कथा : गोद

117

सहरको आधुनिक सुखसयल र लाडप्यारयुक्त परिवेशमा हुर्किएका हिमेश र समिरा एउटै क्याम्पसका मिल्ने सहपाठी थिए । यी समृद्ध व्यापारी बाबुआमाका उरण्ठ्यौला छोराछोरी पढाइमा भन्दा पनि चलचित्र, रात्रिक्लब र डिस्कोबारजस्ता आधुनिक परिवेशमा बढी रमाउँथे । आधुनिक सहरी व्यस्तताको भुँमरीमा रुमलिएका दुवैका आमाबाबुले आफ्ना एकल सन्तानको पढाइ र दिनचर्यामा त्यति ध्यान दिँदैनथे बरु यिनीहरूको खुसीका लागि मागेजति निःसंकोच पु¥याइदिन्थे । 

यिनै कारणले गर्दा यिनीहरूको पढाइ राम्रो भएन । दुवैको सामाजिक हैसियत र व्यक्तिगत चाहनाहरू मिल्ने भएकाले यिनीहरू एकअर्कामा नजिकिन थाले । दुवैको हृदयमा प्रेमले डेरा जमायो । अब त उनीहरू क्याम्पसको कक्षा छोडेर कहिले चलचित्रघर त कहिले पार्कमा प्रेमालाप गर्न थाले । प्रेममा बढी दिलचस्सी भएपछि यिनीहरूको पढाइ बिग्रियो । दुवैको परीक्षाफल देखेर उनीहरूका बाबुआमा हतास भए । दुवैका परिवारले उनीहरूको प्रेमप्रसंगबारे थाहा पाए अनि समान हैसियतका दुवै परिवारको सहमतिमा उनीहरूको विवाह भयो । समिरा, हिमेशको घरमा नयाँ सदस्यका रूपमा भित्रिई । 

राजकुमारीझैँ आफ्नो माइतीघरमा हुर्किएकी समिराले आफ्नो मनको राजकुमारलाई त पाई नै साथमा आफ्ना सासुससुराबाट पनि माइतीघरको जस्तै माया, स्वतन्त्रता र ऐश्वर्य पाई । समिरा र हिमेशले पनि आफ्नो जिन्दगीको गाडी मोजमस्तीमा हाँसीखुसी गुडाइरहेका थिए । दुवै परिवारका बाबुआमा आफ्ना सन्तानकोे आपसी प्रेम देखेर औधी प्रसन्न थिए । 

आफ्नो भविष्यप्रति बेफिक्री हिमेश र समिराको वैवाहिक जीवनका सात वसन्त मोजमस्तीमै बिते । हिमेशका बाबुआमा पनि दिनदिनै अशक्त हुन थाले र आफ्नो व्यापार व्यवसायको बागडोर छोराले सम्हाले । आफूले नाति–नातिना खेलाउँदै घरैमा विश्राम लिने चाहना व्यक्त गर्न थाले । उता दिनदिनै अशक्त हुँदै गएका समिराका बाबुआमाले पनि आफ्नो एउटामात्रै सन्तान विवाहपछि आफूबाट बेग्लै भएकाले आफूलाई एक्लो र सहाराहीन महसुस गर्न थालेका थिए । विवाहपछि आफ्नी छोरी बाध्यताले पराई भए पनि एउटी नातिनीलाई आफूसँगै राखेर छोरीको कमी पूरा गर्ने मनसाय समिराका बाबुआमालाई पनि थियो । 

एक रात बिस्तरामा पल्टिएर हिमेश र समिरा भलाकुसारी गर्न थाले । ‘हेर न हिमु ! बिहे गरेको सात वर्ष भइसक्यो तर भगवान्ले मेरो कोखमा एउटा बच्चा पनि राखिदिएनन् । उता माइतीमा मामुबाबा पनि बच्चाबच्ची किन नजन्माएको भन्दै होइसिन्थ्यो ।’ रुञ्चे लवजमा समिरा खुसखुसाई । ‘मैले पनि प्रयास कहाँ नगरेको हो र ¤ तर, भगवान्ले सुनेनन् । बाबाआमा पनि नातिनातिना खेलाउन मन लाग्यो भन्दै होइसिन्थ्यो ।’ समिरालाई थप्थपाउँदै हिमेशले भन्यो । व्यक्तिगतरूपमा पनि त्यो जोडीलाई सन्तानप्राप्तिको चाहना तीव्र थियो ।

