कतार भिसा सेन्टर : कामदारमाथि १४ हजार आर्थिक भार थपिँदै, सरकार नै सिन्डिकेट भित्र्याउने खेलमा

2281

काठमाडौं– वैदेशिक रोजगारीका लागि कतार जाने कामदारमाथि १४ हजार आर्थिक भार थपिने निश्चित जस्तै भएको छ। 

बुधबारदेखि कतारले औपचारिक रुपमा काठमाडौं महाराजगन्जस्थित भिसा सेन्टर सञ्चालनमा ल्याएसँगै कतार जाने कामदारमाथि आर्थिक भार थपिने देखिएको हो। सरकारले २०७५ जेठ २ गतेदेखि कामदारमाथि आर्थिक शोषण भएको भन्दै मलेसिया रोजगारी बन्द गरेपछि नेपाली कामदारको गन्तव्य मुलुकका रुपमा कतार रहँदै बन्दै आएको थियो। 

मलेसियामा नयाँ प्रक्रिया र भेन्डरमार्फत मात्रै कामदार पठाउने अडान राख्दै आएको सरकारले एक वर्ष बितिसक्दा पनि नयाँ प्रक्रियामार्फत मलेसिया रोजगारीका लागि कामदार पठाउन सकेको छैन। 

रोजगारीको खोजीमा हरेक महिना ४० हजारको संख्यामा विश्वका विभिन्न मुलुकमा पुग्ने कामदारमध्ये १६ हजारभन्दा बढी कतार पुग्ने गरेका छन्। 

कतारमा ५ लाखभन्दा बढी नेपाली कामदारहरु रहेको सरकारी अनुमान छ। 

कतार जाने कामदारको सहजताका लागि भन्दै कतार सरकारले नेपालमा कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन पटकपटक नेपाल सरकारसँग प्रस्ताव राख्दै आएको थियो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कतार जाने कामदारमाथि कतार भिसा सेन्टरले आर्थिक भार थप्ने र  सिन्डिकेट लाद्ने भन्दै  भिसा सेन्टर सञ्चालन गर्न नदिने अडान राख्दै आएका थिए।  अन्तत: मन्त्री विष्ट म्यानपावर व्यवसायी हेम गुरुङ, रोजगार व्यवसायी सघंका अध्यक्ष रोहन गुरुङ र महासचिव नरेश गेलालको दबाबका परेर कतार सेन्टरको अनुमति दिने तयारी गरेका हुन्।

२०७५ फागुन अन्तिम साता नेपाली उच्च अधिकारीहरुको टोली कतार र नेपालबीच सन् २००५ को श्रम सम्झौता पुनरावलोकन गरी नयाँ श्रम सम्झौता कायम गर्नेबारे छलफल भएको थियो। छलफलमा नेपाली टोलीले शून्य लागतमा नेपाली कामदार कतार जान पाउने प्रस्ताव अघि सारेको थियो। सोही बेला कतार भिसा सेन्टरका बारेमासमेत छलफल भएको थियो।  

कतारसँग छलफलपछि उच्च अधिकारी नेपाल फर्किएसँगै नेपालमा कतार भिसा सेन्टर सञ्चालनमा ल्याउनेबारे नेपाल सरकारमा थोरै लचकता देखिएको थियो। त्यसपछि कतारले नेपाली कामदारलाई कुनै पनि आर्थिक भार नपर्ने गरी शून्य लागतमा लैजान तयार भए कतार भिसा सेन्टरबारे नेपाल सरकार सकारात्मक रहने श्रम मन्त्रालयले जनाउँदै आएको थियो।

कतार जाने कामदारमाथि १४ हजार भार
कतार भिसा सेन्टर खुलेसँगै  प्रतिकामदार १४ हजार आर्थिक भार थपिने भएको छ। कतार रोजगारीका लागि प्रवेशाज्ञा तथा श्रमपत्र जारी गर्ने र श्रमिक र रोजगारदाताबीच अन्तिम श्रम स्विकृति, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच (फिंगर प्रिन्ट) लगायत प्रक्रियाका लागि १४ हजार भार थपिने भएको हो। 

