुँदैन । यसलाई निषेधित क्षेत्र (फर्बिडन जोन) का रूपमा बुद्धिले ढाकेर राखेको हुँदोरहेछ । के मानस र बुद्धिको तिकडममा छलिएर यसरी नै नारकीय अनुभूतिलाई नै महत्को ‘तुष्टि र असन्तुष्टि’ को मोदमा रमाउन हाम्रो मानव जीवनको सृष्टि भएको हो त ? यो अनन्त तापको शृंखला कहिलेसम्म ? यसको सृष्टि मेरै मानसमा भएको हो भने अन्त्य पनि मेरै मानसमा छ । यो प्रश्न जब मानसमा उत्पन्न हुन्छ, तब नरक यात्राको चरण समाप्त हुँदोरहेछ ।

(अष्ट्रेलियाबाट)