सन्तान जन्माउने जति प्रयास गरे पनि विफल भएका त्यो जोडीले डाक्टरकोमा जँचाएनन् कि धामीझाँक्रीलाई देखाएनन् ¤ सात सात वर्षको सबै प्रयास विफल भयो । समिरा प्रायः एउटा बच्चा आफ्नो काखमा खेल्दै आफ्नो स्तनपान गरेको सपना देख्थी । उता हिमेश पनि सपनामा छोरालाई पिठ्युँमा बोकी पार्कमा घुमाउँदै गरेको कल्पना गथ्र्यो । बाबुआमा पनि नातिनातिनाले आफ्नो काखमा खेल्दै मुख चोसो पारेर दंग्याएको कल्पना गर्थे । 

सम्भ्रान्तताका बाबजुद पनि दैव लागेर हो कि किन हो अहिलेसम्म दुवै परिवारका सपना विपना बनेका थिएनन् । मनोकांक्षा पूरा नभएकाले ज्योतिषीको सल्लाहअनुसार अप्राप्तिलाई पूर्णता दिन हिमेश र समिराका बाबुआमा तीर्थाटनका लागि काशीतिर लागे । 

समिरा र हिमेश सन्तान नामक रात्रिकालीन चलचित्र हेरेर सुनसान सडकमाथि आफ्नै विलासी मोटर गुडाउँदै घर फर्कंदै थिए । मध्यरातमा सडकको पेटीमा एउटा शिशु रोइरहेको आवाज सुनियो । भयमिश्रित लवजमा मोटर रोकी उनीहरू आवाज आइरहेको स्थानतिर लम्किए । एउटा भर्खरै जन्मिएको नवजात शिशु झाडीभित्र एक्लै रोइरहेको रहेछ । यो दृश्य देखेर दुवैजना एकछिन त अवाक् भए । 

उनीहरूको मनमा अज्ञात तरंगले प्रहार गर्न थाल्यो । ‘सायद कसैले अवैध शिशु जन्माएर लोकलाजको कारणले यहाँ छोडेर गएको हुनुपर्छ अथवा शिशुकी आमालाई कसैले अपहरण गरेको हुनुपर्छ’ । उनीहरू दुवै विवेचनात्मक मनोवादमा हराए । दुवैले असमञ्जस्यतावश मुखामुख गरे । सन्तानप्राप्तिको असफलतामा भौँतारिएका जोडीको अन्तरात्मामा असोचनीय इच्छाको ज्वारभाटा उठ्यो । समिरा शिशुलाई आफ्नो छातीमा टाँसेर भक्कानिई । आँखामा आँसु टलपल पार्दै हिमेशले पनि समिराको त्यो अप्रत्यासित कदममा मौन स्वीकृति दियो । समिरा शिशुलाई लिएर गाडीमा बसी र दुवैजना मध्यरातमा घर पुगे । 

एक महिनापछि उनीहरू आश्चर्यचकित भए । हिमेश र समिराले शिशुबारे बेलिविस्तार लगाए । काशी तीर्थाटनको फल र भगवान् शिवको प्रसाद ठानी शिशुलाई सबैले सहर्ष स्वीकारे । शिशुको नाम सीता राखियो । बालक्रीडाको स्वर्गानन्दले सबैमा नौलो आनन्दानुभूति गरायो । सम्भ्रान्त दुई परिवारको स्नेह र लालनपालनमा सीताको बालापन बित्दै गयो । 

समयको रथ तेज गतिमा अघि बढ्दै गयो । सबैको सहमतिमा वैधताका लागि सरकारी कार्यालयबाट सीतालाई गोद लिइएको प्रमाणपत्र प्राप्त गरियो । सीता पनि हलक्कै बढी र दश वर्षकी भई । ऐश्वर्यशाली राजकुमारीझैँ लाडप्यारमा हुर्किएकी र आत्मपरिचयबाट विमुख सीताको जिन्दगीको बेग नदीझैँ बेफिक्री बहँदै गयो । 

एक दिन अचानक समिरालाई वाकवाकी लाग्यो । उनलाई तत्कालै अस्पताल पु¥याइयो । डाक्टरी जाँचमा समिरा गर्भवती भएको पत्ता लाग्यो । दुवै परिवार आश्चर्यमिश्रित भावमा खुसी देखिए । समिराले बिहे गरेको सत्र वर्षपछि छोरी पाई । आफ्नै खुनको सुखद वंश विस्तारले यी दुई परिवारमा खुसीको सीमै रहेन । वैदिक विधिअनुसार धुमधामका साथ नयाँ सदस्यको नाम कुसुम राखियो । कुसुमको आगमनपछि परिवारबाट सीताप्रतिको प्यार र हेरचाह गौण बन्दै गयो । 

