एपीएफको पहिलो जित

137

काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित निकालेको हो ।

एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । सरस्वतीका विनोद केसीले एक गोल फर्काए । जितसँगै एपीएफले ४ खेलमा ४ अंक जोडेको छ । एपीएफ लिगको १० औं स्थानमा रहेको छ । सरस्वतीको यो लगातार चौंथो हार हो । सरस्वती अंक विहीन रहेको छ ।

खेलमा दुवै टोलीले सुन्दर मौका खेर फालेका थिए । खेलको आठौं मिनेटमा दीपेश श्रेष्ठको बक्सभित्रको सशक्त प्रहार गोलरक्षक अमृतकुमार चौधरीले पञ्च गर्दै बचाए । १४औं मिनेटमा एपीएफका प्रविन स्याङ्तानको प्रहारलाई गोलरक्षक प्रदीप भण्डारीले बचाए । 

५५औं मिनेटमा दीपेश श्रेष्ठको प्रहारलाई एपीएफका गोलरक्षक अमृत चौधरीले उत्कृष्ट बचाउ गरे । ६०औं मिनेटमा आशिष लामाको क्रस पासमा नवीन लामाको प्रहार आकाशियो । 

८६औं मिनेटमा मनिष घलेको पेनाल्टी बकस बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा सरस्वतीले बराबरीको सुन्दर मौका गुमायो । इञ्ज्युरी समयको दोस्रो मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । लगत्तै विनोद केसीले गोल फर्काए पनि एपीएफले जित हासिल ग¥यो ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गतवर्ष रेलिगेसन सिष्टम नराखे पनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ ।