ऊर्जामैत्री शिवम्लाई एक करोड अनुदान

128

काठमाडौं । ऊर्जा कम खपत गरेबापत शिवम् सिमेण्टले एक करोड रुपैयाँ अनुदान सहयोग प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालकोे अनुदान सहयोग कायक्रमअन्तर्गत शिवम् सिमेण्टलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेकामा राष्ट्रिय वाणिज्य बैंकले बिहीबार एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम् सिमेण्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक हस्तान्तरण गरे ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले उक्त आयोजना कार्यन्वयनका लागि प्रोजेक्ट एक्जुकेटिभ एजेन्सीका रूपमा सहायतासम्बन्धी कार्य गर्दै आएको छ । आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र कम्पनीलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ । 

कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने व्यवस्था रहेको छ । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरू टेकराज जोशी, शिवम् सिमेण्टका कार्यकारी निर्देशक रघुनन्दन मारु, केएफडब्लुका नेपाल प्रतिनिधि ऊर्जा विशेषज्ञ नीरज सुवेदी, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्यायलगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

शिवम्लाई एनएस अवार्ड

यसैबीच शिवम् सिमेन्ट नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९ बाट प्रथम भइ सम्मानित भएको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगमध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र बिक्री गर्ने उद्योगलाई सम्मानस्वरुप प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एक कार्यक्रमबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरको उपस्थितिमा शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयल अवार्ड प्रदान गरेको थियो ।  ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले आफ्नै चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।