राजकुमारीझैँ हुर्किएकी सीतालाई बिस्तारै नोकर्नीको झैँ व्यवहार हुन थाल्यो । सधँै स्नेहले बाँधिएकी सीतालाई बाबुआमाबाट गालीगलौज र कुटपिट पनि हुन थाल्यो । राजकुमारी जसरी खेलौनामाझ दरबारजस्तो घरको शयनकक्षमा निदाउने सीतालाई भान्साकोठाको एउटा कुनामा सुताउन थालियो । सधँै आफ्नै घरको गाडीमा बोर्डिङ जाने सीता आजकल नजिकको सरकारी स्कुल पैदलै जान थाली । सीता आफ्नो जीवनमा आएको अप्रत्यासित परिवर्तनले ज्यादै दुःखी बनी । 

उसको कोमल मनमा नानाभाँतीका कल्पनाहरूले प्रहार गर्न थाले । उसको भाँचिएको मनलाई रोदन र पीडाले अझै टुक्र्याउँदै लग्यो । असहृय वेदनाको ठक्करले उसले कैयौं रातहरू अनिँदै बिताई । ‘आखिर बहिनी जन्मिएपछि बाबुआमाले मलाई किन यति साह्रो हेला गर्न थाले ? के म चाहिँ छोरी होइन र ¤’ यस्ता अनुत्तरित प्रश्नका झटाराहरूले सीताको सोचाइ अझै आकाशिन थाल्यो । 

एकदिन बेवास्ता गरिएकी सीतालाई एक्लै घरमा छोडेर हिमेश सपरिवार समिराको माइतीघरमा रात्रिभोजका लागि गयो । उसले विगतका सुनौला दिन सम्झी र भक्कानिँदै बार्दलीमा बसेर धेरैबेर रोइरही । ऊ भौँतारिँदै हिमेश र समिराको शयनकक्षमा पसी । कोठाको भित्तामा पहिला बाबुआमा र उसको फोटो टाँगिएको थियो तर अहिले त्यसलाई झिकेर बाबुआमा र कुसुमको फोटो भएको ठूलो फ्रेम टाँगिएको रहेछ ।

त्यो देखेर उसको आँखामा आँसु टलपल भरिए । दराज खुलै थियो र त्यहाँ पुस्तकहरू छरपष्ट थिए । पुस्तकहरू मिलाउँदा उसले कागज एउटा भेटी जुन उसलाई गोद लिने सरकारी प्रमाणपत्र थियो । त्यो देखेर उसको मुटुमा हजारौं तीरहरूले एकसाथ घोपेको र आकाशले थिचेको जस्तो महसुस भयो । कसैले उसलाई आफ्नोे घाँटी थिचेर सास रोकिएको जस्तो भयो र ऊ रिंगटा लागेर भुइँमा ढली । जब उसको होस खुल्यो उसलाई म को हुँ ? भन्ने आत्मपरिचय प्राप्त भयो । अन्धकारको साम्राज्य चिर्दै ऊ निरुद्देश्य बाहिर निस्की । उसलाई रिंगटा लाग्यो र सडकको छेउमा थचक्कै बसी । 

बेहोसझैँ सडक छेउको झाडीमा लम्पसार परी । सडकमा बत्ती बाल्दै गाडीहरू गुडिरहेका थिए तर कसैको नजर उसमाथि परेन । एउटा गाडी ऊनजिकै रोकियो जसमा हिमेश सपरिवार भोजबाट फर्किंदै थियो । अन्धकार रातमा एउटी केटी सडकमा लम्पसार परेको देखेर हिमेश र समिरा उसको छेउमा गए । कोही आफ्नो छेउमा आएको महसुस गरेर सीताले एकपल्टका लागि आँखा खोली र हिमेश र समिराको मुहारमा एकपल्ट हेरेर मुस्काउँदै सदाका लागि आँखा चिम्ली । 

हिमेश र समिराको मुहारमा सीताको अन्तिम मुस्कानको केही प्रत्युत्तर देखिएन । हिमेश र समिराले आजभन्दा दस वर्षअघि त्यही ठाउँबाट सीतालाई गोद लिएका थिए र आज त्यही ठाउँमा उसको अन्तिम दर्शन गरे । द्वापर युगमा सीतालाई जनकले धर्तीबाटै गोद लिएका थिए र अन्ततोगत्वा सीता धर्तीमै समाहित भएकी थिइन् । स्वार्थी मानिसहरूको भिडमा कलियुगीन सीताको दर्दनाक अन्त्य गोद लिइएको धर्तीमै भएको देखेर आकाशका ताराहरू पिलपिल रोइरहेका थिए । बतास हुरी बनी अनियन्त्रितरूपमा भक्कानिँदै थियो र सगरमा चन्द्रमा बादलको कालो घुम्टोमा छुपेर सुँक्सुकाउँदै थियो ।