उद्धारका लागि शनिबार चीन जाने तयारी

113

काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुबेईबाट नेपालीहरूको उद्धारका लागि आगामी शनिबार विमान पठाउने मोटामोटी तयारी गरेको छ । विमान पठाउन आवश्यक सबै तयारी भएको जनाइएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट नेपाली विद्यार्थीहरूको उद्धार गरेर क्वारेन्टाइनमा राख्ने र उपचार गर्ने पूर्वतयारीको काम सकिएको बताएका छन् । उनका अनुसार भक्तपुरको खरिपाटीमा १९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । चारवटा ब्लकमा १९९ बेड तयार रहेको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको छ । कुनै व्यक्तिमा संक्रमण देखिएमा तत्कालै क्वारेन्टाइन गर्न समस्या नहुने मन्त्री ढकालको भनाइ छ । 

चीनमा विद्यार्थीहरूलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरूलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसको सम्पूर्ण तयारी भएको उनले बताए ।  

विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिए पनि चीनमा रहेका नेपालीमध्ये एकजनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनमा रहेका १८० जना विद्यार्थीहरूले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् । 

यसैबीच, सरकारले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरू संक्रमित छन् भन्ने भ्रम हटाउन आग्रह गरेको छ । 

उनीहरूलाई नेपाल ल्याएर मापदण्डअनुसार १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले उनीहरूमा संक्रमण छ भन्ने भ्रममा नपर्न सरकारले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले उनीहरूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको तर नेपाल फर्काउने बेलामा चीनमा हुने परीक्षणमा कुनै व्यक्तिमा लक्षण देखिएमा चीन सरकारले नेपाल नपठाउने बताए । 

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले नेपाल फर्काएको क्वारेन्टाइनमा राखिने र कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल आइसोलेसन कक्षमा राखेर उपचार गरिने बताए । उनले विभिन्न अस्पतालहरूमा ४३ वटा आइसोलेसन बेडहरू तयार गरेको बताए । मन्त्री ढकालले बुधबारबाट २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध हुने बताए । नेपालमा अहिलेसम्म १८ जनामा आशंका गरिएकोमा १ जनामा मात्रै संक्रमण देखिएको र संक्रमित व्यक्ति पनि निको भएर घर फर्केको उनले बताए । 

स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालका प्रतिनिधिहरूलाई बोलाएर आ–आफ्नो अस्पतालमा आइसोलेसन सहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको मन्त्री ढकालले बताए ।