आफ्नै जनताको लागी केही गर्न नसकेका गच्छदारको राजनीति कुर्सीको लोभ मात्रै।

90

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका गच्छदारले मुलुकको विकासमा के योगदान दिए ?लोकतान्त्रिक आन्दोलनमा के गरे ? आफ्नै क्षेत्र र गाउँको आर्थिक, सामाजिक विकासमा कस्तो भूमिका खेले । यो कुरा बुझ्न टाढा जानै पर्दैन । उनकै गृह जिल्ला सुनसरी क्षेत्र नं. ३ को दुहवी नगरपालिका, बर्जु, चिमडी गाउँपालिका गए पुग्छ जहाँ वर्षौंदेखि गरिबी, अशिक्षा र अन्धविस्वासको भुमरीमा जिवनयापन गर्ने जनताको झुपडी छ ।

 

चार दशक नेपाली राजनीतिमा शक्तिशाली पदमा रहँदा गच्छदारले आफ्नो गाउँका जनताको जिवनस्तर उकास्न हरेक चुनाबमा रक्सी र मासु बाँड्न भन्दा अरु केही जानेनन् । ‘विकासको दृष्टिकोणले अन्य क्षेत्रभन्दा पछाडी रहनुमा त्यहाँबाट नेतृत्व गर्नेले जनताका लागि भन्दापनि आफ्ना लागि सोचे ।’ स्थानीय भन्छन् ।

२०४६ सालपछिको बहुदलिय शासन ब्यवस्थापछिका दिनहरु गच्छदारका सुनौला दिन हुन् । अस्थिर सरकारको फाइदा उठाउँदै पटक–पटक शक्तिशाली मन्त्रालयका मन्त्री भएका गच्छदारले आफ्नो प्रभाव कायम राख्न कांग्रेसमा एउटा समुह नै बनाएका थिए ।  २०४८ सालपछि कांग्रेसका खुमबहादुर खड्का र गोविन्दराज जोशीसँग मिलेर गच्छदारले आफुलाई सधैं शक्ति केन्द्रको वरीपरी राखे । विजयकुमार, खुमबहादुर र गोविन्दराज जोशीको समुहलाई ‘केजिबी’ समूहका रूपमा चिन्दथे । पार्टीभित्र यी तीनको मित्रताले एक अर्कालाई शक्तिशाली बनाएको थियो । कांग्रेसभित्र ‘केजिबी’को समुह यति बलियो थियो कि, गुट उपगुटमा अल्झिएको कांग्रेसमा यीनीहरुले जसको ‘फेरा’ समात्थे त्यहि समुह बलियो हुन्थ्यो ।  

तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको नजिक भएर गच्छदारले पार्टी र सरकारमा आफ्नो पटक मजवुत बनाएका थिए । लामो समय गिरिजाप्रसाद कोइरालाको छत्रछाँया भएर राजनीति गरेका उनले २०२६ सालमा नेपाली कांग्रेसको राजनीति शुरु गरेका थिए । पञ्चायती शासन ब्यवस्थाका विरुद्ध करिब ७ वर्ष जेल जिवन विताएका गच्छदार पहिलो पटक २०४८ सालको संसदीय निर्वाचनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हुँदा सुचना तथा सञ्चार राज्यमन्त्री भएका थिए ।  
पहिलो पटक सुचना तथा सञ्चार राज्यमन्त्री भएका गच्छदार तीन वर्ष सरकारमा रहेछ । त्यसपछि २०५२ सालमा नेकपा एमालेको ९ महिने सरकार ढालेर नेपाली कांग्रेसले सरकार गठन गर्यो । शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा गच्छदार निर्माण तथा यातायातमन्त्री भए ।  

२०५४ सालमा सुर्यबहादुर थापा गठबन्धनको सरकारमा पुनः निर्माण तथा यातायातमन्त्री भएका गच्छदारले त्यसपछि आफ्नो राजनैतिक तथा आर्थिक हैसियत दिन दुगुणा रात चौगुणा बढाउँदै गए ।  राजनीतिक अस्थिरतासँगै २०५५ सालमा पुनः गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । त्यो सरकारमा समेत गच्छदार निर्माण तथा यातायातमन्त्री हुन सफल भए ।  

त्यसपछि २०५६ साल जेठमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार गठन भयो त्यहाँ पनि उनी पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । मंसिरमा पुनः मन्त्रीमण्डल परिवर्तन हुँदा उनी जलस्रोतमन्त्री भए । त्यसको दुई वर्षपछि २०५८ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा जलस्रोत मन्त्री भए ।  पद र प्रतिष्ठानका लागि राजनीतिक आस्था समेत तिलाञ्जली दिन पछि नपर्ने गच्छदारले आफुलाई केन्द्रमा राख्न अनेक जालझेल गर्दै आफुलाई काखी च्यापेका गिरिजाप्रसाद कोइरालालाई त्यागेर पार्टी फुटाएका शेरबहादुर देउवाका पक्षमा आएका थिए ।  

