उखु किसान भन्छन् : पैसा नलिई घर फर्किन्नौं

252

काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत उखु किसानलाई घर फर्किन आग्रह गरेको छ । भुक्तानीका लागि चिनी उद्योगीलाई निर्देशन दिइसकेको जानकारी गराउँदै किसानलाई घर फर्किन आग्रह गरेको हो । बिहीबार राष्ट्रिय सभाको वैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको वक्यौता निर्त उद्योगीलाई निर्देशन दिइसकिएको जानकारी गराउँदै समस्याको समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा आफू उपस्थिति हुने प्रतिवद्धता व्यक्त गरे । तर आन्दोलनरत उखु किसान भने रकम लिएर मात्रै घर फर्किने अडानमा छन् । माइतीघर मण्डलमा धर्नामा रहेका किसान हरिश्याम यादवले बक्यौता रकम नपाएसम्म घर नफकिर्ने हिमालय टाइम्सलाई बताए । उनले भने– अस्ति सरकारसँग पनि वार्ता भयो तर रकम अहिलेसम्म भुक्तानी पाएको छैन, आश्वासनमात्रै पाएका छौं, त्यसैले रकम लिएपछिमात्रै फर्किन्छौ । उनले सरकारसँगको वार्तामा पुस २५ गतेसम्म ८० प्रतिशत वक्यौता भुक्तानी दिने र माघको पहिलो हप्तासम्ममा पूरै भुक्तानीको व्यवस्था मिलाउने आश्वासन पाएका थिए । त्यत्तिमात्र नभई सरकारी अनुदान रकम भुक्तानीमा सरलीकरण गरिनुका साथै मल बीउलगायतमा पनि अनुदान दिने आश्वासन पाएका थिए । त्यस्तै यसवर्षका लागि सरकारद्वारा निर्धारित उखुको मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा नै उपलब्ध गराउने आश्वासनसमेत पाएका थिए । उद्योगीले सरकारद्वारा निर्धारित मूल्य दिन नसकिने भन्दै ४ सय ३५ रुपैयाँमात्रै दिने बताएका छन् । हरिश्याम यादवले भने–हामीले अहिलेसम्म आश्वासमात्रै पाएका छौं, लिखितरुपमा केही भएको छैन, घर फर्किन कि भुक्तानी चाहियो, कि लिखित प्रतिबद्धता चाहियो ।

मन्त्री भट्टका अनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इञ्जिनियरिङ प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालिका सञ्चालक राकेशकुमार अग्रवाल मन्त्रालयको टेलिफोन सम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गतेभित्र सबै उखु किसानको बक्यौता भुक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको छ । त्यस्तै श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको छ । उनले मन्त्रालयको निर्देशनअनुसार माघको पहिलो सातासम्म उखु किसानको सम्पूर्ण बक्यौता चुक्ता गर्न निर्देशन भएको र यस बर्षको उखु तत्काल खरिद गरी मिल संचालन गर्न तथा भुक्तानी नगरेको मिलको कारोबार रोक्का राखिने व्यहोरा सबै मिललाई जानकारी गराइएको पनि स्पष्ट पारे । उनले उखु किसान र चिनि मिल सञ्चालककाबीच वर्षौदेखि देखिएको समस्याको दिगो समाधानका लागि सरोकारवाला मन्त्रालयका पदाधिकारी ,उखु किसान र चिनी मिलका प्रतिनिधि तथा विषय विज्ञसमेत रहने गरी समिति गठन गरिएको र सो समितिलाई १५ दिनभित्र प्रतिवेदन दिन भनिएको पनि भट्टले बताएका छन् । समितिलाई उखु दिनेबित्तिकै भुक्तानी किसानकै खातामा रकम जम्मा हुने स्वचालित पद्धति सिफारिस गर्ने, तौलमा हुने अनियमिता रोक्ने, बिचौलियाको प्रभाव र खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउने, उखु किसानको बाँकी बक्यौताको रकम एकिन गर्ने, उखु किनबेचलाई सबै कोणबाट व्यवस्थित बनाइ स्वचालित पद्धति अपनाउने गरी सरकारलाई सिफारिस गर्नेछ ।

छलफलको बीचैमा भागे केडिया

सर्लाहीस्थित महालक्ष्मी सुगर मिलका सञ्चालक विरेन्द्र कनौडिया उखु किसान र स्थानीय जनप्रनिधिबीचको छलफल बीचमै छाडेर भागेका छन् । उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार उखुको भुक्तानी र उद्योग सञ्चालनबारे छलफलका लागि बिहीबार सर्लाहीस्थित महालक्ष्मी सुगर मिल परिसरमा आयोजित कार्यक्रममा पनि कनोडियाले किसानको मागका बारेमा स्पष्ट जवाफ दिन नसकेपछि किसानको समूहले उनीमाथि आक्रमणको प्रयास गरेको थियो । आक्रमण प्रयासपछि कनोडिया प्रहरी सुरक्षाका भागेका थिए । उनी भागेपछि कार्यक्रम स्थगित भएको थियो । कनोडिया भागेपछि उनको महालक्ष्मी सुगर मिलमा स्थानीय जनप्रतिनिधिले तालावन्दी गरेको पनि मैनालीले जानकारी दिए । मैनालीका अनुसार छलफल कार्यक्रमममा १२ सयभन्दा बढी किसानको सहभागिता रहेको रहेको थियो । अन्नपूर्णले सुगर मिलले ५० करोड र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानी नगरे सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने उखुक किसानले चेतावनी दिएका छन् । उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार किसानले उखु बिक्री गरेबापत गत वर्ष र अघिल्लो वर्षको चिनी उद्योगीबाट अझै भुक्तानी पाएका छैनन् । यस्तै, सरकारले घोषणा गरेको उखु किसानलाई उत्पादन परिमाणका आधारमा अनुदान रकम पनि उपलब्ध गराएको छैन । गत वर्ष र अघिल्लो वर्ष चिनी उद्योगलाई उखु बिक्री गरेबापत उखु किसानले हालसम्म करिब एक दर्जन उद्योगबाट करिब डेढ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । यस्तै, सरकारबाट पाउनुपर्ने अनुदानबापतको एक अर्ब ३१ करोड रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् ।