एनआरएनएसहित कतारका ४ संस्थाद्वारा दूतावासलाई दिए सुझाव

कतारस्थित नेपाली राजदूतावासलाई त्यहाँ रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित चार संस्थाहरुले संयुक्त सुझावपत्र बुझाएका छन् । नेपाली समाज कतार, नेपाली जनसम्पर्क समिति कतार, प्रवासी नेपाली एकता मञ्च कतार र गैरआवासीय नेपाली संघ कतारले नेपाली राजदूत समक्ष नेपाली श्रमिकहरुका समस्या तथा समसामयिक विषयहरुको विषयमा ध्यानाकर्षणसहित संयुक्त सुझावपत्र पेश गरेका हुन् ।

सो सुझावपत्रमा समेटिएका विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय, नेपाल कम्यूनिष्ट पार्टी, नेपाली कांग्रेस, समाजवादी पार्टी समेतलाई बोधार्थ पठाइएको छ ।

संयुक्त सुझावमा भिषा तथा श्रम स्विकृतिमा देखिएको भिन्नताले धेरै श्रमिकहरु अप्ठेरोमा परेकोले नेपाल सरकारले विदामा गएकाहरुको हकमा भिषा र श्रम स्विकृति साविकमा जसरी दिइएको छ, त्यसैगरी आउन दिने व्यवस्था गर्न अनुरोध गरिएको छ । तर नयाँ स्वीकृति दिने विषयमा भने अहिले गरेको निर्णयलाई नै यथावत राख्दा उचित हुने सुझाव रहेको छ । विशेषगरी तत्काललाई ड्राइभर भिषामा आएर टेक्निसियन, सेल्स, लेखा क्षेत्रमा काम गरिरहेकाको हकमा यो समस्या टड्कारो रुपमा देखिएको जनाइएको छ ।

यसैगरी वैदेशिक रोजगारीमा आउँदा गरिने श्रम स्वीकृतिको समयमा हरेक पटक बिमाबापतको रकम श्रमिकले ३ वर्षको तिर्नुपर्नेमा कतारको हकमा श्रमस्वीकृति २ वर्षको लागि दिइने गरेकोमा ३ वर्षको तिर्नुपर्ने व्यवस्थालाई सुधार गर्न अनुरोध गरिएको छ । । एक पटक श्रम स्वीकृति लिएर आउँदा विमा ३ वर्षको हुने तर श्रम स्वीकृति २ वर्षको लागि मात्र हुने भएकोले पहिलो चरणको सम्झौता पूरा गरी विदामा गएर पुनः आउनु पर्दा बिमा अवधि १ वर्ष बाँकी भए पनि पुनः बिमा नविकरण नगरी श्रम स्वीकृति दिइँदैन । यसो गर्दा कामदारले बिमाबापत थप बोझ सिर्जना भएको विषयलाई सरकारले निर्णय गरी समाधान अनुरोध गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुकमा जागिर लगाईदिने आश्वासन दिएर मेनपावर कम्पनी वा तीनका एजेन्टहरुसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाएर पठाउने सेटिङ अन्त्य गर्न सुझाव दिइएको छ । आजाद भिषाको नाममा ठगी धन्दा चलाएर मोटो रकम असुली गरी मान्छे पठाएर अलपत्र पार्नेलाई कारवाही गर्न पनि अनुरोध गरिएको छ । सुझाबमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन खाडी मुलुकका पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा हलाल गरेका खाना सहज उपलब्ध हुने व्यवस्था गर्न अनुरोध गरिएको छ ।