देउवा पक्षमा आएपछि करिब ७ वर्ष सरकारमा जाने मौका गच्छदारलाई मिलेन । त्यसपछि उनले मधेश आन्दोलनमा सहभागी हुने भन्दै उपेन्द्र यादवको मधेशी जनाधिकार फोरममा गए । त्यसपछि पहिलो संविधानसभाको निर्वाचन पछि पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा गठित सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री भए ।  
दाहाल सरकार एक वर्षमै ढलेपछि नेकपा एमालेका माधबकुमार नेपालको सरकारमा उपप्रधान तथा भौतिक योजनामन्त्री बने । २ वर्षे नेपाल सरकारको पतनपछि डा। बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भयो । त्यसमा पनि उनी उपप्रधान सहित गृहमन्त्री भए । त्यसको तीन वर्षपछि पुनः केपी ओली नेतृत्वको सरकारमा गच्छदार पुनः उपप्रधान सहित भौतिक पूर्वाधारमन्त्री भए । त्यसपछि आएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित स्थानीय विकासमन्त्री भएका गच्छदार अन्तिमपल्ट शेरबहादुर देउवाको सरकारमा उपप्रधान सहित स्थानीय विकासमन्त्री भएका थिए ।  

सत्ता लुछाचुँडीको खेलमा जति सरकार ढल्दै गए, त्यत्तिनै बन्दै जाँदा गच्छदारले आफुलाई सधैं कुर्सीकै अगाडी पछाडी राख्न सफल भएका छन् ।  २०१० सालमा सुनसरीको पचिरामा जन्मिएका गच्छदारलाई नेपाली राजनीतिमा ‘सकुनी’ पनि भन्छन् । तत्कालिन समयमा नेपाली कांग्रेसमा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइराला विच फाटो ल्याएर पार्टी टुक्र्याउने अभियानमा गच्छदारले देउवालाई राम्रै साथ दिएका थिए । तराईको थारु समुदायको ब्यक्ति भएकोले पार्टीमा उनलाई स्थान दिनुपर्छ भन्ने थिए । तर, उनले आफुलाई सच्चा कांग्रेस बनाउन सकेनन् । मात्र पद पैसाका लागि राजनीति गरे।

कांग्रेसबाट राजनीति थालेका उनले २०६४ मा कांग्रेस लाई समेत लात हानेर उपेन्द्र यादवको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । त्यहाँपनि धेरै समय टिक्न नसकेपछि उनले २०६६ मा फोरमलाई फुटाएर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरी माधवकुमार नेपालको सरकारमा गएका थिए । त्यसपछि गच्छदारको राजनीतिमा केही ब्रेक लाग्यो । पटकपटक पार्टी परिवर्तन गरेको आरोप लागेका गच्छदार आफ्नो भविष्य खोज्दै ०७४ सालमा कांग्रेसमा फर्किए ।  त्यसको एक वर्षपछि पार्टीमा उपसभापतिमा मनोनीत भए । साथै ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अनेक जालझेल गरेर चुनाब जिते । आफ्नै सरकार थियो, स्थानीय प्रशासनका कर्मचारी प्रहरी समेत लगाएर चुनाब जितेका गच्छदार अहिले नेपाली कांग्रेसको संसदीय दलका उपनेता र पार्टीको उपाध्यक्ष छन् ।  

चार पटक उपप्रधानमन्त्री समेत १२ पटक मन्त्री बनेका गच्छदारले आफ्नो गाउँ ठाउँका लागि केहि नगरेको स्थानीयको गुनासो पटकपटक उठ्ने गरेको छ । पटकपटक भौतिम निर्माण तथा यातायातमन्त्री भएका गच्छदारले आफ्नै गाउँमा सडक बनाउन सकेका छैनन् । पटक पटक जलस्रोतमन्त्री बनेका गच्छदारले सिचाईको अभावमा आफ्नै गाउँका किसानका गरा फाटेको देख्न सकेका छैनन् । पटकपटक स्थानीय विकासमन्त्री भएका उनले स्थानीय जनतालाई विकासका आधारभुत संरचना दिन सकेका छैनन् ।  

ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि गच्छदारको राजनीति यात्रा समाप्त भएको राजनीतिक विष्लेषकको धारणा छ । त्यसमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति समेत अनुसन्धान गर्ने बताएपछि गच्छदारलाई टाउको दुखाई भएको छ ।  

विजयकुमार गच्छदारको राजनीतिक यात्रा :

२०४८ पुसः सुचना तथा सञ्चार राज्यमन्त्री

२०५२ असोजः निर्माण तथा यातायातमन्त्री

२०५४ मंसिरः निर्माण तथा यातायातमन्त्री

२०५५ बैशाखः निर्माण तथा यातायातमन्त्री

२०५६ जेठः पर्यटन तथा नागरिक उड्डयनमन्त्री

२०५६ फागुनः जलस्रोतमन्त्री

२०५८ साउनः जलस्रोतमन्त्री

२०६५ भदौः भौतिक योजना तथा निर्माणमन्त्री

२०६६ जेठः उपप्रधान तथा भौतिक योजनामन्त्री

२०६९ भदौः उपप्रधान तथा गृहमन्त्री

२०७२ असोजः उपप्रधान तथा भौतिक तथा पूर्वाधारमन्त्री

२०७४ बैशाखः उपप्रधान तथा स्थानीय विकासमन्त्री  

२०७४ माघः उपप्रधान तथा स्थानीय विकासमन्त्री

हालः प्रतिनिधिसभा सांसद
( साभार := माकालु खबर बाट )