‘इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन’

वासिंटन  । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछ भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन् । 

एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाब दिँदै लेखेको पत्रपछि पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका छन् । अमेरिकी सैन्य जनरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिनहरूमा फौज स्थानान्तरण गर्ने उल्लेख गरिएको बताइएको छ । 

इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी संकल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो । अमेरिकी रक्षामन्त्रीले उक्त पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताएका छन् । 

इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापछि अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्यौल सिर्जना भएको छ । इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताएका छन् । 

गत शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए । सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतंककारी’ समूहको नाइके भन्दै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको बताइएको छ । आक्रमणका लागि उनको निर्देशन रहेको अमेरिकाले नै बताएको छ । यता इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिएका छन् । इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिएका हुन् । शुक्रबार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि उनले अमेरिकाविरुद्धमा कडा रूपमा बदला लिने बताएका हुन् । 

इरानले तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । त्यस्तै, इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तर्राष्ट्रिय आतंकवाद भनी आरोप लगाएका छन् । 

शुक्रबार भएको उक्त सैन्य कारबाहीपछि उत्तेजकरूपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रूस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् तर युरोपेली संघले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशील भएर संयमता अपनाउन आग्रह गरेको छ । 

तनाव घटाउन आबे मध्यपूर्व जाने 

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्यपूर्वको भ्रमणमा जाने भएका छन् । उने अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्यूनीकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्ने भएका हुन् । 

प्रधानमन्त्रीको पार्टी लिवरल डेमोक्रेटिक पार्टीका एकजना प्रवक्ताले आबेले यही जनवरी १२ देखि जनवरी १५ सम्म मध्यपूर्वको भ्रमण गर्ने बताएका हुन् । पार्टीका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिएको बताइएको छ । मध्यपूर्वमा सिर्जना भएको तनावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ । प्रधानमन्त्रीले भने, ‘त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कूटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।’ 

वासिंटन र तेहरानबीचको सम्बन्ध सुधार्न मध्यस्तकर्ताको रूपमा प्रयास गरिरहेका आबेले ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सिर्जना हुनसक्ने आशंका गरिएको छ । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।