कांग्रेस नेता पौडेल र भारतीयमन्त्री सिंहबीच भेट

106

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको नेता पौडेलले जानकारी दिएका छन् ।

  वरिष्ठ नेता पौडेल रक्तचापको समस्या देखिएपछि उपचारका लागि सोमबार भारतको नयाँदिल्ली गएका थिए । स्वास्थ्योपचारसँगै राजनीतिक भेटवार्ता पनि भएको र बिहीबार थप भारतीय उच्च नेतासँग भेटवार्ता हुने सम्भावना रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

यसैगरी उपचारका लागि नयाँदिल्लीमा रहेका नेता पौडेलले सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । 

यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान दिएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।