कास्कीमा नेकपाकी विद्या भट्टराई भारी मतले विजयी

80

पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का  विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छन् ।

उनले २४ हजार ३९४ मत प्राप्त गरी विजयी भइन् भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरे । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयद्वारा मतगणनाको नतिजा सार्वजनिक हुनासाथ काँग्रेसका उम्मेदवार पौडेलले नवनिर्वा्चित भट्टराईलाई पूmलको माला लगाइ बधाइ ज्ञापन गरे ।

मतगण्नास्थलमा नेकपाका कार्यकर्ता एवं शुभेच्छुकले खुशी साटासाट गर्दै नाराबाजी गरेका थिए । सोही अवसरमा नवनिर्वा्चित भट्टराईले मतदातालाई धन्यवाद दिँदै स्व रवीन्द्र अधिकारी र नेकपाप्रति मतदाताले देखाएको भरोसालाई टुट्न नदिने बचनबद्धता प्रकट गरिन् ।

उनले पोखरामा माटोको ढिस्को पुरिएर पाँच जना कामदारको मृत्युमा भएकोमा गहिरो समवेदनासमेत प्रकट गरिन् । २०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो । निर्वा्चित भट्टराई दिवङ्गत अधिकारीको धर्मपत्नी हुन् । भट्टराई विद्यार्थी कालमा राजनीतिमा सक्रिय भई अनेरास्ववियुको केन्द्रीय सचिव थिइन् । उनी  शिक्षण पेशामा आबद्ध थिइन् । रासस