कतार रोजगारीमा जाने कामदारहरुका लागि कतार भिसा सेन्टरमार्फत नै रोजगारीका अवसर सम्बन्धी सूचना प्राप्त हुने जनाइएको छ। 

कामदारको सहजताका नाममा कतार भिसा सेन्टर खडा गरी सरकारले नै कामदारमाथि सिन्डिकेट ब्युँताउने र आर्थिक भार लाद्ने प्रयास गरेको केही व्यवसायीहरुले आरोप लगाउन थालेका छन्। मलेसिया रोजगारीका लागि जाने कामदारमाथि पनि भिएलएन लगायत केही बायोमेट्रिक भेन्डर खडा गरी सिन्डिकेट कायम गर्दै प्रतिकामदार १७ हजारभन्दा बढी आर्थिक भार थपिएको थियो। 

श्रम मन्त्रालय भन्छः सेन्टरबारे जानकारी छैन
बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको कतार भिसा सेन्टरबारे आफू बेखबर भएको बताउँदै श्रम मन्त्रालय पन्छिन थालेको छ। 

यसअघि कतार जाने कामदारमाथि सिन्डिकेट खडा हुने भन्दै विरोध गरेजस्तो गर्दै आएको सरकारले कतार भिसा सेन्टर सञ्चालनका लागि स्विकृति दिएर पनि जानकारी नभएको बताउन थालेको छ।

‘हामीले कतार भिसा सेन्टर सञ्चालन गर्न नपाउने अडान राख्दै आएका थियौँ, हालसम्म पनि त्यो अडान कायम नै छ,’ श्रम प्रवक्त डा नारायण रेग्मी भन्छन्, ‘श्रम मन्त्राले भिसा सेन्टर सञ्चालन बारे कुनै पनि प्रतिक्रिया दिएको छैन।’

महासचिवले दिए राजीनामा
भिसा सेन्टर सञ्चालनमा ल्याउँदा कामदारमाथि आर्थिक भार पर्ने र भिसा प्रोसेसिङ लगायत काममा मलेसिया जाने कामदारमाथि जस्तै सिन्डिकेट कायम हुने भन्दै वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले राजीनामा दिने घोषणा गरेका छन्।

‘कतार जाने कामदारमाथि सिन्डिकेट सुरु हुने भएको छ, हामीले यसको सुरुदेखि नै विरोध गर्दै आएका छौँ,’ महासचिव गेलालले भने, ‘सुरुमा फ्री भन्छ र मलेसिया जाने कामदारहरुको जस्तै पछि कामदारहरुमा नै भार थपिन्छ।’ 

आफू पदमा भएर सिन्डिकेट लादिएको हेरिरहन नसकेपछि राजीनामा दिएको उनले बताए।

कतार जाने कामदारमाथि सिन्डिकेट लाद्न कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन केही व्यवसायीले नै दबाव सिर्जना गरिरहेको आरोप लागेको थियो। जसमा म्यानपावर व्यवसायी हेमजङ गुरुङ, भुषण राना लगायत अन्य केही व्यवसायी आरोपमा मुछिँदै आएका थिए। 

८ देशमा २० वटा कतार भिसा सेन्टर 
विदेशी कामदार लिने प्रक्रियालाई सहज तथा पारदर्शी बनाउने भन्दै कतार सरकारले विभिन्न  ८ देशमा २० भिसा सेन्टर सञ्चालनमा ल्याउन लागेको बताउँदै आएको थियो। 

बंगलादेश, पाकिस्तान लगायत केही दक्षिण एसियाली मुलुकमा कतारले भिसा सेन्टर सञ्चालनमा ल्याइसकेको जनाएको छ। 

कतारले कामदारमाथि थप आर्थिक भार नपर्ने गरी कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन लागेको भन्दै कतार भिसा सेन्टर सञ्चालनका लागि अनुमति दिएको जनाएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले कतार जाने नेपाली कामदारको हकहितका लागि कतार सकारात्मक देखिएकाले नेपालमा भिसा सेन्टर सञ्चालनका लागि अनुमति दिएको दाबी गरे।